आदर्श अनलाइन, बागलुङ
सहकारी क्षेत्रका समस्या समाधान र नीतिगत सुधार गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी महासंघले ‘सहकारी सवाल सम्बन्धी नीति संवाद’ कार्यक्रमको आयोजना गरेको छ ।
कार्तिक ११ र १२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने कार्यक्रममा सहकारीका मूख्य समस्या, चुनौती र समाधानका उपाय लगायतका विषयमा सरोकारवालाहरुबीच छलफल गरिने महासंघले जनाएको छ ।
कार्यक्रममा सहकारी ऐन नियमावलीमा संशोधनको सवाल, सहकारीमा स्वनियमन र सुशासन ः नियामकीय आवश्यकता, सहकारीको तहगत संरचना, सञ्जालीकरण र सेवामा विविधीकरण तथा सहकारीमा वित्तीय र व्यवस्थापकीय सवाल र सम्वोधन लगायतका विषयमा छलफल गरी समस्या समाधानमा सहजीकरण गरिने महासंघका अध्यक्ष ओमदेवी मल्लले जानकारी दिनुभयो ।
कार्यक्रमको मुख्य उद्देश्य सहकारी क्षेत्रको हालको नीतिगत र कानूनी अवस्थाको समीक्षा गर्दै यसलाई देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा बनाउन आवश्यक सुधारहरू पहिचान गर्नु रहेको उहाँको भनाइ छ ।
विद्यमान कर्जा सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण कोषमा सहकारीलाई समावेश गर्ने तथा सहकारीहरूको नियमन र सुपरिवेक्षण निकाय (एसटीआई) गठन सम्बन्धी विषयमा भएको सहमतिलाई अघि बढाउन यो संवाद अपरिहार्य रहेको महासंघले जनाएको छ ।
कार्यक्रममा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी संसदीय विशेष छानविन समितिले संसदमा प्रस्तुत गरेको प्रतिवेदन उपर गहन छलफल गरिने महासंघ अध्यक्ष मल्लले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । प्रतिवेदनले सहकारी क्षेत्रको नियमनलाई थप प्रभावकारी बदाउन निर्देशन दिएको छ, जसलाई नीति सम्वादमा गहन छलफल गरिनेछ, विज्ञप्तीमा उल्लेख छ ।
‘वर्तमान समयमा बचतकर्ता सदस्यहरूको आन्दोलन, ठगीका घटनामा उच्च पदस्थ व्यक्तिहरूको संलग्नता, ऋण असुलीको समस्या र बचत रकमको दुरुपयोगका घटनाहरू बाहिर आएका छन् । यी विषयहरु मात्र उजागर हुँदा सहकारी अभियानले सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको उपेक्षा भएको छ । समुदायमा आधारित सहकारीका असल अभ्यासहरूलाई समेत कार्यक्रमले उजागर गर्ने महासंघको विश्वास रहेको अध्यक्ष मल्लको भनाइ छ ।
कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू, सहकारी अभियन्ताहरू, नियामक निकायहरू, नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू र सातै प्रदेशका सहकारीकर्मीहरूको सहभागिता रहनेछ ।