खेमराज गौतम, बागलुङ
बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपालीलाई आज जिल्ला अदालत बागलुङमा पेश गरिएको छ ।
१६ महिनादेखि फरार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । नेपालीलाई काठमाडौंबाट आइतबार बागलुङ ल्याएको थियो । उहाँलाई म्याद थप गरी आजै बयान लिइने जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी सुनिल शर्मा चिलवालले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।
चिलवालका अनुसार उहाँलाई सोमबार ११ बजे कानून अनुसार जिल्ला अदालत बागलुङ पेश गरिएको छ । नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो । नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उहाँलाई नेपाल ल्याइएको थियो ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका छन् ।
देव कुमार बागलुङ आएसंगै बचत कर्ताले रकम फिर्ता पाउनेमा आश पलाएको छ । नगरप्रमुख नेपालीले बागलुङ र पोखरा गरी साढे दुई अर्ब बढी बचत रकम अपचलन गरेको बचत कर्ताको आरोप छ ।