फेवा साकोसको पच्चिसौ साधारणसभा : आचारसंहितामा कडाइ

आदर्श अनलाइन, पोखरा
फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीको पच्चिसौ वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । साधारणसभाले सहकारीको दिगोपना र सदस्यको सक्रियताका लागि संस्थाको सुशासन र आचारसंहितामा कडाई गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालकहरुले संस्थाको सम्पत्तीको सुरक्षण गर्ने, सदस्यहरुको बचतलाई प्रभावकारी परिचालन गर्नुका साथै संस्थागत रुपमा थप प्रभावकारी र व्यवस्थित रुपमा काम गर्ने तथा सदस्यहरुले पनि आफ्नो जिम्मेवारी पुरा गर्न ध्यान दिनु पर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

साधारणसभाले सुशासन तथा आचारसंहिता शिर्षकमा संस्थाका नीति तथा नियमको पालना गर्ने, नियमित मासिक बचत अनिवार्य गर्ने, ऋणको किस्ता नियमित गर्ने तथा संस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा नियमित सहभागी भई सल्लाह सुझाव दिन तथा संस्थाको गोपनियता कायम राख्ने विषयमा सदस्यहरुले ध्यान दिनु पर्ने प्रस्ताव पारित गरिएको छ ।

सहकारीमा सञ्चालकका कारण मात्रै समस्या आएको प्रचार भइरहेको छ, सञ्चालक मात्रै होइन, शेयर सदस्यहरुले समयमा ऋण र ब्याज भुक्तान नगर्दा, संस्थाको गोपनियता भंग गर्दा तथा नियमित बचत नगर्दा पनि समस्या हुने गरेको छ, संस्थाको नीति नियम नमान्ने, नियमित बचत नगर्ने र समयमा ऋण मिलान नगर्ने तथा गोपनियता भंग गर्ने सदस्यलाई संस्थाको अतिरिक्त सेवा सुविधाबाट वञ्चित गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेका छौ, संस्थाका अध्यक्ष सम्मर बहादुर श्रेष्ठले भन्नुभयो ।

साधारणसभाले अध्यक्ष सम्मर बहादुर श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक श्याम बहादुर गुरुङले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले पेश गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यक्रममा शेयर सदस्य र पूँजि वृद्धि, बचत निक्षेप संकलन तथा व्यवस्थापन, ऋण लगानी तथा असुली, सञ्चालक, उपसमिति, कर्मचारी र शेयर सदस्यहरुको क्षमता अभिवृद्धि, प्रविधिमैत्री सेवा विस्तार व्यवसायिक प्रवद्र्धन, सुशासन र आचारसंहित लगायतका विषय माथि छलफल गरी पारित गरिएको थियो ।

संस्थामा हाल २ हजार ६ सय ५ जना शेयर सस्य, १२ करोड ३८ लाख शेयर पूँजि, ९५ करोड २२ लाख बचत, ९६ करोड ४१ लाख ऋण लगानी, ८ करोड २ लाख जगेडा कोष सहित १ अर्ब ३३ करोड ८८ लाख रुपैयाको कुल सम्पत्ती रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

साधारणसभा उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका साधारणसभाहरुलाई सदस्यहरुको जागरण अभियानका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

साधारणसभा सदस्यहरुबीच छलफल गर्ने महत्वपूर्ण अवसर हो, सदस्यहरुको सुझाव जिज्ञासा, गुनासाहरु सुन्ने, संस्थाका सकारात्मक विषयहरुलाई थप प्रभावकारी बनाउन तथा कमी कमजोरीहरुलाई सुधार गर्नका लागि साधारणसभा सञ्चालन प्रक्रियामा सुधार गर्नु पर्नेमा उहाँको जोड थियो ।

सक्रिय सदस्य, सदस्यप्रति जवाफदेही सञ्चालक र दक्ष जनशक्ति भएका सहकारीहरुले सदस्यको सेवामा थप प्रगति गर्दै गएको भन्दै जिसीले सहकारीका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरु सबै एउटै हुन्, सबै बद्मास हुन् भन्ने आरोपलाई चिर्दै अगाडि बढ्नका लागि पनि साधारणसभालाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीका सचिव मिन प्रसाद तिमिल्सिना, याङ्जाकोट तमु समाजका अध्यक्ष जेम प्रसाद गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका उपाध्यक्ष डम्मर बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष सम्मर बहादुर श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष शेरकाजी गुरुङको स्वागत र प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहकारीका सिद्धान्त वाचन सञ्चालक सदस्य किरन वैद्य बिजुक्छेले गर्नु भएको थियो ।

साधारणसभा संस्थाका शेयर सदस्य तथा कर्मचारीहरुले गित, कविता तथा नृत्य प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *