ढोरपाटनमा सिकार र राजश्व बाँडफाडको बहस

सम्पादकीय
मुलुकको एकमात्र सिकार आरक्ष हो ढोरपाटन, जहाँ फेरि यसवर्षको सिकार याम सुरु भएको छ । यस आरक्षमा हरेक वर्ष दुई सिजनमा नाउर, झारल र बँदेलको सिकार खुल्ला गरिन्छ । पहिलो याम असोज–कात्तिक र दोस्रो याम चैत–वैशाखसम्म हुने गर्छ । सोही अनुसार संघीय सरकार मातहतको वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको छ । सिकारका लागि खुल्ला रुपमा टेन्डर आव्हान गरिन्छ । न्यूनतमभन्दा धेरै बोलपत्र बढाबढमा कम्पनीले सिकारको अनुमति प्राप्त गर्ने गर्छन् । महँगो शुल्क तिर्नुपर्ने भएकाले सिकार खेल्नेमा भने सबैजसो विदेशी छन् । अहिले नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार र बँदेलको १० हजार न्यूनतम राजस्व तोकिएको छ ।

सिकारबाट सरकारले हरेक वर्ष उल्लेख्य राजश्व संकलन गर्छ । यस याममा एउटै नाउरको सबैभन्दा बढी १२ लाख ३० हजार बोलपत्र कबोल गरिएको छ । त्यस्तै झारलको सात लाख रूपैयाँ २५ हजार कबोल गरिएको छ । एक करोड ४५ लाख ९२ हजार राजस्व आम्दानी भएको छ । सिकार गर्नका लागि सिकारीलाई १४ देखि २१ दिनसम्मको अवधिमा प्रतिसिकारी ३० देखि ३५ हजार अमेरिकी डलर खर्च गर्छन् । हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जनभन्दा बढी व्यक्तिको सहयोगी समूह आवश्यकपर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो छ । सिकार कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरिएको छ । सिकार खेल्न आउने विदेशीमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, मेक्सिको, फ्रान्स, स्पेन, रसिया, हङ्गेरी, युक्रेन, क्यानडा, जर्मनीलगायत मुलुकका छन् । यसरी सिकार खेल्न आउनेमा उनीहरुको सौखको विषय त हुँदै हो, त्यसबाहेक सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (टाउको, सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान पाउँछन्् । जुन विदेशी प्रतिस्पर्धाहरुमा समेत उल्लेख्य पुरस्कार जित्ने अवसर समेत हुन्छ । विश्वमै प्रसिद्ध यस आरक्षमा आउने सिकारीले भौगोलिक कठिनाइका बाबजुद प्राप्त गर्ने आनन्द अनुपम छ ।

हरेक वर्ष सिकार खुल्ला गर्ने, उल्लेख्य राजश्व संकलन हुने ढोरपाटन सिकार आरक्षको रोयल्टी बाँडफाड र प्रयोगमा भने वर्षौदेखि गुनासो र बहस हुँदै आएको छ । जुन अहिलेको संघीय अभ्यास अनुसारको सरकार स्थानीय तह बन्दा पनि कायमै छ । विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी छ । रुकुमपूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा फैलिएको आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर र दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चराहरू पाइन्छन् । यस हिसाबले पनि आरक्ष महत्वपूर्ण मानिन्छ । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो । अघिल्लो आर्थिक वर्षमा १९ वटा नाउर र ११ वटा झारलको सिकार अनुमति दिइएको थियो । यसबाट कूल चार करोड २६ लाख ८८ हजार सात सय राजस्व आम्दानी भएको विभागको तथ्याङ्क छ । यसरी संकलित राजश्वको केही प्रतिशत स्थानीय तहमा पनि सिधा आउनु पर्ने माग छ । जुन नाजायज कदापि छैन । नजिकको सरकारको हिसाबले ढोरपाटन सिकार आरक्षको संरक्षण, विकास, अनुगमन, उपयोगमा पनि भूमिका महत्वपूर्ण छ । आजको संघात्मक व्यवस्थामा त झन् संघीय सरकारले राजश्व बाँडफाडको न्यायोचित नीति तत्काल अबलम्बन गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *