स्वास्थ्यमा बडिगाडको फड्को : गाउँ–गाउँमै पुगेर नागरिकलाई स्वास्थ्य सेवा

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बडिगाड गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गएको छ । स्थानीय तह स्थापना हुनु पूर्व सीमित स्वास्थ्य संस्था रहेको बडिगाडमा अहिले डेढ दर्जन बढी स्थापना गरि संचालनमा छन् । भौगोलिक हिसाबले छरिएको गाउँपालिमा एकदेखि अर्को ठाउँसम्म पुग्न घण्टौँ लाग्ने हुँदा टाढाका नागरिकलाई लक्षित गरि विभिन्न ठाउँमा स्वास्थ्य संस्था स्थापना गरि सेवा दिन थालेको हो । बडिगाड स्वास्थ्य क्षेत्रमा जिल्लामै उत्कृष्ट पालिकासमेत बनेको छ ।

स्थानीय तह स्थापना हुनु पूर्व सात वटा मात्रै स्वास्थ्य चौकी रहेको यस पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था संचालनमा छन् भने १८ शैयाको आधारभूत अस्पताल संचालनको तयारीमा छ । गाउँपालिकाले स्वास्थ्य चौकीसहित गाउँ–गाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सेवा दिन थालेको हो ।

बडिगाडमा हाल एक पालिका स्तरीय आधारभूत अस्पताल, सात वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र पाँच वटा सामुदायिक स्वास्थ्य इकाई छन् । गाउँपालिकाले १० वटै वडाको विभिन्न स्थानमा स्वास्थ्य संस्था स्थापना गरि संचालन गरेपछि नागरिकलाई उपचारमा सहज भएको छ । गाउँपालिकाको वडा नम्बर ८ र १० बाहेक धेरै ठाउँमा आधा घण्टाकै दूरीमा स्वास्थ्य संस्था संचालनमा छन् । स्वास्थ्य संस्था टाढा भएका ठाउँमा गाउँपालिकाले ‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’मा नागरिकलाई सेवा दिइ रहेको छ ।

‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’मार्फत सबै वर्गका नागरिकले सहज रुपमा स्वास्थ्य परीक्षण र उपचार गर्न पाएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । पालिका ठूलो भू–गोलमा फैलिएको हुँदा केही ठाउँमा स्वास्थ्य संस्था स्थापना गर्न नसकेको हुँदा विभिन्न कार्यक्रममार्फत दूर दराजका नागरिकलाई सहज रुपमा सेवा दिइरहेको उहाँको भनाइ छ ।

१० वटा वडामा स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका समुदायलाई डाक्टरसहितको टोलीले समय–समयमा टोलमै गएर नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने, उपचार गर्ने र जटिल प्रकारको रोग लागेको भए ठूलो अस्पातलमा जान सुझाउने र आवश्यक सहयो गर्ने गरेको उहाँले बताउनुभयो ।

“हामीहरुले नागरिकको स्वस्थ राख्नु पर्छ भन्ने हिसाबले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरि रहेका छौँ, अहिले जिल्लामै सबैभन्दा उत्कृष्ट पनि बन्यौँ, अहिले बालबालिका, गर्भवती महिला र जेष्ठ नागरिकको टोलमै पुगेर उपचार गर्ने गरेका छौँ, गाउँमै पुगेर गर्भवतीको भिडियो एक्सेरे गर्नेदेखि पाँच वर्ष मुनिका बच्चाहरुको पोषण मापन गर्ने गरेका छौँ” अध्यक्ष अधिकारीले भन्नुभयो – “‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’मार्फत धेरैलाई स्वास्थ्य सेवा दिइरहेका छौँ, गरिब तथा विपन्न परिवारका सदस्य बिरामी परेर ठूलो अस्पतालमा जानु परे आर्थिक सहायता पनि गर्दै आएका छौँ ।

अध्यक्ष अधिकारीले हालै १५ शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको र केही समयमै संचालनमा ल्याउने तयारी गरेको जानकारी दिनुभयो । आधारभूत अस्पताल संचालनसँगै डायलासिस सेवा पनि सुरु गर्ने योजनामा रहेको उहाँको भनाइ छ । गाउँपालिकाले समय–समयमा विकट बस्तीमा पुगेर निःशुल्क स्वास्थ्य शिविरसमेत गर्दै आएको छ । जसबाट दूर दराजका नागरिक बढी लाभाम्वित भएका छन् ।

स्थानीय बमकुमारी विकले गाउँपालिकाले गाउँमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा ल्याएर सेवा दिन थालेपछि घण्टौँ लगाएर स्वास्थ्य चौकीमा पुग्नु पर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । केही समय अगाडि वडा नम्बर ४ को खाराखोलामा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको थियो । त्यसभन्दा पहिले सामान्य चोट पटक लागेर उपचार गर्न दुई घण्टा लगाएर खाराखोलाका स्थानीय जलजाल स्वास्थ्य चौकी झुलेडाँडा जाने गरेको उहाँले बताउनुभयो ।

बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हेम पुनले विभिन्न गाउँमा शिविर संचालन गर्दा धेरै नागरिकमा क्षयरोग संक्रमण पुष्टि भएको र उनीहरुको उपचार गरि पूर्ण रुपमा निको बनाएको बताउनुभयो । पालिकाले ११३ जना बिरामी पत्ता लगाई उपचार गरेर पूर्ण रुपमा निको बनाएको उहाँको भनाइ छ । शिविरसहित गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लगायतका कामहरु गर्दै आएको पुनले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *