जग्गा दान, विवाद र बहस

सम्पादकीय
बडा दसैँको रौनकता सकिने क्रममा छ । यही बिचमा सिंगो देश एउटा विषयले तरंगित छ । र पक्ष बिपक्षमा बहस, विवाद र बिभाजित भइरहेका छन् । विषय हो नेकपा एमालेको पार्टी कार्यालय भवन निर्माण, यसका लागि व्यवसायी मीनबहादुर गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गा दान । एउटा मूलधारको पार्टीको भवन निर्माणका लागि जग्गा या दान दिने लिने त नेपालका लागि नयाँ घटना होइन, यद्यपि अहिलेको यस दान दिने र लिने कार्यमा स्वार्थको द्वन्द्व देखिएको भन्दै नागरिक अगुवा, सामाजिक सञ्जालहरुमा चर्को आलोचना भइरहेको छ । यसले पार्टी पंक्तिको समेत अपमान भएको भन्दै एमालेभित्रै विवाद र बहस समेत भइरहेको छ ।

एमालेको पहिलेको भवन भूकम्पले क्षतिग्रस्त बन्यो । त्यसपछि थापाथली हुँदै च्यासल सरेको एमाले पार्टी कार्यालय पटक–पटक डुबानमा परिसकेको छ । यही कारण एमाले जतिसक्दो छिटो पार्टी कार्यालय भवन निर्माण गर्न चाहन्छ, त्यो उसका लागि जरुरी पनि छ । भवन निर्माणका लागि १० करोड रुपैयाँ लाग्ने आँकलन छ । जसमा पाँच करोड संकलन भइसकेको छ । एमालेले बल्खुमा पार्टी निर्माणका लागि भवन निर्माण कोष भनेर बैंकमा अलग्गै खाता खोलेर प्रत्येक पार्टी सदस्यबाट सय रुपैयाँका दरले जम्मा गरिरहेको छ । एमालेका पाँच लाख हाराहारी सदस्य छन् । यसबाहेक एमालेले आत्मनिर्भरताका लागि भनेर पार्टी सदस्य, समर्थक, शुभेच्छुकबाट पाँच हजार बाई पाँच हजार रकम पनि उठाइरहेको छ । यही अनुक्रममा व्यवसायी गुरुङ जोडिएका हुन् । तर, व्यवसायी गुरुङ ललितानिवास प्रकरणका आरोपी मात्र नभई एउटा मुद्दामा दोषीसमेत ठहर भइसकेको व्यक्ति भएकाले स्वार्थको द्वन्द्व देखिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्रीका सल्लाहकार मानिने महान्यायाधिवक्ताको कार्यालयले सरकारका पक्षबाट गुरुङविरुद्धको मुद्दा हेरिरहेको छ । सरकारको नेतृत्व समेत गरिरहेको एमाले नेतृत्वले अहिले पार्टी भवनका लागि जग्गा दान लिनु अनुचित र अपारदर्शी मात्र नभई गैरकानुनीसमेत रहेको र यसले सुशासनमा समेत स्वभाविक प्रश्न उठेको छ । साढे पाँच लाख पार्टी सदस्य र मतका आधारमा सबैभन्दा ठुलो दलको रुपमा स्थापित एमाले र त्यसको मूल नेतृत्व किन यस्तो विवादित र प्रश्नको जानाजान जञ्जालमा फस्न पुग्यो ? साँच्चिकै सोचनीय छ ।

अहिले व्यवसायी मीन बहादुर माथि जे जस्तो आरोप र आलोचना भइरहेको छ । त्यो नेपालका लागि नितान्त नयाँ घटना कदापि होइन । गुरूङ राजनैतिक पार्टीलाई जग्गा र धन दान गर्ने पहिलो ब्यक्ति होइनन् । स्वर्गिय मैयादेवी श्रेष्ठले नेपाली कांग्रेस पार्टीलाई ललितपुरको सानेपामा केन्द्रीय कार्यालयका लागि भवन र जग्गा वर्षौ अघि दानका रूपमा प्रदान गरिन् । माओवादी पार्टी कार्यालय भवन निर्माणमा पनि धेरै व्यवसायीको दान सहयोग जुगाड भएको छ । अन्य पार्टीहरुको पनि दान र सहयोगी मनहरुको सहयोगबाट व्यवस्था भएको छिपेको छैन । मीन बहादुर, मैयादेवी र अन्य हजारौ दानवीर व्यवसायीहरुले आफ्नो गच्छे अनुसार बिभिन्न स्थानका अस्पताल, विद्यालय भवन, बाटाघाटा बनाउन पनि सहयोग गरेका छन् । जुन उनीहरुको स्वतन्त्रताको कुरा पनि हो । व्यवसायी गुरुङ स्वंयम्ले लागेको आरोपमा कानुनको फैसला मान्य हुने दाबी सहित सफा मनले सहयोग गरेको बताएका छन् । तर, अहिलेको दानमा स्वार्थ जोडिएको विषय जे जसरी उठेको छ, स्वार्थको द्वन्द्व र नैतिकताको प्रश्न स्वभाविक छ । त्यसमा एमाले र वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकलाई स्पष्ट पार्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *