आदर्श अनलाइन, बागलुङ
मुस्ताङ भ्रमणका लागि पुगेका ३४ जना आन्तरीक तथा बाह्य पर्यटकको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७८/०७९ मा छ जना, २०७९/०८० मा १२ जना र आर्थिक वर्ष २०८०/०८१ मा १४ जनाले ज्यान गुमाएका छन् ।
चालु आर्थिक वर्षमा पनि दुई जना पर्यटकको मृत्यु भै सकेको उहाँको भनाई छ । मृत्यु भएका मध्ये आर्थिक वर्ष २०८०/०८१ मा मृत्यु भएका १४ मध्ये ३ जना नेपाली एक जना युक्रेन र बाँकी १० जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । त्यस्तै चालु आर्थिक वर्षमा मृत्यु हुने एक महिला एक पुरुष रहेको र दुवै जना भारतीय नागरिक रहेका छन् । सबै भन्दा धेरै भारतीय नागरीकहरुको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै मृत्यु हुनेहरुको संख्यामध्ये दोश्रो धेरै नेपाली रहेका छन्, त्यस्तै युक्रेन र थाइल्याण्डका नागरिकको पनि लेक लागेर मुस्ताङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक (इन्पेक्टर) बिशाल अधिकारीले जानकारी दिनुभयो ।
मुस्ताङमा लेक लागेर मृत्यु हुने संख्या न्यूनिकरण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले छलफल गरेको छ । मंगलबार भएको विपद् व्यवस्थापन समितिको बैठकमा मुस्ताङ भ्रमणका लागि आउने पर्यटकको स्वास्थ्य परीक्षण गरेर मात्रै माथिल्लो उचाइमा पठाउने व्यवस्था मिलाउनका लागि छलफल भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो । उहाँले भन्नुभयो–‘जिल्ला बाहिरबाट आएका पर्यटकको रक्तचाप मापन गर्ने र उहाँहरुलाई केही समय एडजस्ट हुनका लागि तल्लो क्षेत्रमा रोकेर मात्रै माथिल्लो क्षेत्र जाने व्यवस्था मिलाउने भन्ने विषयमा छलफल भएको छ ।’ अब लगत्तै बैठक बसेर यस विषयमा निर्णय लिने छौं, उहाँले जानकारी दिनुभयो ।
मुस्ताङमा पछिल्लो तीन वर्षमा मात्रै ३४ जनाले लेक लागेर ज्यान गुमाएको तथ्याङ्कलाई हेरेर यसलाई न्युनिकरणका लागि पहलकदमी थाल्नका लागि नै विपद् व्यवस्थापन समितिको बैठकमा छलफल चलेको र अब लगत्तै त्यसलाई मुर्तरुप दिनका लागि अध्ययन गरेर निर्णयमा पुगिने बताइएको छ । पछिल्लो समय मुस्ताङ भ्रमण गर्न आउने भारतीय पर्यटक बढेको र उनीहरु सिधै मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिएको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोट स्वास्थ्य चौकीका सिनियर अहेब सुवास अधिकारीका अनुसार तल्लो क्षेत्रबाट एक्कासी माथिल्लो उचाइमा पुग्दा समस्या हुने गरेको छ । समुद्री सतहदेखि एक्कासी तीन हजार मिटर भन्दा माथिको उचाइमा एक्कासी पुग्दा जेष्ठ नगारिकहरुलाई समस्या हुने र त्यसले मृत्यु सम्म नै हुन सक्ने उहाँको भनाई छ ।
यसैबीच जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङले चाडपर्वको समयमा यात्रुहरुको सुरक्षा जोखिमलाई ध्यानमा राखी सडक दुर्घटना हुन नदिने उपाय अवलम्बन गर्ने तथा यात्रुहरुको जीउधनमा सुरक्षाको विशेष सर्तकता अपनाउने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्लाको समग्र विषयवस्तुको अध्ययनका साथै सुरक्षाका लागि तदारुकता देखाउने भएको हो । चाडवाडको समयमा सडक दुर्घटनालाई न्यूनिकरण गर्नुका साथै कुनै पनि प्रकारको विपद् तथा दुर्घटना भएमा तत्काल उद्धारका लागि सबै चुस्त अवस्थामा रहने निर्णय भएको छ । गर्मी तथा वर्षात्को समय सकिए सँगै जाडो र हिमपातको अवस्था सुरु हुने भएकाले पनि त्यसको पूर्वतयारीका लागि बैठक बसेर निर्णय गरेको हो ।
विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बमोजिम गाउँपालिका स्तरमा मनसुनजन्य विपद्को अवस्थामा आवश्यक पर्ने विपद् उद्दार र राहत सामग्रीहरू आवश्यकताका आधारमा सबै पालिकाहरुले खोजेको बखत तत्काल उपलब्ध हुने गरी भण्डारण गरिने भएको छ । वर्तमान समयमा डेंगुको प्रभाव मुस्ताङ जिल्लामा पनि भित्रिएको सन्दर्भमा यसबाट थप, प्रकोप फैलन नदिन जनचेतनामूलक कार्यक्रम र प्रकोपबाट बच्नको लागि पर्याप्त औषधी सहितको उपचारको व्यवस्था गर्न जिल्ला जनस्वास्थ्य कार्यालय, मुस्ताङ जिल्ला अस्पताल र स्थानीय तहलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य तीलक बिकले जानकारी दिनुभयो ।