आदर्श अनलाइन, म्याग्दी
बेनी नगरपालिका–१० पात्लेखेतको बोक्सेका ४५ वर्षिय भविन्द्र पाइजाले बाख्रा पाल्न थाल्नु भएको आठ वर्ष पुरा भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा ४ वर्ष साउदी अरब र त्यस पछि १० वर्ष दक्षिण कोरियामा बिताउनुभएका उहाँले बिदेशको बसाई त्याग्दै आफ्नै थातथलोमा फर्कनुभयो र थाल्नुभयो बाख्रा पालन पेशा । त्यही पेशाबाट अहिले आफ्नो घर ब्यवहार चल्नुका साथै वार्षिक रुपमा तीन देखि पाँच लाख रुपियाँ सम्म बचत गर्न सक्ने उहाँको अनुमान छ ।
वि.सं. २०६० मा बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरेबिया पुग्नु भएका भविन्द्रले चार वर्ष साउदीमै बिताउनुभयो । त्यस पछि नेपाल फर्केर २०६५ सालमा दक्षिण कोरिया जानुभएका उहाँले १० वर्ष कोरियामा बस्दैखेरी नेपालमै आफ्नै केही व्यवसाय गर्ने योजना बुन्नु भएको थियो । कोरियाबाट २०७४ जेठमा नेपाल आउनु भएका उहाँले सोही साउनमा आशिर्वाद कृषि फार्म दर्ता गर्नुका साथै बाख्रा पालन थाल्नु भयो । उहाँ भन्नुहुन्छ–‘विदेशबाट आउनासाथ आन्तरीक तयारी थालेर पहिला फर्म दर्ता गरेँ अनि बाख्रा पाल्न थालेको हो ।’
अहिले पाइजा सँग १० बोखा ७ खसी तथा माउ बाख्रा र पाठापाठी गर्दा ६२ वटा रहेका छन् । बाख्रा बाँधेरै पाल्ने गरेको र आफ्नै बारीमा भएको घाँसले नै बाख्राका लागि प्रयाप्त हुने भएकाले पनि अन्य खर्च समेत नहुने उहाँको भनाई छ । यही दशैंमा मात्रै एक लाख रुपियाँ भन्दा बढी मुल्यको सात वटा खसीबोखा बिक्री गरेको उहाँले सुनाउनुभयो ।
एउटा २० वर्षिया छोरा र बुहारी, १८ वर्षिया छोरी र ४४ वर्षिय श्रीमती होमकुमारी पाइजाले पनि बाख्रा पालनमा दिएको मजबुत साथले आफ्नो बाख्रा पालनको व्यवसाय चलेको उहाँको भनाई छ । बाहिरका कसैलाईपनि काममा राखेको छैन, परिवारकै मान्छेले सबै काम गरेको हुँदा अन्य खर्च पनि नहुने हुँदा बाख्रा पालन आफ्नो लागि फलदायी भएको पाइजाको भनाई छ ।