बढ्दो डेंगु संक्रमण र सचेतता

सम्पादकीय
यतिबेला मौसम परिवर्तनको समय छ । बर्खे झरी क्रमशः कम हुँदैछ भने गर्मी बढ्दो क्रममा छ । अब नेपालीका महान पर्व बडादशैं, तिहार, छठ लगायतका चाडपर्व आउने क्रममा छ । यससँगै दिनहरु क्रमशः घमाइलो बन्न थालेको छ । प्रकृति, मौसमले आफ्नो नियमित वार्षिकीको लय समाउँदै गर्दा आम मानिसको स्वास्थ्यमा भने बिभिन्न खालको संक्रमण र समस्या हरेक वर्ष देखिन्छ । यसपटक मौसममा बदलाव आउनै लाग्दा देशव्यापी रुपमा डेंगु संक्रमणको समस्या व्याप्त देखिएको छ । गण्डकी प्रदेशको राजधानी पोखराका साथै बागलुङ जिल्लामा पनि डेंगुबाट धेरै नागरिक ग्रस्त बनेका छन् । यद्यपि, डेंगु संक्रमण बढ्दै गए पनि सरकारी निकाय र नागरिक स्वयंम्मा सचेतता र पहलकदमी भने गौण देखिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको तथ्यांक छ । पोखरा महानगरको स्वास्थ्य महाशाखाका अनुसार भदौ पहिलो साता डेंगु सङ्क्रमितको संख्या सात सयको आसपास रहेकामा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । सङ्क्रमितको संख्या ३१ सयबढी पुग्न नदिने महानगरको रणनीति बिफल भएको छ । पछिल्लो एक महिनामा डेंगु सङ्क्रमण ह्वात्तै बढेको र यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्ने खतरा छ । बागलुङ र आसपासका जिल्लामा पनि एकीन तथ्यांक तयार नभए पनि चौतर्फी डेंगुबाट संक्रमित हुने र स्वास्थ्य चौकी, अस्पतालमा उपचारका लागि पुग्नेहरुको चाप छ । चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको छ । लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने, सोही लामखुट्टेले टोक्दा डेंगु हुने जोखिम हुन्छ । डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिन्छ । यस्तो लक्षण देखिन साथ चेकजाँच उपचार गराउन अपरिहार्य छ ।

बढ्दो डेंगु संक्रमणले यो समाजमा अझ फैलिने खतरा छ । डेंगुबाट मानिस संक्रमण भएर कमजोर हुने मात्र होइन, ज्यान समेत जाने जोखिम हुन्छ । पपोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगु कारण मृत्यु भएको तथ्यांक छ । यसले प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगु रोकथाम चुनौतीपूर्ण भएको देखाएको छ । जनघनत्व बढी भएका ठाउँमा डेंगु छिटो फैलिने गर्छ । मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र हुने र चाडपर्व नजिकिँदो भएकाले सार्वजनिक यात्राहरुमा भिडभाड बढी हुने भएकाले अझ विशेष सचेतता अपनाउन आवश्यक छ । सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीको साथ आवश्यक छ । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगु रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो । अतः समयमै जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगुले महामारीको रुप लिनसक्ने तर्फ सरकार, सरोकारवाला निकाय सबै सचेत र जिम्मेवार हुनुपर्दछ । सरकार नागरिक कसैले पनि डेंगुलाई सामान्य रुपले सोच्ने र अप्रिय घटना बेहोर्नु पर्ने गल्ती गर्नु हुँदैन । सके सम्म डेंगु नहुने र डेंगु भइ हालेमा आराम गर्ने, पानी लगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन नगरौ । वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र बालबालिकाका बारेमा अझ बढी सचेत र संवेदनशील बनौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *