बागलुङमा मनाइयो ६९ औं प्रहरी दिवस

आदर्श अनलाइन, बागलुङ
बागलुङमा पनि ६९ औं प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले प्रहरी बिनाको समाज परिकल्पना गर्न नसकिने बताएका छन् । उनीहरुले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको महत्वपूर्ण भूमिका रहने चर्चा गरे ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले समाजका हरेक क्रियाकलापमा प्रहरी जोडिने बताउनुभयो । मनसुन जन्य विपद् जुनसुकै बेला पनि आउन सक्ने हुँदा तयारी हालत रहनु पर्नेमा जोड दिनुभयो । प्रहरीको ठूलो संरचना भए पनि आधुनिक रुपमा अझै प्रहरीलाई विकास गर्न जरुरी हेको उहाँको भनाइ थियो । स्रोत साधनमा कमजोर रहेको प्रहरी सङ्गठनले सीमित स्रोत र साधनमा रहेर काम गर्नु परेको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रहरी संगठन बागलुङका अध्यक्ष टीका बहादुर कार्की, सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्य लगायतले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई समुदायले पनि सघाउने पर्ने बताउनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जनताको जिउधनको रक्षाका लागि नेपाल प्रहरी चौबिसै घण्टा खटिदै आएको बताउनुभयो । प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्न नागरिकको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, विभिन्न खेलकुद कार्यक्रमका विजेता प्रहरीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

ट्राफिक प्रमुख निउरे पुरस्कृत
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन निउरे पुरस्कृत हुनु भएको छ । ६९ औं प्रहरी दिवसको अवसरमा निउरे नगदसहित पुरस्कृत हुनु भएको हो ।

प्रदेश प्रहरी कार्यालय गण्डकीले पोखराले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो । निउरे विगत आठ महिनादेखि बागलुङमा कार्यरत हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा भने प्रहरी सहायक हबल्दार मनोज पौडेल पुरस्कृत हुनु भएको छ । उहाँ प्रहरी चौकी खर्बाङमा कार्यरत हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *