म्याग्दीमा बैशाख यता डेंगुका संक्रमित १३१

आदर्श अनलाइन, म्याग्दी
हिमाली जिल्ला म्याग्दीमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । गएको बैशाख महिना भन्दा यता डेंगुका संक्रमितको संख्या असोज ८ गते सम्म एक सय ३१ जना पुगेको छ । त्यस्तै साउन यता भने एक सय तीन जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को साउन १ देखि चैत मसान्त सम्म २८ महिला र ३९ पुरुष गरी ६७ जनामा संक्रमण देखिएको थियो ।

असोज अगाडी सामान्य देखिएको भएपनि असोज महिनामा संक्रमणको ग्राफ ह्वात्तै बढेको हो । विगतका वर्षहरुमा सामान्यतया बजार क्षेत्रमा संक्रमित बढी देखिने गरेको भएपनि यस वर्ष भने जिल्लाका ६ वटै स्थानीय तहका दुर्गम बस्तीसम्म पनि डेंगुको संक्रमण देखिएको छ । अघिल्लो वर्ष कुल एक सय सात जनामा डेंगु सङ्क्रमण भेटिएको थियो । यस वर्ष भने साउन, भदौ र असोज महिनाको पहिलो सातासम्मै पनि एक सय तीन जना संक्रमति भेटिएको बेनी अस्पतालका मेडिकल रेर्कडर अनिल सापकोटाले बताउनुभयो ।

मेडिकल रेकर्डर सापकोटाका अनुसार उपचार गराउन आएका बिरामीमध्ये साउनमा १४ जना, भदौमा ५६ जना र असोजमा ३३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । भदौ र असोज महिनामा डेंगुसँगै स्क्रब टाइफसको सङ्क्रमण समेत बढेको बेनी अस्पतालले जनाएको छ । नियमित चेकजाच सहित अन्य विभिन्न रोगका बिरामीको समेत चाप बढेपछि बिरामीहरूलाई राख्नका लागि बेडको समेत अभाव अस्पतालले झेल्न परेको छ ।

५० शैया क्षमताको बेनी अस्पतालमा हाल ७७ बेड सञ्चालन गरिएको छ । पछिल्लो समय उपचारका लागि आउने बिरामी मध्ये भाइरल ज्वरोका बिरामी धेरै हुँदा व्यवस्थापन गर्न समस्या हुने गरेको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ । जटिल समस्या देखिएका बिरामीलाई भर्ना गरी अन्यलाई नियमित फलोअफमा आउने गरी पठाउने गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अञ्जु थापाले बताउनुभयो ।

डा. थापाले भन्नुभयो–‘गर्मी सिजनसँगै डेंगु तीव्र गतिमा बढेको देखिएको छ, अहिले भेटिएका बिरामीको संख्या राम्रो संकेत होइन ।’ उहाँका अनुसार भदौदेखि मंसिर महिनासम्म डेंगुको बिरामीहरु भेटिने सिजन जस्तै पनि हो तर अहिलेको अवस्था भने असामान्य छ त्यसैले सचेत रहनु पर्छ । डेंगु र स्क्रब टाइफसको लक्षण मिल्दोजुल्दो हुने भएकाले पनि केही अन्यौल हुन्छ नै तर पनि परीक्षण गरेर पहिचान गरी उपचार भै रहेको छ । म्याग्दीको हिमाली क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणको समस्या देखिएपछि तीन बर्ष अगाडी बिरामीको नमूना सङ्कलन तथा खोजमा सहभागी विज्ञको टोलीले म्याग्दी जोखिमपूर्ण क्षेत्रको सूचीमा राखेको थियो ।

डेंगु रोग फैलाउने लामखुट्टेले दिनको समयमा मात्रै टोक्ने र लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *