डम्मर बुढा मगर, बागलुङ
बागलुङका ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षातको कारण ठाउँ–ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका हुन् । अवरुद्ध सडक वर्षा नरोकिँदा स्थानीय तहले खुलाउन सकेका छैनन् । जिल्लाको धेरै ग्रामीण सडक खोलाको बहाव नघट्दासम्म संचालनमा आउन सक्ने स्थिती छैन ।
चार नगर र छ गाउँपालिका रहेको बागलुङमा अधिकांश बस्तीसम्मै सडक पुगेका छन् । हिउँदको समयमा यातायात संचालन भए पनि बर्खाको करिब चार महिना ठप्पनै हुन्छन् । बर्खामा सबैभन्दा कम गाडी तमानखोला गाउँपालिकामा चल्छन् ।
तमानखोलामा गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि वडा नम्बर १ को स्याउला, पहिरागाउँ, वडा नम्बर ३ को तमान, ४ को हिले लाम्मेला, वडा नम्बर ५ को खुङ्खानी थास्पुरी र वडा नम्बर ६ को नर्जाखानी, भित्रिवन पात्ले लगायतका गाउँमा पुग्ने सडक ठप्प भएका हुन् । असोजको अन्तिम सातासम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको सडक खुलाएपछि सवारी साधान संचालनमा आउने छन् ।
तीन वर्ष अगाडिसम्म बुर्तिबाङबजारदेखि पालिकाको केन्द्र बोङ्गादोभानसम्म पुग्न पनि दुई स्थानमा गाडी परिवर्तन गर्नुपथ्र्यो । ढोरपाटन नगरपालिका–४ हुन्द्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेका छन् ।
अहिले पालिकाको केन्द्रदेखि वडा नम्बर २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । वडा नम्बर ३ को तमान गाउँ पुग्नका लागि बुर्तिबाङदेखि खुङ्गा हुँदै सिधा यातायात सञ्चालन भए पनि पालिकाको केन्द्रदेखि भने हुन सक्दैन । सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच वटा मोटरेबल पुलको आवश्यक पर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नम्बर ५ को खुङ्खानी पुग्न तीन, पहिरा पुग्न तीन वटा, स्याउला र हिजा पुग्न एउटा पुल आवश्यक रहेको उहाँको भनाइ छ । अहिलेसम्म एक स्थानमा पुल बने पनि अरु स्थानमा पुल नबन्दा स्थानीय मर्कामा अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “तमानखोलामा छरिएर रहेका गाउँ छन्, बस्तीहरु पनि छरिएका छन्, हामीहरुले सबै तिर सडकको पहुँच पु¥याएका छौँ, तर स्रोत साधानको अवभाका कारण खोलाहरुमा पुल बनाउनका सकेका छैनौँ, धेरै ठाउँमा पुग्न करिब एक दर्जन पुलको अवश्यक छ, त्यो पालिकाले संभव छैन” अध्यक्ष बुढा मगरले भन्नुभयो – “प्रदेश र केन्द्र सरकारसँग माग गरि रहेका छौँ, बर्खामा गाउँमा गाडी नचल्दा धेरैले समस्या भोग्नु परेको छ ।”
जिल्लाको बडिगाड गाउँपालिकामा पनि यस वर्ष पहिराले सडकमा ठूलो क्षति पु¥याएको अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । यसपालीको वर्षाले ग्रामीण सडक भत्किदा करिब १५ करोडको क्षति भएको उहाँको भनाइ छ ।
पालिकाले बर्खाले बिगारेको सडक मर्मतका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि त्यस बजेटले केही ठाउँमा मात्रै सडक संचालनमा ल्याउन सकिने उहाँले बताउनुभयो । गाउँपालिका भित्र रहेका दर्लिङ, नयाँगाउँ, मालारानी, आरुपाटा, निगलपानी पुग्ने सडक पूर्ण रुपमा ठप्प भएको अध्यक्ष अधिकारीको भनाइ छ ।
“यो वर्ष बडिगाडमा बाढी पहिरोले सडकमा ठूलो क्षति पु¥याएको छ, दसैँ आइसक्न लाग्यो, वर्षा रोकिएको छैन, दुई साता अगाडि वर्षा कम भएको थियो र अवरुद्ध ग्रामीण सडक खुलाउने तयारी गरेका थियौँ, तर पुनः ठूलो वर्षा भयो” अध्यक्ष अधिकारीले भन्नुभयो – “असारको दोस्रो हप्तादेखि नै बडिगाडका ग्रामीण सडक बन्द भएका हुन्, चाडचाड आइसक्यो गाउँमा सामान ढुवानी गर्न र मान्छेलाई यात्रा गर्न कठिन भएको छ, सडक खुलाउन हामीहरु पनि आत्तिएका छौँ ।”
जिल्लाको निसीखोला गाउँपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् ।
तीन महिनादेखि गाउँमा आउने सडक पूर्ण रुपमा बन्द हुँदा सामान ढुवानी गर्न निकै समस्या भएको तमानखोला गाउँपालिका–६ का पूर्णबहादुर छन्त्यालले बताउनुभयो । हिउँदको समयमा जसोतसो गाडी संचालन भए पनि बर्खामा ठप्पै हुने दशक अगाडि गाउँमा सडक नपुग्दा पैदल हिँडेरै बजार पुगेर सामान ल्याउने गरेको स्मरण गर्दै अहिले वर्षामा त्यही अवस्था आएको उहाँको भनाइ छ ।
छन्त्यालले भन्नुभयो – “दसैँ आयो, बर्खा नलाग्दै बजारबाट ल्याएको सामान सबै सकिन थाले, अझै पनि खोलाको पानी घटेको छैन, यसपाली दसैँमा गाउँमा गाडी आउला जस्तो छैन, पहिला–पहिला पैदलनै हिँडेर बजार पुगिन्थ्यो, घोडाखच्चडमा सामान ढुवानी गर्ने चलन थियो, अहिले सडक आएपछि पहिले हामी हिड्ने गोरेटो पनि हराए, घोडाखच्चड पनि छैनन्, बर्खामा धेरै समस्या भोग्नु परेको छ ।”