डम्मर बुढा मगर, बागलुङ
बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्रहरु सुनसान बनेका हुन् । बराह ताल, बेलढुङ्गा, गाजाको दह, घुम्टे, दिदीबहिनी झरना, सोलेडाँडा लगायत दर्जनौ पर्यटकीय क्षेत्र सुनासन छन् । धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको संख्या निकै कम भएको छ । गत वर्ष यो बेला पर्यटकीय स्थलहरुमा चहलपहल बढ्न थालेको थियो । तर अहिले वर्षा नरोकिएको हुँदा सडक खुल्न सकेका छैनन् । सडक खुल्न नसक्दा घरबास (होम–स्टे) पनि संचालन हुन सकेका छैनन् ।
घरबासमा पाहुन पुग्न नसक्दा स्थानीय उत्पादनले बजारसमेत पाउन सकेका छैनन् । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर, पञ्चकोट र शालग्राम संग्राहलयमा पनि पर्यटकको संख्या घटेका छन् । यस वर्ष लामो झरी गर्दा आधा असोज बितिसक्दा पनि सडक खुल्न सकेका छैनन् । गत वर्ष यति बेला सोलेडाँडामा पर्यटकको चहलपहल बढेको तर अहिले सुनासन रहेको तमानखोला गाउँपालिका–३ का पूर्ण बुढा मगरले बताउनुभयो । असोज लागि सक्दा पनि वर्षा नरोकिदा सडक खुलाउन नसकेको उहाँको भनाइ छ । सडक बन्द हुँदा घुम्न आएका पर्यटक बीच बाटोबाटै फकिर्ने गरेको बुढा मगर बताउनुहुन्छ ।
बुढा मगरले भन्नुभयो – “असोजको पहिलो साता तिर वर्षा रोकिएको थियो, अहिले फेरि वर्षा हुन थालेको छ, बर्खाले गर्दा बाटो धेरै ठाउँ बिग्रिएको छ, पर्यटकहरु सजिलै घुम्ने ठाउँमा पुग्न सकेका छैनन्, सोलडाँडामा यो बेला पोहोर परार साल निकै धेरै मान्छे आउँथे, तर अहिले आएका छैनन्, आएकाहरु पहिरोले सडक पुरिएपछि फर्किएर जान्छन्, अब कार्तिक लागेपछि मात्रै बाटो खुल्छ होला, त्यसपछि बल्ल पर्यटकको लर्को लाग्छ की ।”
यो सिजन ढोरपाटन घुम्नका लागि निकै उपयुक्त समयमा मानिन्छ तर सडकको दुरावस्थाका कारण निकै कम संख्यामा पर्यटक आएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन अदैले बताउनुभयो । अघिल्लो महिनासम्म सयौँ पर्यटक ढोरपाटन पुग्ने गरेको भन्दै असोज लागेपछि धेरै ठाउँमा सडक बिग्रिदा यात्रा कठिन हुँदा पर्यटक घटेको उहाँको भनाइ छ । बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडकमा यात्रा गर्दा पर्यटकले सास्ती खेप्नु परेको अध्यक्ष अदै बताउनुहुन्छ । यो सडक स्तरोन्नती नभएसम्म हजारौँ पर्यटकले वर्षेनी समस्या पुग्नु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
“धेरै पर्यटकको रोजाईमा अहिले ढोरपाटन परेको छ, ढोरपाटन आउनेहरु बुकीपाटन पनि जान चाहान्छन्, तर बुर्तिबाङबाट यहाँसम्म आउने सडकको अवस्था खराब हुँदा पर्यटक चाहेर पनि आउन सकेका छैनन्,” अध्यक्ष अदैले भन्नुभयो – “अघिल्लो महिनासम्म पर्यटकको संख्या राम्रो थियो, पछिल्लो झरीले गर्दा ह्वात्तै घट्यो, दसैँ नजिकिदैछ, यो बेला हजारौँको संख्यामा पर्यटक आउँथे तर सडकका कारण आउन सकेका छैनन्, वर्षा रोकिएर सडक सुधार भयो भने आउने छन् ।”
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले वर्षा रोकिएपछि पर्यटकीय क्षेत्रमा पुग्नेसहित ग्रामीण सडक खुलाउने बताउनुभयो । यस वर्षको वर्षाले मध्यपहाडी लोकमार्गसहित ग्रामीण सडकमा ठूलो क्षति पु¥याएको हुँदा खुलाउन केही समय लाग्ने उहाँको भनाइ छ । वर्षा रोकिए दसैँ अगावै सबै अवरुद्ध सडक खुलाउने गरि तयारी गरेको भण्डारीले जानकारी दिनुभयो ।