आदर्श अनलाइन, म्याग्दी
कास्कीको लेखनाथमा माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा जारी माछापुच्छ्रे क्रिकेट लिगको सिजन–३, मा म्याग्दीका खेलाडीहरुले आफ्नो क्षमतालाई प्रस्तुत गरी रहेका छन् । केही समय पहिला भएको खेलाडी अक्सनमा म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका खेलाडी जस्मीन थापाले आफ्नो दवदवा देखाएका थिए । उनलाई क्रिकेट लिगमा सहभागी तीन वटा क्लबहरुले बोली लगाएका थिए । लिग क्रिकेटमा सबै भन्दा धेरै मुल्य १० हजार रुपियाँमा खरिद गर्न पाउने प्रावधान रहेकोमा तीन वटा क्लबले जस्मीन प्रति चासो देखाए पछि गोलाप्रथाबाट उनले खेल्ने टिमको टुंगो लगाइएको थियो ।
रत्नेचौर क्रिकेट क्लबका खेलाडी जस्मीनले बागलुङ जिल्ला क्रिकेट संघको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने गरेका थिए । हालै प्रदेश खेलकुद परिषदले आयोजना गरेको अन्तर जिल्ला क्रिकेट प्रतियोगितामा भने उनले म्याग्दीको प्रतिनिधित्व गर्दै क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका थए । बागलुङ तथा म्याग्दीको टिमबाट खेल्दै प्रदेशमा आफ्नो राम्रो छाप बनाएकै कारण माछापुच्छ« क्रिकेट लिगमा क्लबहरुको आँखा उनमा परेको थियो ।
उक्त प्रतियोगितामा अघिल्लो वर्ष पनि खेलेका बागलुङका बिसाल आचार्य, रोशन कडेल, पुस्कर रिजाल पनि अनुबन्धीत भएका छन् । बिशाल र रोसनलाई गत वर्ष खेलेको क्लबले नै पुनः खेल्ने गरी अनुबन्ध गरेको हो भने पुस्कर र जस्मीनलाई अक्सन मार्फत लिएको हो ।
प्रदेशस्तरीय क्रिकेटमा जमेका थापालाई प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १ सय २० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आवद्ध गराउने क्रममा थापालाइ १० हजार रुपैयाँमै खरिद गरेको थियो । म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरका जस्मिन थापालाई इस्लामिक कंक्रोर्सले लक्की ड्र मार्फतनै खरिद गरेको थियो ।
लेखनाथ बुमर्सले पनि थापामाथि १० हजारकै मुल्य लगाएकोमा कार्यक्रमका प्रमुख अतिथि स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले गोला तानेका थिए । बिक्की शर्माले उद्घोष गरेको अक्सनमा थापा क्लवको तानातानमा परेका थिए । एमसीएल सिजन–३ का लागि खेलाडीहरुको न्युनतम ५ सय देखि १० हजार रुपियाँ सम्मको मोलमोलाइ भएको थियो ।
क्रिकेटमा लागेपछिको मैले पाएको यस पटकको अवसर सबैभन्दा सुखद् क्षण हो । अबका दिनमा अझै मेहनत गर्छु, म्याग्दीबाट पनि अब क्रिकेटको सम्भावना देखाउने प्रयास गर्छु– क्रिकेटर थापाले भने ।
प्रतियोगितामा सहभागी अन्य क्लवले समेत उनलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए । उनलाई सिएनडी वारियर्सले समेत मोलमोलाईमा सहभागिता जनाएको भए पनि हात पर्न भने सकेन । यसपटक अक्सनमा राखिएका मध्ये थापा सहित केही खेलाडी किन्नका लागि प्रतिस्पर्धी टोलीले हानथाप गरेका थिए । क्रिकेटर थापा गण्डकी प्रदेशस्तरीय टि–ट्वान्टी, अन्डर १६, अन्डर १९, क्यानका खेलहरु खेल्ने गरेका छन् भने उनले नवौ राष्ट्रिय खेलकुदमा भने बागलुङ जिल्लाबाट सहभागिता जनाएका थिए ।
जिल्ला खेलकुद विकास समितिका खेल प्रशिक्षक मलिन रोकाले म्याग्दीका क्रिकेट खेलाडीले समेत गण्डकी प्रदेशस्तरीयमा राम्रो प्रर्दशन गरेको बताए । ‘मोलमोलाइमा पर्नु राम्रो हो, अबका दिनमा जिल्लाभित्र क्रिकेट प्रतियोगितालाई अन्य खेल सरह प्राथमिकता दिनुपर्छ’ प्रशिक्षक रोकाले भने । प्रतियोगितामा यसपटक ८ टोलीले सहभागिता जनाउँदै छन् । इस्लामिक कंक्रर्स, एभरेष्ट क्रिकेट क्लव, पोखरा फिनिक्स, कुस्मा वारियर्स, फिस्टेल अपमोस्ट, सिएनडी वारियर्स, आरके भिक्टोरियन्स र लेखनाथ बुमर्सले यो संस्करणमा भाग लिन लागेका हुन् । लेखनाथ स्थित इडन हेभेन क्रिकेट मैदानमा जारी हुने यो लिग २ महिनासम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख सहित ट्रफी तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याटर तथा उत्कृष्ट बलरले नगद रु पाँच–पाँच हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।
जस्मीन थापा सहभागी टिमले आफ्नो पहिलो दुई वटै खेलमा जित हात पारेको छ । प्रतियोगिताको पहिलो खेलमा जस्मीन थापाले ४ ओभर बलिङ गर्दै २८ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै दोश्रो खेलमा दुई ओभर बलिङ गरेका थापाले पाँच रन दिएर एक विकेट लिएका थिए । उनले पहिलो खेलमा नटआउट पाँच रन र दोश्रो खेलमा पनि पाँच रन बनाए । उनी सहभागी खेलमा उनको बलिङ फिगर निकै राम्रो देखिएको क्लबले जनाएको छ ।