महिलालाई अत्मनिर्भर बनाउन योजना बनाएरै लागेका छौँ : उपमेयर खड्का

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले महिलालाई सक्षम र आत्मनिर्भर बनाउनका लागि नगरपालिका सधै तत्पर रहेको बताउनु भएको छ ।

सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरणका लागि दोस्रो चरणमा भइरहेको कार्यक्रमको सार्वजनिक सुनुवाईमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।



टेवा, एडवान, युएन उमन र साउमी फिनल्याण्डको संयुक्त आयोजनामा सञ्चालित परियोजनाको सार्वजनिक कार्यक्रमको उद्घाटन गर्दै उपमेयर खड्काले दलित महिला, युवा, बालबालिका र वैदेशिक रोजगारिमा गएका र रोजगारिबाट फर्किएकाहरुको लागि समेत बागलुङ नगरपालिकाले नीति तथा योजनामै समावेश गरेर कार्यक्रम गर्दै आएको बताउनु भएको हो ।

दलित महिलाले उत्पादन गरेका दुध, खाद्यन्न र अन्य उपभोग्य वस्तुको समेत बजारिकरणका लागि नगरपालिकाले सघाउने भन्दै उहाँले लैंङ्गिक हिंसामा परेका महिलाको लागि नगरपालिकाले थप सघाउँदै आएको बताउनु भयो ।

सार्वजनिक सुनुवाईमा बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सनी केसी (लक्ष्मण)ले आफ्नो वडा र नगरपालिकालाई विभेदमुक्त बनाउनका लागि सचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनु भयो । उहाँले बालविवाह रोक्नका लागि समाजका सूचना समयमै स्थानीय निकाय र प्रहरीमा पुर्याउन सबैलाई आग्रह गर्नु भएको थियो ।

बागलुङ नगरपालिका ३ को तातोपानी र भलाटाकुरा, वडा नम्बर ७ को हराचौरका दलित समुदायका महिलासँग परियोजनाले काम गर्र्दै आएको छ । सोही स्थानका सामाजिक सुरक्षा जालोभित्र समावेश भएका महिलाका विचमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा कोपिला किसान, कल्पना परियार, राधा किसान लगाएतका महिलाहरुले प्रश्न राख्नु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रम एडवानका अध्यक्ष विन्दु थापा परियारको अध्यक्षता, टेवाका टिम लिडर रुपा उदाशको कार्यक्रम र परियोजनाको बारेमा जानकारी, सामुदायिक सुरक्षा जालो परियोजनाका लागि बागलुङका संयोजक तथा पूर्व जनप्रतिनिधि लक्ष्मी बोहोराको स्वागत मन्तव्य र पत्रकार सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *