जीवत छ रातोमाटोले घर पोत्ने चलन


सिर्जना पन्त, बागलुङ
दशैंमा रातोमाटोले घर पोत्ने परम्परागत चलन छ । परम्परागत रुपमा माटोले टालिएको घरलाई दशैँमा चिटिक्क बनाउने चलनले स्थानीयहरु रातो माटोको जोहो गर्न व्यस्त देखिन्छन् ।

परम्परा धान्नकै लागि यहाँका स्थानीयहरु रातोमाटोको जोहोमा लागेका हुन् । दशैं नजिकिएसंगै रातोमाटोले घर पोत्ने परम्परागत चलन धान्नका लागि अहिले बागलुङका विभिन्न स्थानमा रातो माटो खन्नेको भीड नै लागेको हुन्छ । केहीले आफ्नै घरका लागि त केहीले व्यावसायिक रुपमानै रातो माटो खनेर बिक्रि गर्ने गरेको पाइन्छ ।

नेपालीहरुको महान पर्व बडादसैँ नजिकिएसँगै गाउँ गाउँमा घरलाई श्रृङ्गार गर्न थालिए पछि रातो माटोको प्रयोग बढी गर्ने गरिन्छ । माटोका घरहरु कंक्रिटले विस्थापित हुँदै आएपछि अहिले उक्त चलन गाउँमा मात्रै केन्द्रित भएको छ ।

दसैँ आउँदा सेतो कमेरो, पहेलो र रातो माटोले घर सजाउने चलन भने अझै गाउँ घरमा कायम रहेको छ । बजारका घरमा रेडिमेट रङ्ग लगाउने चलन भएपनि परम्परागत माटोले टालेको घरमा अझै रातो माटोले पोत्ने चलन रहेको बागलुङ नगरपालिका ३ को खहरेमा रातो माटो खन्न आउनुभएका काठेखोला गाउँपालिका १ पाला निवासी कमला भण्डारीले बताउनुभयो ।

उहाँले अघिपछि भन्दा दशैंमा रातोमाटोको महत्व बढी रहेकाले माटो ल्याउन आएको बताउनुभयो । उहाँले परम्परागत घरमा अझै रातो माटोले पोत्ने चलन बाँकी रहेको बताउदै रातो माटोको जोहोका लागि मध्यपहाडी लोकमार्ग स्थित खहरेमा आएको जानकारी दिनुभयो ।

“धेरै घर त पलाष्टर भइसके, गाउँमा अझै केही घर परम्परागत छन्, जस्का लागि रातो माटो चाहिन्छ, दशैमा घर चोख्याउनै भएपनि रातो माटोको प्रयोग हुन्छ” भण्डारीले भन्नुभयो “अहिले त रातो माटो समेत सवारीसाधनले विक्रिका लागि घर–घरमै लैजान्छ, तर दशैंका लागि एक बोरा माटो आफ्नै हातले खनेर लैजानका लागि यहाँ आएको हुँ, रातो माटोले घर पात्ने चलन अब हराउदै छ ।”

घर लिपपोतका लागि बागलुङ नगरपालिकाको खहरे, बोक्से लगाएतका स्थानमा रातो माटो खन्न आउनेहरुको भिड भएपनि अहिले त्यस्तो नभएको स्थानीय बताउछन् । कुनै सयम रातो माटो पाइने सार्वजनिक पाखा, पखेरा र वनहरुमा रकम तिरेर माटो खन्न पाइने चलन भएपनि अहिले रातो माटोका खाल्टोहरु हरु बिस्तारै पुरिदै आएका छन् ।

घरको पिढी र बाहिरी भित्तामा रंग लगाए पनि घरको भित्री भागमा भने रातो माटोले लिप्ने समेत गाउँघरमा प्रचलन रहेको छ । अहिले खहरे क्षेत्रमा रातो माटो खन्न आउनेहरु देखिएका छन् । उनिहरुले दशैका लागि मात्र भएपनि रातो माटोको जोहो गर्न थालेको बताउदै आएका छन् ।

“घरको कुनै न कुनै भागमा रातोमाटोले नपोतेसम्म चोखो हुँदैन्, सिमेन्टकै घरमा पनि जमरा राख्ने स्थानलाई गोबर र रातोमाटोले पोतेर चोखो बनाउनु पर्छ भन्ने मान्यता अझै छ” खहरेमै रातो माटो लिन आउनुभएको स्थानीय गम कुमारी पुनले भन्नुभयो “अघिपछि भन्दा दशैको समयमा रातो माटोको महत्व बढी छ, घरमा रातोमाटोले पोतेपछि बल्ल दशैं आउछ ।”स्थानीय महिलाहरुले दशैंमा घर पोत्न र चोख्याउनका लागि रातो माटो आवश्यक रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *