आवधिक योजना बनाएर काम गर्ने स्वास्थ्यमन्त्री पाठककाे भनाइ

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना भएपछि आवधिक योजना बनाएर काम अघि बढाउने सुनाएका छन् । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा गरेका कामको समीक्षा गोष्ठीको समापनमा बोल्दै बिहीबार मन्त्री पाठकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने बताए ।

उनले आवधिक योजना बनाउँदा प्रदेशको बजेट हेरेर तयार गर्ने र ठूलो सपना नदेख्ने बताए । ‘म मन्त्री भएको २३ दिन भयो । अबको एक हप्ताभित्र कार्ययोजना तयार हुन्छ,’ मन्त्री पाठकले भने, ‘ठूलो सपना नदेखी जे प्रदेश सरकारसँग बजेट छ, जहाँ बजेट विनियोजन भएको छ त्यसलाई पूर्णत खर्च गर्ने गरेर, सदुपयोग गर्ने गरेर अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका साथ काम गर्ने सोचाइ बनाएको छु ।’

स्वास्थ्य मन्त्रालयले छुट्टै अस्तित्व पाएकाले आत्मबल, इच्छाशक्तिसहित काममा लाग्न उनले स्वास्थ्यकर्मीलाई आग्रह गरे । अस्पताल, स्वास्थ्य कार्यालय, प्राकृतिक चिकित्सालय, आयुर्वेदसहित स्वास्थ्य क्षेत्रमा समस्याको फेहरिस्त लामो रहेकाले त्यसलाई सम्बोधन गर्न सामूहिक सहकार्य आवश्यक रहेको मन्त्री पाठकले बताए । जनतासँग जोडिएर काम गर्ने स्वास्थ्यकर्मीको मनोबलमा गिरावट आउने कुनै काम नगर्ने मन्त्री पाठकले प्रतिबद्धता जनाए । ‘स्वास्थ्य स्वयंसेविका जसले जनताको स्वास्थ्यको पहिलो सूचना लिएर स्वास्थ्य केन्द्रमा जान अभिप्रेरित गर्छ त्यस तहलाई हामीले विशेष ध्यान दिनुपर्ने छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

आयुर्वेद चिकित्सा, आयुर्वेद उपचार पद्धतिलाई पनि प्राथमिकताका साथ अघि बढाउने मन्त्री पाठकको भनाइ थियो । भौतिक सेवासुविधा पाउन नसके त्यसले परिणाम पनि दिन नसक्ने मन्त्री पाठकले बताए । ‘हाम्रा कति कार्यालयमा पुराना गाडी चढ्नुभएको छ । थोत्रा मोटरसाइकल चढ्नुभएको छ । आयुर्वेद संस्था हेरेँ । त्यहाँ एउटा पनि गाडी छैन । २०–३० वर्ष पुरानो भएपनि हुनुपर्ने त्यो छैन,’ उनले थपे, ‘एक–दुई ठाउँमा अत्यन्तै थोत्रा मोटरसाइकल छन् । आज मर्मत गरेर चलायो भोलि फेरि मर्मत गर्नुपर्ने खालको साधनको अवस्था छ । जनताको घर पुग्न, औषधि ठाउँमा पु¥याउन, जनशक्ति ठाउँमा पु¥याउन गाडीको व्यवस्था हुन आवश्यक छ ।’

मन्त्री पाठकले स्वास्थ्यकर्मी आफ्ना सिपाही भएको र उनीहरूको सक्रियता नभई लडाइँ स्वास्थ्य क्षेत्रका समस्यालाई नजितिने जिकिर गरे । जनतासँग जोडिने भएकाले स्वास्थ्य कार्यालयको नाम फेरेर जनस्वास्थ्य कार्यालय राख्ने योजना रहेको उनले सुनाए ।

तीन दिनसम्म चलेको गोष्ठीमा मन्त्रालयअन्तर्गतका कार्यालय, अस्पताल, आयुर्वेद केन्द्रलगायतका प्रगति, आगामी कार्यदिशा, समस्याबारे छलफल, स्वास्थ्य सेवासँग सम्बन्धित विषयमा प्यानल बहस, विभिन्न रोगको अवस्था र नियन्त्रणका उपायलगायत विषयमा छलफल भएको थियो । गोष्ठीको अन्तिम दिन बिहीबार गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय, आयुर्वेद केन्द्र, पालिका, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *