दलित गाउँको पहिलो शिक्षक

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्ला सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । टमक्क मिलेको शुन्दर गाउँ भत्रिका अनेक पीडिाहरु भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पुहँच छैन । दुई सय परिवारले दुई वटा धाराको खानेपानी प्रयोग गर्दै आएका छन् ।

बागलुङ नगरपालिका–८ सिगाना स्थित लामिचौरको दलित बस्तीमा २०० घर परिबार बस्दै आएका छन् । शैक्षिक क्षेत्रमा पछि परेको गाउँबाट पहिलो शिक्षक भएका छन् २२ वर्षका विशाल परियार ।
यहाँको शैक्षिक गुणस्तर बढाउदै पढाईप्रति जागरुक बनाउनका लागि आफूले शिक्षक पेशा रोजेको परियारको भनाई छ ।

परियारले २०७८ मा खुलेको शिक्षक सेवामा प्रावि र निमाविमा एकैपटक लिखित परिक्षा पास गर्नुभएको थियो । अन्तरवार्तमार्फत प्राविमा नाम निकाल्क सफल परियार अहिले गाउँमै रहेको सिगाना माध्यामिक विद्यालय लामिचौरमा अध्यापन गराइराख्नुभएको छ ।

उहाँले आफ्नो सपनानै शिक्षक बन्ने रहेको सुनाउनुभयो । “घर नजिकै माध्यामिक विद्यालय छ, त्यहाँ अधिकांश दलित समुदायकै विद्यार्थी छन् तर बिचमै पढाई छोड्ने र रोजगारीका लागि विदेश जाने परम्परा व्याप्त छ, लोकसेवा आयोग, शिक्षक सेवा आयोगमा परिक्षा दिने चलनै छैन” परियारले भन्नुभयो “यहाँको पढाई छोड्ने परम्परा तोड्न र आफूले गाउँमै बसेर सेवा गर्न इच्छा आयो, त्यसैले शिक्षक सेवाको परिक्षा दिए, पहिलो वर्षमै नाम निस्क्यो, अहिले आफ्नै गाउँका विद्यार्थी पढाउन पाउदा खुसी छु ।”

पहिलोपटक दिइएको शिक्षक सेवा आयोगको परिक्षामा लिखित तर्फ प्रावि र निमावि दुबैमा नाम निकाल्न सफल भएको बताउदै परियारले अन्तरवार्तामा गएर प्राविमा सफल भएको जानकारी दिनुभयो । मैले यही सिगाना माध्यामिक विद्यालय लामिचौरमै पढेर शिक्षक भएर आएभने अन्य भाई बहिनीहरुले समेत सक्नुहुन्छ भन्ने हेतुले हौषला दिइराखेको परियारको भनाई छ ।

उहाँले अधिकांश दलित विद्यार्थीलाई पढाउन शिक्षकहरु बाहिरबाट आउने गरेको बताउदै यहाँबाट शिक्षक उत्पादन नहुँनु दुखद् रहेको बताउनुभयो । अंग्रेजी विषयमा स्नातक अध्ययन गरिसक्नुभएको परियारले आफु गाउँकै पहिलो मास्टर भएको बताउनुभयो । गाउँबाट पहिलो शिक्षक भएपछि समाजले हेर्ने दृष्टिकोण समेत परिवर्तन भइसकेको बताउदै परियारले गाउँलाई शैक्षिक क्षेत्रमा उकास्न आफूले शिक्षक पेशा रोजेको सुनाउनुभयो ।

“आयोग पास गर्ने, नेपालकै जागिर खाने चलन दलित बस्तीमा थिएन, भर्ती हुने नसके विदेश जाने चलनलाई चिर्न आवश्यक छ, कम्तिमा उच्च शिक्षा हासिल गर्दा गाउँकै विकासमा सहयोग पुग्छ भन्ने लाग्छ” उहाँले भन्नुभयो “२०० घर परिवार भएको दलित गाउँबाट पहिलो शिक्षकका रुपमा आफ्नै गाउँमा सेवा गर्ने मौका पाएको छु, आगमी दिनमा भाइबहिनीहरुलाई समेत उर्जा र प्रेरणा मिल्ने छ ।”

सिगानाभरमा धेरै शिक्षक उत्पादन भएपनि दलित बस्तीबाट बिशाल परियार पहिलोपटक शिक्षकका रुपमा विद्यालयमा अध्यापनरत रहेको सिगाना माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द प्रसाद गौतमले जानकारी दिनुभयो । गौतमले पढाइमा अब्बल परियारले अन्य क्षेत्र समेत रोज्न सक्ने भन्दै शिक्षक बनेर गाउँकै विद्यालयमा पढाउने उदेश्य राख्नुले समग्र गाउँकै प्रेरणा बनेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *