मुस्ताङको स्याउको माग बढ्दो

आदर्श अनलाइन, म्याग्दी
मुस्ताङलाई स्याउको राजधानी मान्नेहरुको पनि कमि छैन । मिठो अनि स्वादीलो स्याउ भनेर मुलुकभर प्रचलित छ हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा उत्पादित स्याउ । कुनै समय क्या राम्रो स्याउ बारी मार्फा गाउँमा भन्ने गितले पनि मुस्ताङको स्याउको बजारीकरणमा निकै टेवा पुगेको थियो । त्यही गितमा भनिए जस्तै हेर्न राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ भन्ने शब्दलाई असोज महिना लागे सँगै बजारमा पुग्न थालेको स्याउको स्वादले पनि चरितार्थ गरेको छ । मुस्ताङको मार्फा लगायत जिल्ला भित्रका पाँचवटै गाउँपालिकामा उत्पादीत स्याउ टिप्ने र ग्रेडीङ गरेर बजार पठाउने प्रकृया असोज १ गते बाट मात्रै शुरु भएको हो ।

जिल्लाको सर्व पक्षीय बैठकको निर्णय बमोजिम असोज १ गते बाट मात्रै स्याउ टिप्न पाउने भए पछि कृषकहरुले स्याउ टिप्ने र बजार पठाउने काम असोज १ पछि मात्रै गरेका थिए । अहिले मुस्ताङको माग बजारमा उच्च हुने गरेको बेनी नगरपालिका–८ न्यू रोडका फलफुल ब्यापारी विज्ञान शर्माको भनाई छ । पसलमा जुम्ला तथा अन्य क्षेत्रको पनि स्याउ बिक्रीका लागि राखिने भए पनि मुस्ताङकै स्याउको माग गर्ने ग्राहकहरु धेरै आउने उहाँको भनाई छ । स्याउ चाँडै टिपेर बजार पठाउँदा गुणस्तरमा कमि आएको भन्ने गुनासोले गर्दा जिल्ला समन्वय समितिको अगुवाइमा बैठक बसेर स्याउको जात अनुसार टिप्ने मिति तय भएको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख मायाँ गुरुङको भनाई छ । मुख्य रुपमा खेती हुने स्याउ टिप्नका लागि असोज १ पछि मात्रै भनेर भएको निर्णय अनुसार नै अहिले सबै बोटका स्याउ टिप्न थालिएको उहाँको भनाई छ ।

स्याउ खरिद गर्नका लागि मुस्ताङभन्दा बाहिरी जिल्लाका व्यापारीहरु स्याउ बगैंचामा पुगेका छन् भने स्थानीय व्यापारीहरु पनि कृषकहरुले उत्पादन गरेको स्याउ किन्नमा व्यस्त रहेको घरपझोङ गाउँपालिका– मार्फाका स्याउ कृषक दिपक लालचनको भनाई छ । उहाँ भन्नुहुन्छ–‘मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ धादिङ, काठमाडौं, पोखरा, चितवन लगायतका ठाउँबाट खरिद गर्न ब्यापारीहरु मुस्ताङ आइपुग्ने गरेका छन् ।’ अहिले स्याउ खरिद गर्न पुगेका व्यापारीहरु र कामदारले स्याउको बगैंचा कुर्नुका साथै बजार पठाउने तयारीमा छन् । मुस्ताङको स्याउ टिपेर बेच्ने भन्दा पनि स्याउ दाना लाग्न थालेपछि नै बगैंचा नै व्यापारीले ठेक्कामा लिने भएकाले ठेक्का लिनेहरु नै स्याउको बगैचा रुङ्न पुग्ने लालचनको भनाई छ ।

साउन भदौ तिरै स्याउ टिप्ने र बजार पठाउने गर्दा स्याउ गुणस्तरीय नभएको गुनासो आउने गरको हुँदा पछिल्लो दुई वर्ष देखि असोज लागेपछि मात्रै स्याउ टिप्न सूचना जारी गरिएकोले गर्दा असोज १ पछि मात्र स्याउ टिप्ने गरिएको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकालीको भनाई छ । विगतमा तीज भन्दा अघि नै मुस्ताङी स्याउ बजार पुग्ने गरेको हुँदा स्याउको स्वाद खस्किएको गुनासो सुन्न परेको कारण असोज लागेपछि बजार पठाउने व्यवस्था गरीएको हुँदा स्याउ गुणस्तरीय र स्वादिलो हुने उहाँको भनाइ छ ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले यस वर्ष दुई पटक सम्म सुचना खुलाउँदा पनि कसैले पनि टेण्डर नहाले पछि केन्द्रले आफै स्याउ बिक्री गर्ने भएको छ । प्रति केजी १२५ का दरले फर्मबाटै खरिद गर्नका लागि सूचना प्रकाशन गरेको भए पनि कसैले पनि स्याउ खरिदका लागि चासो नदेखाए पछि आफै व्यवस्थापन गरेर विक्री गर्ने योजना बनाएको शितोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।

शीतोष्ण बागवानी विकास केन्द्रले सामान्यतया बागवानी फर्म मार्फामा बिक्रीका लागि १३ मेट्रिकटन स्याउ उत्पादन गर्ने र ब्राण्डी, सुकुटी लगायतका अन्य उत्पादनका लागि उत्पादीत स्याउ भने यसमा गणना नगरिएको आत्रेयले बताउनुभयो ।

स्याउ खेतीमा आबद्ध कृषि फार्म, कृषक समूह र कृषि सहकारीसहित ८७ फार्महरु असोजदेखि मात्रै टिपेर बजार पठाउन सहमत भएको र त्यही अनुसार नै स्याउ बजार पठाउन थालिएको हो । मुस्ताङमा एक हजार २ सय हेक्टर भन्दाबढीमा व्यावसायिक रुपमा स्याउको खेती भएको छ । मुस्ताङमा वार्षिक रुपमा करिब ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुन्छ । जिल्लामा स्वादीलो स्याउ मार्फा र टुकुचे क्षेत्रको मानिन्छ ।

मुस्ताङ जिल्लामा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । पछिल्लो समय उच्च घनत्वको ईटालीयन जातको स्याउ समेत लगाइएको छ । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र विदेशी बजारमा पुग्ने गरेको छ ।

समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउखेती हुने गरेको छ भने राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै तीन सय केजीसम्म स्याउ उत्पादन गर्न सकिन्छ । कृषकहरुले स्याउबाट जुस, ब्राण्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाईडर जस्ता परिकारहरु बनाएर बिक्री गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *