अखाद्य वस्तु, अनुगमन र अपेक्षा

सम्पादकीय
जति जति बेला नेपालमा चाडपर्व आउन थाल्छ, बजारमा अनुगमन चल्छ, अझ यसलाई अर्को भाषामा भन्दा बजार अनुगमनको नाममा आतंक चल्छ । वास्तविक अनुगमनको रुपरेखा भन्दा कर्मकाण्डी अनुगमनले बजार पिट्छ । जबकि नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै नियमित बजार अनुगमन गर्नु भनेको अपरिहार्य कुरा हो । यसले बजार, व्यापार व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउँछ, अहिले नेपालीहरुको महान पर्व बडादसैं सुरु भइसकेको छ । यस समयमा व्यापक रुपमा व्यापार व्यवसाय हुन्छ । यही कुरालाई ध्यानमा राखेर स्थानीय प्रशासन र स्थानीय पालिकाले बजार अनुगमन थालेको छ । जुन सकारात्मक कदम हो ।

यसैसाता बागलुङको काठेखोला गाउँपालिकाले अघिल्लो साता चाडपर्व केन्द्रित बजार अनुगमन ग¥यो । जसमा पालिका भित्रका हरेक वडावडामा रहेका दर्जनौं किराना लगायतका पसलमा नियोजित रुपमै म्याद गुज्रेका सामान पाइएको छ । कतिपय सामान २÷४ दिन बाँकी छँदा पठाइएको पनि भेटिएको छ । बिषेशगरी बजारबाट प्याक गरेर पठाइएका सुजी, आँटा, मसला र सस् लगायतका खाद्यबस्तु, बालबालिकाले खाने जंग फुड, चाउचाउ लगायतको म्याद गुज्रेका छन् । केही व्यवसायीले त बजारबाट आएका सामान खोल्न नपाउँदै म्याद गुज्रेको गुनासो समेत गरेका छन् । यसले प्रष्ट के संकेत गर्छ भने सदरमुकामका व्यपारीले म्याद सकिन लागेपछि बिक्रीका लागि सामान गाउँ पठाउने गर्दछन् । यसरी पठाउँदा बठ्याइँ गरेर बीलको मिति र म्याद सकिने मिति बढीमा २ साता मात्रै राखेर पठाएको तथ्य भेटिएको हो । केही सामान भने म्यादै गइसकेपछि पनि बेचेको भेटिएको छ ।

कालोबजारी, अखाद्य बस्तु बेच्ने र म्याद गुज्रेका सामान बेच्नेलाई जिल्लास्तरीय अनुगमन समितिले कारवाही गर्ने कानूनी व्यवस्था छ । तर, यस समितिले चाडपर्वका बेला केही अनुगमन जस्तो गरे पनि अन्य समयमा भने शिथिल प्रायः देखिन्छ । स्थानीय प्रशासन, पालिका र यो समिति जनताको स्वास्थ्य सुरक्षा सुनिश्चितताका लागि संवेदनशील र जिम्मेवार नबन्दा जनस्वास्थ्यमा गम्भिर असर परिरहेको छ । चाडपर्वका बेला त अनुगमन गर्नु नै प¥यो । यति मात्र हो कि त्यो बनावटी र देखावटी हुनुहुन्न । आफ्ना निकटहरुलाई पूर्ववत सूचना गरेर बजार अनुगमन गर्ने कार्य कदापि गरिनु हुन्न । अर्को तर्फ बजार अनुगमनलाई चाडपर्वमा मात्र सीमित गर्नु हुँदैन । हरेक महिनाजसो अनुगमन गर्ने हो भने नागरिक अखाद्यबस्तु प्रयोग गर्नुपर्ने बाध्यता र बिडम्बनाबाट मुक्त गर्नु अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *