के हो धौलागिरीको आकाशमा देखिएको त्यो चम्किलो दृश्य ?

उल्कापिण्ड हुन सक्छ, खसेको ठाउँमा क्षति हुन्छः नेपाल एष्ट्रोनोमिकल सोसाइटी

आदर्श अनलाइन, काठमाण्डौं

नेपालको आकाशमा एउटा चम्किलो वस्तु अस्वाभाविक तीव्रतामा उज्यालो छर्दै पृथ्वीतर्फ झरेको देखियो, यो के होला ?’ धेरैले आफूहरुले पनि अनौठो दृश्य देखिएको भन्दै जिज्ञासा राखिरहेका छन् ।

सो चम्किलो बस्तु बागलुङ, पर्वत, स्याङ्जा, बाँके, सुर्खेत, कास्की लगायतका पश्चिम नेपालका विभिन्न जिल्लाबाट देखिएको बताइएको छ । कतिपयले ठूलो आवाज समेत सुनिएको दावी गर्दै चासो राखिरहँदा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले उक्त बस्तु उल्का पिण्ड हुनसक्ने बताएको छ ।

शुक्रबार बिहान कुराकानी गर्दै सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले वास्तविकता को हो भन्ने आफूहरु खोजमै रहेपनि प्राप्त सूचनाका आधारमा त्यो चम्किलो बस्तु उल्कापिण्ड हुन सक्ने जानकारी दिए । ‘हामीलाई जनसमुदायबाट प्राप्त सूचनाका आधारमा त्यो उल्कापिण्ड भएको अनुमान गरिएको छ । यद्यपि हामी सूचना संकलनकै क्रममा छौंं’ भट्टराईले भने, ‘हामी यति भन्न सक्छौं बिहीबार साँझ आकाशमा देखिएको छुद्र ग्रह नभएर उल्कापिण्ड हुनसक्छ ।’

उनका अनुसार त्यस्ता उल्कापिण्डको साइज ठूलो भयो भने पृथ्वीको सतहमा आइपुग्छ भने सानो साइजका आकाशमै बिलाउँछन् । उनले भने, ‘धेरैले आवाज आएको भन्नु भएको छ, यसको साइजमा आधारमा पृथ्वीको सतहमासमेत ठोक्किने हुँदा उल्कापिण्डको आवाज नै आउँछ ।’

उनले उल्कापिण्ड जुनसुकै बेलापनि खस्न सक्ने भन्दै यसको कुनै पूर्वानुमान गर्न नसकिने पनि स्पष्ट पारे । यस्तै सोसाइटीले यसबारे विज्ञप्ति पनि जारी गरेको छ ।

‘बिहीबार साँझ करिब ८ बजेतिर नेपाली आकाशमा केही चम्किलो बस्तु सँगसँगै आवाज पनि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको र प्राप्त सूचनाको आधारमा प्रारम्भिक अनुमान स्वरुप उक्त बस्तु उल्कापिण्ड हुन सक्ने आधार रहेको कुरा जानकारी गराउन चाहन्छौं’, भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका विभिन्न स्थानबाट प्राप्त जानकारीलाई मनन गर्दा उक्त उल्कापिण्ड गण्डकी प्रदेशमा खसेको हुनसक्ने अनुमान गरिन्छ ।’

सोसाइटीले थप अनुसन्धानका लागि गण्डकी प्रदेशमा बस्नेहरुलाई आफ्नो वरपर केही घटना भए–नभएकोबारे जानकारी दिन पनि अनुरोध गरेको छ । भट्टराईले उक्त बस्तु उल्कापिण्ड भए जहाँ खसेको हो त्यहाँ क्षति हुनसक्ने पनि बताएका छन् । सोसाइटीले कसैसँग यससँग सम्बन्धित तस्बिर वा भिडियो भए पठाएर थप अनुसन्धानमा सहयोग पुर्याउन पनि अनुरोध गरेको छ ।
रातोपाटीबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *