दुना टपरीले फेरियो महिलाको दैनिकी

डम्मर बुढा मगर, बागलुङ
टुना टपरी उद्योगले बागलुङका महिलाको दैनिकी फेरिएको छ । गत वर्षसम्म फुर्सदीलाई महिलाहरु अहिले दैनिक दुना टपरी उद्योगमा भेटिन्छन् । ग्रामीण क्षेत्रबाट बजार आएर बसेका महिलाहरुको समूहले वि.सं. २०८० फागुनदेखि उद्योग संचालनमा ल्याएका थिए । उद्योग संचालनमा नआउँदा मोबाइल चलाएर दिन बिताउने उनीहरु अहिले दुना टपरी बुन्न र धुप बत्ती बनाउनमा ब्यस्त देखिन्छन् । उद्यमशील महिला मगर संघ बागलुङले संचालन गरेको दुना टपरी उद्योगबाट उत्पादन भएका सामग्रीको व्यापार फस्टाउन थालेपछि उनीहरु उत्साहित भएका छन् ।

२८ जनाको सक्रियतामा संचालनमा आएको टपरी उद्योगमा १८ वर्षका युवतीदेखि ८० वर्षसम्मका वृद्ध महिलाहरु आवद्ध छन् । पहिले फर्सदिलो हुँदा दिनभर मोबाइल चलाउने र समय व्यतित गर्न घुमफिर गर्ने महिलाहरु अहिले दैनिक विभिन्न वनस्पतीका पातबाट टपरी बनाउनमा तल्लिन छन् । अहिले उनीहरुले समय बितेको पत्तै पाउँदैनन् । विहान बेलुका घरको काम गर्ने महिलाहरु दिनभर पात बटुल्ने, टपरी बुन्ने र धुप बत्ती बनाउने गर्दछन् । पाँच वर्ष अगाडि व्यवसाय दर्ता गरेर बङ्गुर पालनमा लागेका महिलाहरु विभिन्न रोगका सबै बङ्गुर मरेपछि कारण ठूलो क्षति ब्यहोर्नु परेको थियो । एकै पटक लाखौँको बङ्गुर मरेपछि उनीहरु त्यो पेसाबाट विस्थापित हुनु परेको थियो ।

उनीहरुले पालेको छ सय बङ्गुर २०७९ सालमा अफ्रिकन स्वाइन फिवर महामारीका कारण मरेका थिए । त्यस बेला सोह्र लाख घाटा ब्यहोर्नु परेको थियो । लगानीसमेत उठान नपाउँदै व्यवसाय धरापमा परेपछि उनीहरुले अर्को विकल्पका रुपमा दुना टपरी उद्योग संचालनमा ल्याएका हुन् । महिला समूहले सुरुमा तीन लाखको लागतमा दुना टपरी बनाउने मेसिनसमेत ल्याएर उद्योग संचालन गरेका थिए । उद्योग संचालनमा आएपछि दुना टपरी बुन्ने महिलाहरुको दैनिकी बनेको उद्यमशील महिला मगर संघकी अध्यक्ष बलकुमारी पुनले बताउनुभयो । छ वर्ष अगाडिनै आफूहरु एकताबद्ध भएर सिर्जनात्मक काम गर्न थालेको सुनाउनुभयो ।

आफूहरुले उत्पादन गरेको दुना टपरीको माग निकै बढेको भन्दै माग अनुसार पु¥याउन गाह्रो भएको उहाँको भनाइ छ । दुना टपरी धार्मिक स्थल, पूजाआज गर्ने ठाउँ, विवाह, बूतबन्ध र सार्वजनिक कार्यक्रम गर्ने स्थानबाट बढी माग आउने गरेको अध्यक्ष पुन बताउनुहुन्छ । दुना टपरी बुन्ने महिलाले मासिक ३० हजारसम्म आम्दानी गर्न सक्ने भन्दै स्थानीय सरकारले आयातित प्लास्टिकका सामग्रीलाई प्रतिबन्ध लगाउन सके धेरै कमाई गर्ने सक्ने उहाँले बताउनुभयो ।

पुनले भन्नुभयो – “महिलाहरु एकजुट भएर हामीहरुले उद्योग संचालन गरेका हौँ, एक वर्ष पनि पूरा नहुँदै यसले व्यापकता पाएको छ, माग अनुसार उत्पादन पु¥याउन सकेका छैनौँ, पहिले बेरोजगार दिदीबहिनीहरुले रोजगार पाएका छौँ, हामीहरुलाई अहिले सरकारको सहयोगको आवश्यक परेको छ, हामीले उत्पादन गर्ने टपरीभन्दा बाहिरबाट आएको प्लास्टिकको टपरी सस्तो पर्छ, त्यसले गर्दा यहाँ उत्पादन भएको टपरीले प्रतिस्पर्धा गर्न सक्दैन, त्यसले गर्दा आयाति सामग्रीलाई रोक्न सके अझै धेरै दिदीबहिनीहरुले रोजगार पाउनुहुने थियो ।”

उद्यमशील महिला मगर संघकी सदस्य बिन्दु पुन मगरले पहिला बजारमा दिन बिताउन गाह्रो हुने गरेको भन्दै अहिले समय तालिका अनुसार काम गर्दा पाउँदा दिन बितेको पत्तो नहुने बताउनुभयो । दुना टपरी उद्योगमा काम गर्न थालेपछि अहिले दैनिकीनै बदलिएको उहाँको भनाइ छ । दुना टपरी बुन्दा आम्दानीसमेत हुन थालेपछि आत्मनिभरसमेत सहज भएको पुन बताउनुहुन्छ । बर्खाको समयमा पातको समस्या हुने भन्दै हिउँदमा बढी उत्पादन गर्न सकिने पुनले सुनाउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *