आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पतालमा कार्यरत डाक्टर आशिष सापकोटालाई धम्की दिने डा.नन्दन प्रसाद शाहलाई बर्खास्त गरिएको छ । अस्पताल व्यवस्थापन समिति, प्रशासन र पीडित पक्षहरु बीच शुक्रबार गरिएको छलफल पश्चात उनलाई बर्खास्त गरिएको मेडिकल सुपरिटेण्डेन्ट रविरंजन प्रधानले बताउनुभयो ।
धम्की दिएपछि विवादमा तानिनु भएका शाहले केही दिन अगाडि राजीनामा दिएको भन्दै शुक्रबारको बैठकले बर्खास्त गर्ने निर्णय गरेको प्रधानले बताउनुभयो । डा. शाहले सापकोटालाई दसैँको दिन आक्रमण गर्ने खालको धम्की दिनु भएको थियो ।
डा. शाहले सापकोटालाई धम्की दिएपछि अस्पतालका कर्मचारीहरुले सहकर्मीबाट नै असुरक्षा बढेको भन्दै अस्पताल व्यवस्थापन समिति र मेसुलाई ध्यानाकर्षण गराएका थिए ।
डा.किरण तिवारी सहितको १५ जना चिकित्सक र स्वास्थ्यकर्मीले अतिरिक्त समयमा खटिएका डाक्टरमाथी उल्टै सेवा दिन नसक्ने डाक्टरले धम्काएको भन्दै डाक्टर शाहलाई कारवार्ही गर्न माग गर्दै ध्यानाकर्षण गराएका थिए ।
कार्वाही नभए स्वास्थ्य सेवा ठप्प पार्ने उनीहरुको चेतावनी थियो । स्वास्थ्यकर्मीहरुको चेतावनी पश्चात बसेको सर्वपक्ष बैठकले डाक्टर शाहलाई कार्वाही गर्ने निर्णय गरेको थियो ।