फोहोरलाई घरबाटै वर्गीकरण गर्न ‘क्लिन बागलुङ’ अभियान

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले फोहोरलाई घरबाटै वर्गीकरण गरेर संकलन गर्ने भएको छ । बागलुङ बजारमा उत्पादन भएको फोहोरलाई नगरपालिकाले डेढ दशकपछि प्रशोधन र पुनःप्रयोग गर्न मिल्नेगरी व्यवस्थापन गर्न थालेको छ ।

बागलुङ बजारको फोहोर हाल सम्म संकलन गरेर थुपार्ने मात्रै काम भएको थियो । बागलुङ बजारको प्रमुख समस्याको रुपमा रहेको फोहोरलाई घरबाटै वर्गीकरण गर्ने, फोहोरलाई प्रशोधन गर्ने र जिरो वेस्ट प्रविधिबाट फोहोरलाई व्यवस्थापन गर्न बागलुङ नगरपालिकाले आइतबारदेखि ‘क्लिन बागलुङ’ अभियान शुभारम्भ गरेको छ ।

अभियानको शुभारम्भ बागलुङ बजारको ऐश्वर्य पार्कमा एभरेष्ट बैंकको सहकार्यमा निर्माण गरेको शार्वजनिक शौचालय उद्घाटन र फोहोर संकलन गर्ने बाल्टी वितरण गरेर थालिएको छ । नगरपालिकाले रु. एक करोड लागतको योजनामा ‘क्लिन बागलुङ’ अभियान थालेको हो । जसमध्ये बागलुङ नगरपालिका–१ मालढुङ्गामा फोहोर संकलन गर्ने र प्रशोधन गर्ने तीन वटा छुट्टा छुट्टै फोहोर संकलन गर्ने घर निर्माण गरिएको छ ।

डेढ दशकदेखि बागलुङ नगरपालिका–१ मालढुङ्गामा थुप्रिएको फोहोरलाई स्थानान्तरण गरेर फोहोरलाई वर्गीकरण र प्रशोधनका लागि ल्याण्डफिल्ड साईड खाली गरेर पूर्वाधार बनाइएको र घरबाटै वर्गीकरण गरेर आएको फोहोरलाई उक्त स्थानमा प्रशोधन, तथा व्यवस्थापन गरिने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाले घरबाटै फोहोरको वर्गीकरण गर्ने र ल्याण्ड फिल्ड साइडमा फोहोर प्रशोधन गर्ने तयारीका लागि पुर्वधार निर्माण, फोहोर संकलन गर्ने बाल्टी र फोहोर उठाउने सवारीसाधनको व्यवस्थापन मिलाइएको छ । अबै दैनिक फरक–फरक फोहोर संकलनका लागि नगरपालिकाको फोहोर संकलन गाडी घर–घरमा पुग्नेछ ।

“नगरपालिकाले एक करोड खर्चेर फोहोरलाई दीर्घकालिन रुपमानै समस्या समाधान गर्न थालेको छ, जस्का लागि नागरिकले फोहोरको वर्गीकरण गर्न आवश्यक छ, हामीले ‘क्लिन बागलुङ’ अभियान अन्र्तगत १० दिन सम्म बजार क्षेत्रमा १५ हजार फोहोरका बाल्टी बितरण गर्नेछौं” नगर प्रमुख श्रेष्ठले भन्नुभयो “कुहिने, नकुहिने र पुन प्रयोग गर्न मिल्ने फोहोरलाई संकलन गर्न छुट्टा छुट्टै सवारीसाधन घर दैलोमा आउने छ, नगरवासीले उक्त फोहोरलाई वर्गीकरणको आधारमा सवारीसाधनमा राख्नुपर्नेछ ।”

नगरपालिकाले तीन थरी रङ्गका बाल्टी बितरण गर्न थालेको छ भने सोही रङ्गकै सवारीसाधन तयारी अवस्थामा राखिएको छ । बागलुङ नगरपालिकाले तीन तहका फोहोर संकलन गरेर ‘जिरो वेस्ट’ अर्थात सबै फोहोरको उचित सदुपयोग गर्ने अभियान थालेको छ ।

