नजिकिँदो दसैं, सडक र सास्ती

सम्पादकीय
असोज महिनाको सुरुवातसँगै नेपालीहरुको महान पर्वको आगमनको उत्साह सुरु हुन्छ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र महिनामा सकिए पछि असोजमा पर्ने दसैं, कात्तिक महिनामा मनाइने तिहार अर्थात् दीपावली क्रमशः आउँछ । नेपाली हिन्दुहरुका लागि बडा दसैं एक महान उत्सव नै हो । यसले वर्षौदेखि भौगोलिक दुरीमा बाँचिरहेका घर परिवारका सदस्य, आफन्त, चेलीबेटी सबैजसोसँग भेटघाट सम्बन्ध नविकरण हुन्छ । देशदेखि परदेशबाट समेत मानिसहरु दसैंको भाका राखेर घर आउँछन् । यस पर्वको सामाजिक, साँस्कृतिक लगायत बहुआयामिक अर्थ र महत्व छ । यस पर्वको दसैं अबको १६ दिनमा त सुरुवात हुँदैछ । तर, बडादसैं सन्निकट हुँदा समेत नेपालका सडक पूर्वाधारको अवस्था भने उही पुरानै कन्तबिजोगको अवस्थामा देखिरहेका छन् ।

दसैं आउँदै गर्दा मौसम घमाइलो हुन्छ । नेपाली मनहरुमा रमाइलो हुन्छ । दुर्भाग्य भन्नुपर्छ, नेपालीहरु अधिक संख्यामा यात्रा गर्ने सडकको दुर्दशा भने अझै सम्म पनि फेरिएको छैन । मुख्य चाडपर्व अगाडि मात्र कर्मकाण्डी हिसाबले सडक मर्मत र खाल्डाखुल्डी पुर्ने काम मात्र हुन्छ । घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक १ लाखभन्दा बढी यात्रुले उपत्यका छाड्ने गरेको पाइन्छ । पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा रहेका मानिस दसैं–तिहारजस्ता चाडबाड मान्न भने थातथलोमै फर्किने गर्छन् । यो बेला सरकारले रुट परमिट समेत खुला गर्ने गर्छ । निजी, रिजर्भ र सार्वजनिक सवारीसाधनका कारण सडकमा सामान्य अवस्थाभन्दा बढी चाप हुन्छ । यस्तो बेला सडकमा हुने स–साना घटनाले समेत लामो जाम पर्ने र यात्रा कष्टकर हुने गरेको छ । १७ असोजमा परेको घटस्थापना अगाडि अब १५ दिनमात्र कार्य दिन छ । यति छोटो समयमा देशभरि भत्किएका सडकमा कसरी सुरक्षित र व्यवस्थित यातायात सञ्चालन सम्भव छ ? निकै सोचनीय विषय बनेको छ । फितलो यातायात व्यवस्थापन, असुरक्षित सडक र अधिक यात्रु चापबीच यसपालि दशैंमा यात्रा गर्नुपर्ने बाध्यता हुन सक्ने देखिएको छ । अधिकांश निर्माणाधीन सडकहरु अलपत्र अवस्थामा छन् । निर्माण हुँदै गरेका पनि हिलाम्य र सकसपूर्ण अवस्थामा छन् । सरकार र व्यवसायीबीच अहिलेसम्म अग्रिम टिकट बुकिङ सहितका एजेन्डामा औपचारिक छलफल भइसकेको छैन ।

यस वर्ष वैशाखयता देशभरि ६ सय १८ भन्दा बढी स्थानका सडकमा समस्या आएको सडक विभागको तथ्यांक छ । यसमध्ये मुख्य राजमार्गमा तत्काल यातायात सुचारु गर्ने काम भए पनि सवारीसाधनको कम चाप भएका धेरै स्थानमा भने अझै पनि पूरै मर्मत हुन सकेको छैन । भौतिक मन्त्रालयका अनुसार एक वर्षमा सडक मर्मत सम्भारमा मात्र ३ अर्ब रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । अहिले पनि देशभरि ३ सय २९ स्थानमा सडक एकतर्फी चल्ने गरेको विभागको अध्यावधिक विवरणमा उल्लेख छ । काठमाडौं उपत्यकाबाट बाहिरिने सबैजसो नाका सुस्त मर्मत र स्तरोन्नतिको मारमा छन् । सोहीकारण मुख्य नाकामै चर्को जाममा सवारीसाधन फस्ने गरेका छन् । अर्कातर्फ, मनसुन प्रभाव कायमै रहेकाले सडकमा बाढी र पहिरोको जोखिम हटिसकेको छैन । काठमाडौं–मुग्लिन, मुग्लिन–पोखरा, नारायणगढ–बुटवल लगायतका कैयन सडकको सास्ती उदेक लाग्दो छ । बडा दसैं आउँदै गर्दा बढ्दो दुर्घटनालाई ध्यानमा राखेर सडक मर्मत, सरसफाईको विषयले स्थानीय तहदेखि केन्द्र सम्म केही स्थान त पाउँछ तर ठोस र दीर्घकालीन रुपमा काम सम्पन्न गर्नेमा सरकारको भूमिका गौण देखिन्छ । अब निकट दसैंमा तीन तहको सरकारले तत्कालका लागि अवरुद्ध सडक खुलाउने, खुलेका तर सकस लाग्दा सडक मर्मत र दीर्घकालीन सोच र योजनाका साथ समेत काम अघि बढाउन अपरिहार्य छ । यस वर्षको दसैंमा सडक यात्रा, सकस र सास्तीप्रद नहोस् भन्नेमा तत्काल ध्यान जान आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *