आदर्श अनलाइन, बागलुङ
बागलुङ कालिका मन्दिरमा बडा दसैँको महिना असोजमा रु. ४५ लाख भेटी संकलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरमा रु. ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ ।
वडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी संकलन हुने गरेको छ । दसैँको अवधीमा मात्रै ६० प्रतिशत भेटी संकलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
असोज महिनामा भेटी मार्फत रु. २२ लाख ८० हजार, परेवा बिक्रिबाट रु. ११ लाख ३६ हजार २५०, सटर भाडा रु. ३ लाख ८५ हजार, बोकाको बली शुल्कबाट रु. ४ लाख ४ हजार, चामाल विक्रि ९६ हजार, कुखुरा बली शुल्कबाट रु.३० हजार ८००, राँगा बलीबाट र. १८ हजार ४००, बिबाह शुल्क रु.१० हजार ५००, आर्थिक सहयोग रु. एक लाख ४७ हजार ८७१, पण्डितबाट प्राप्त शुल्क रु. १६ हजार ४०० र ब्रतबन्धबाट रु. ३०० आम्दानी भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
आम्दानीबाट गुठी व्यवस्थापन समितिले असोज महिनाभर विभिन्न शीर्षकमा रु.१३ लाख ९० हजार खर्च भएको जनाएको छ । गुठीका अध्यक्ष कुमार खड्काले दिएको जानकारी अनुसार तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, बिद्युत लगायतमा उक्त रकम खर्च भएको छ ।
चाडवाडको समयमा कालिका मन्दिर दर्शन गर्नेको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । दसैँको अवधीमा मात्रै चार लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्याङ्क रहेको छ । गत चैतै दशैमा मात्रै रु. ४० लाख भेटी संकलन भएको थियो ।