डेढ दशकदेखि नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहोर संकलन मात्रै गर्दै आएको थियो । कुहिने, नकुहिने र पुन प्रयोग गर्नमिल्ने फोहोरको छुट्टा छुट्टै व्यवस्थापन गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । रातो बाल्टीमा नकुहीने, निलो बाल्टीमा पुन प्रयोग गर्न मिल्ने र हरियोमा कुहिने फोहोर संकलनका लागि नगरबासीलाई बाल्टी वितरणको काम अभियान अन्र्तगत शुरु गरिएको हो ।

चालु आर्थिक वर्षमै फोहोर व्यवस्थापनमा नमूना पालिका बनाउने योजना रहेको भन्दै नगरप्रमुख श्रेष्ठले डङ्पिङ साईड अब फोहोर थुपार्ने मात्रै नभएर फोहोरको अध्ययन अवलोकन केन्द्र बनाउने जानकारी दिनुभयो ।

उहाँले अहिले फोहोर व्यवस्थापन गरिएको स्थानमा वर्गीकरण गरेको फोहोरले थोरै क्षेत्र मात्रै ओगट्ने भएकाले उक्त स्थानलाई वनभोज स्थलका रुपमा समेत प्रयोग गर्न मिल्ने छ । ‘क्लिन बागलुङ’ अभियान अन्र्तगत आइतबार जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी लगायतले शार्वजनिक शौचालयको उद्घाटन गरेका थिए ।

फोहोरलाई पानीमा भिजाउदा समस्या भएको भन्दै फोहोरलाई छोप्नका लागि डम्ङि साइडमा तीन वटा छुट्टा छुट्टै फोहोर घर निर्माण गरिएको छ ।

कुहिने फोहोरबाट प्राङ्गारिक मल

नगरपालिकामा सबैभन्दा बढी उत्पादन हुने कुहिने फोहोरलाई नगरपालिकाले छुट्टै व्यवस्थापन गर्ने भएको छ । उक्त फोहोरलाई नगरपालिकाले डम्पिङ साइडमा नलगी कम्पोष्ट मल तयारका लागि अन्यत्रै व्यवस्थापन गर्ने भएको छ ।

कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउन बागलुङ नगरपालिका–४ कुडुँलेमा जग्गा व्यवस्थापनका लागि काम भइरहेको बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठले बताउनुभयो । “बजार क्षेत्रमा धेरै फोहोर कुहिने खालको उत्पादन हुन्छ, कुहिने फोहोर मात्रै व्यवस्थापन गर्न सके फोहोर व्यवस्थापनको आधा काम सकिन्छ, कुहिने फोहोरलाई संकलन गरेर कम्पोष्ट मल बनाउन आवश्यक छ” श्रेष्ठले भन्नुभयो “नकुहिने र पुन प्रयोग गर्न मिल्ने फाहोर मात्रै डम्पिङ साइडमा जान्छ भने कुहिने फोहोरलाई कुँडुलेमा संकलन गरी कुहाएर कम्पोष्ट मल उत्पादन गरेर विक्रि गरिने छ ।”

सार्वजनिक शौचालय निर्माण

बागलुङ नगरपालिका र एभरेष्ट बैंकको साझेदारीमा बागलुङ बजारको मुख्च चोक रहेको ऐश्वर्य पार्कमा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

उक्त शौचालयालाई ‘क्लिन बागलुङ’ अभियान संगै जोडेर शुभारम्भ गरिएको छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले रु. ८ लाख लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको बताउदै शौचालयसंगै कफी सप र एटिएम कार्ड राखिएको जानकारी दिनुभयो ।

वि.स.२०५४ सालमा स्थापना भएको नगरपालिकाले शुरुको एक दशक कालीगण्डकी नदीमा फोहोर फाल्दै आएको थियो । त्यसपछि नगरपालिकाले डम्पिङ साईड निर्माण गरेर फोहोर संकलन गरेपनि व्यवस्थापन गर्न नसक्दा डम्पिङ साइड भरिएको थियो । नगरपालिकाले दीर्घकालिन रुपमै फोहोर व्यवस्थापन थालेको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *