नेपाल–भारत रेल किन चलेन ?

सम्पादकीय
नेपालमा रेल वा रेल्ले स्टेशनको विषय आउँदा साथ एक व्यक्ति सर्वाधिक आलोचित र ट्रोल हुन्छन् वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । केही वर्ष पहिले नेपालमा रेल ल्याउने उद्घोष सहित कार्यालय स्थापना उद्घाटन लगायतका कार्य गरिए पनि ओली प्रधानमन्त्रीको कुर्चिबाट बाहिरिए । उसो त त्यसयता पटक–पटक देशको बागडोर सम्हाल्ने अवसर पाए पनि रेल सञ्चालनको सपना साकार बनाउन ठोस कदम चालिएन । उनी मात्र होइन, त्यसपछिका प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्ड हुँदा पनि कार्गो रेलको उद्घाटन गरियो । नेपालका तत्कालीन प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०८० जेठ १८ गते नयाँ दिल्लीबाट संयुक्त रूपमा झन्डा हल्लाएर धुमधामका साथ कार्गो रेलको उद्घाटन गरेका थिए । कार्गो रेल भारतको सीमावर्ती बथनाहा रेलवे स्टेसनदेखि विराटनगरको आइसीपीस्थित नेपाल कस्टम यार्ड (एनसीवाई)सम्म आउने गरी उद्घाटन गरिए पनि अहिले अवस्था निराशाजनक छ ।

दुई प्रधानमन्त्रीले उद्घाटन गरेकै दिन नेपाल कस्टम यार्डसम्म आरती स्ट्रिप्सले औद्योगिक कच्चा पदार्थ एचआर सिट ल्याएको पनि थियो । यसले रेल सञ्चालन र निरन्तरताबारे केही आशा जागृत गराएको थियो । तर, उद्घाटन भएको १६ महिना कटिसक्दा नेपाल कस्टम यार्डमा दोस्रो पटक कार्गो रेल आउन सकेको छैन । जतिबेला कार्गो रेलको उद्घाटन गरियो, त्यतिबेला हतार हतार गरिएकाले नेपाल तर्फ सामान लोड–अनलोड गर्ने ठाउँ पनि व्यवस्थित थिएन । अहिले विराटनगर भन्सार कार्यालयकै पहलमा ट्रक तथा कन्टेनर पार्किङ गर्ने पर्याप्त ठाउँ बनाउनुको साथै लोड–अनलोड गर्ने स्थान पनि बढाइयो । उक्त संरचनामा झण्डै ५० करोड लगानी थप भएको अनुमान छ । अब रेलबाट सामान लोड, अनलोड गर्न क्रेनदेखि आवश्यक सबै मेसिनरी सामान तयारी अवस्थामा छन् । कार्गो रेलबाट आएको सामानको जाँचपास गर्न भन्सार कार्यालय तयारी अवस्थामा छ । कस्टम यार्डसम्म पूर्वाधार तयार छ । रेल्वेमार्फत आएका ४ सयभन्दा बढी कन्टेनर राख्ने ठाउँ तयारी अवस्थामा छ । तर, कार्गो रेल आएको छैन । आखिर किन ? यसमा दुई मुख्य कारण छन् । कलकत्ता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आउने सामानमध्ये रेलबाट चार वटा मालवस्तु मात्रै आउन दिने सम्झौता भएको छ । यी बाहेकका बाँकी वस्तु रेलमार्फत नेपाल ल्याउने हो भने नेपाल सरकारले उक्त सम्झौता पुनरवलोकनका लागि पुनः भारतसँग कुरा गर्नुपर्ने अवस्था छ । यसबाहेक निजी क्षेत्रले शुल्क महँगो भएको गुनासो गरिरहेको छ ।

नेपाल भारत रेल सपना, सम्भावना र अवसर भन्दा पनि यो मजाकको विषय बनिरहेको छ । जुन समृद्धिको सपना साँचिरहेको देश नेपालका लागि दुर्भाग्यपूर्ण कुरा हो । नेपालमा रेल आउनु या ल्याउनुले अनेकन लाभ र अवसर सिर्जना हुन सक्छ । यसमा भारतलाई सकारात्मक बनाउने र नेपालले आफ्नो तर्फबाट यथेष्ट पूर्वाधार र तयारी गर्नुपर्छ । नेपालमा भारतबाट कार्गो रेल मार्फत आवश्यक सामान ल्याउन पाउने प्रबन्धका लागि कुटनीतिक पहल गरिनु पर्छ । अहिले नेपालका व्यवसायीबाट शुल्क महँगो भएको जुन गुनासो छ, यसमा पनि सम्बन्धित पक्षसँग बसेर संवाद गरिनु पर्छ । विराटनगर आसपासका क्षेत्रमा खपत नहुने वस्तुको आयात गर्ने सम्झौता भएको तर खपत हुने वस्तु रेलबाट ल्याउन नपाउने अवस्था रहेको विषय सोचनीय छ । यसमा सरकारले यथोचित कदम चाल्नुपर्छ । उद्घाटन भएको १६ महिना बितिसक्दा पनि कार्गो रेल नचल्नु र नेपाल कस्टम यार्डमा झार पलाउनु बिडम्बना हो । नेपाल प्रति भारतको हेपाहा प्रवृत्ति हो । यसमा सरकारले तत्काल यथोचित कदम चाल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *