आदर्श अनलाइन, बागलुङ
साईबर अपराध मुद्दामा पक्राउ परेका एकबहादुर केसी धरौटीमा छुटेका छन् ।
बागलुङ जिल्ला अदालतका न्यायाधिस रमेशाकान्त अधिकारीको इजलाशले केसीलाई ३० हजार धरौटी सहित तारेकमा छोड्न आदेश दिएको इजालश अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो ।
अदालतले केसीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो । प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालतमा मंगलबार थुनछेक बहस गरिएको थियो ।
केसीलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार बागलुङ नगरपालिकाको मुद्दामा शुक्रबार पक्राउ गरिएको थियो ।
बागलुङ नगरपालिका–१२ घर भई बानपा –३ बस्ने केसीले मुख्यमन्त्रीको शिलालेख घनले फोड्छु भन्ने सामाजिक सञ्जाल मार्फत अभिव्यक्ति दिएका थिए ।
बागलुङ नगरपालिकाका सुवास गैरेको जाहेरीका आधारमा जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले केसीलाई पक्राउ गरि अनुसन्धान कार्य अगाडि बढाएको थियो ।
सामाजिक सञ्जाल र एक सञ्चार माध्यममा अराजक र आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत भदौ १८ गते बागलुङ बसपार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो । पाण्डेको नामको शिलालेख फोड्ने केसीले अभिव्यक्ति दिनुभएको थियो ।