डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाले खसीबोका बेचेर आत्मनिर्भर बनेका छन् । महिला समूह मिलेर स्थापना गरेको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी र बसन्त सहकारीमार्फत उनीहरुले खसीबोका बच्दै आएका हुन् । सहकारीमार्फत महिलाहरुले वाषिर्क झण्डै चार करोड गाउँ भित्राउँदै आएका छन् ।
पछिल्लो समय युवाको बढ्दो विदेश मोहका कारण गाउँ रित्तिन थालेपछि महिलाहरु एकताबद्ध भएर उद्यमका लागेका हुन् । तंग्राम गाउँका अधिकांश महिला बाख्रा पालनमा लागेका छन् । महिलाहरुले उत्पादन गर्ने खसीबोका सहकारीले विक्री गरि दिने गरेको छ ।
यहाँको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीले वार्षिक दुई करोड र बसन्त सहकारीले एक करोड ९० लाख बढीको खसीबोका विक्री गर्दै आएका छन् । महिलालाई उद्यमसँग जोड्नका लागि स्थापना भएको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीमा ३८० जना र बसन्त सहकारीमा ५६४ जना महिला आबद्ध रहेका छन् ।
सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीले दसैँमा मात्रै ५०० खसीबोका विक्रीका लागि तयार गरेकोमा करिब १०० मात्रै विक्री भएको संस्थाका प्रबन्धक मनु पुनले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष खसीबोकाको माग कम हुँदा धेरै विक्री गर्न नसकिएको उहाँको भनाइ छ ।
पुनले भन्नुभयो – “पोहोर सालको दसैँका बेला पाँच सय बढी खसीबोका विक्री भएका थिए, यस वर्ष धेरै विक्री गर्न सकिएन, यस सहकारी मार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेको ६० वटा खसीबोका विक्री हुने गरेका छ, वार्षिक एक हजारभन्दा बढी विक्री हुन्छ, गाउँका धेरै दिदीबहिनीहरुले निकै मेहनतका साथ काम गर्नु हुन्छ, गाउँका एक÷दुई वटा खसीबोका नभएको घर हुँदैन, अघिल्लो वर्ष वार्षिक करिब २ करोड ४ लाख ४० हजार रुपैयाँको खसीबोका विक्री गरेका थियौँ ।”
पुनले यस वर्ष गाउँमा मंसिर महिनाम पूजा हुने हुँदा त्यस बेला धेरै बोकापाठा विक्री हुने बताउनुभयो । दसैँमा धेरै ठाउँबाट भेडा, च्याङ्ग्रा र खसीबोका विक्री गर्नका लागि बागलुङ ल्याउँदा आफूहरुको उत्पादनले बजार नपाएको उहाँको भनाइ छ । यस सहकारीमार्फत मासिक करिब आठ लाखको खसी बोका बेच्ने पुन बताउनुहुन्छ ।
बसन्त सहकारीकी प्रबन्धक हेमा विश्वकर्माले पछिल्लो समय खसीबोकाले बजार नपाउँदा आम्दानी कम भएको बताउनुभयो । अघिल्लो वर्षहरुमा सहकारीमार्फत हरेक महिना १०० देखि १५० सम्म खसीबोका विक्री गर्ने गरेको भन्दै अहिले ५० को हाराहारीमा मात्रै विक्री हुने उहाँको भनाइ छ ।
पहिले वार्षिक एक हजार ५०० विक्री दुई करोड १० लाख रुपैयाँ गाउँ भित्राउने गरेको भन्दै यस वर्ष करिब दुई करोड मात्रै आम्दानी भएको विक बताउनुहुन्छ । यस वर्षका दसैँका लागि ८०० खसीबोका तयार भए पनि ३०० मात्र विक्री भएको उहाँले सुनाउनुभयो ।
“अहिले बजार खस्किएको छ, पोहोर, परार साल खसीबोकाको माग निकै आउने गथ्र्यो तर अहिले कम मात्रा आउँछ, मूल्य केही बढेको छ, त्यही भएर कम माग आएको होकी” उहाँले भन्नुभयो –“खसीबोका पालनबाट महिलाहरु आत्मनिर्भर बन्नु भएको छ, सानो तिनो खर्चका लागि अरुको मुख ताक्नु पर्दैन ।”