कालीगण्डकी करिडोरको बागलुङ खण्डमा कालोपत्र शुरु


खेमराज गौतम, बागलुङ

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अन्र्तगत बलेवा हर्मिचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । उक्त खण्डको बागलुङ स्थित जैमिनी नगरपालिका क्षेत्रबाट कालोपत्र शुरु कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायी कालिका कन्ट्रक्सनले तिब्र गतिमा काम गरिरहेको छ । ४४ किलोमिटर सडक खण्डको समग्र प्रगती ६५ प्रतिशत भएपनि अधिकांश खण्डको पूर्वाधार सकिएर कालोपत्र गर्नमात्रै काम बाँकी रहेको छ ।

करिडोरले समयै भुक्तानी गरेमा चालु आर्थिक वर्षमै करिडोरको ४४ किमि कालोपत्र गरिसक्ने निर्माण कम्पनीको भनाई छ । सम्झौताको २१ महिनामै कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा धमाधम कालोपत्र गर्न थालिएको हो ।

बलेवा–हर्मिचौर सडक खण्ड ११ मिटर फराकिलो बनाएर डिबिएसटी प्रविधि मार्फत कालोपत्र गर्न थालिएको कालिका कन्ट्रक्सनका प्रतिनिधि महेश सुवेदीले जानकारी दिनुभयो ।

दशैं लगत्तै सराङ्गी देखि जैमिनीघाट सम्मको क्षेत्रमा धमाधम कालोपत्र भइरहेको छ । सुवेदीले समयमै भुक्तानी पाएमा सम्झौता अगावै काम सकिने बताउनुभयो ।

“कालोपत्रको थालनी गरेका छौं, हाम्रो खण्ड लामो छ ४४ किलोमिटरमै कालोपत्र सकिन समय लाग्छ तर पूर्वाधार सकिएको खण्डमा कालोपत्र गरेर सक्छौं, बलेवा विमानस्थलदेखि गुल्मी तर्फ कालोपत्र गर्ने हाम्रो योजना छ” सुवेदीले भन्नुभयो “कामलाई छिटो सक्ने जिम्मा करिडोरको हो, रकम भुक्तानी नरोकिए, असारमै ४४ किलोमिटर सडकको कालोपत्र सकेर बुझाउछौं ।”

गत जेठमै ५० प्रतिशत भौतिक प्रगति सम्पन्न करिडोरको समयमै भुक्तानी नपाउदा असोज सम्म जम्मा १२ प्रतिशत प्रगती भएको थियो । निर्माण व्यवसायी कालिका कन्ट्रक्सनले दशैं लगत्तै कामलाई तिब्रता दिएको हो । ३६ महिनामा ४४ किमिको कालोपत्र सक्नेगरी रु.३ अर्ब ३० करोड लागतमा २१ महिना अघि ठेक्का सम्झौता गरेको थियो ।

निर्माण व्यवसायी कालिका कन्ट्रक्सनलाई अघिल्लो आर्थिक वर्षको रु. ५३ करोड भुक्तानी चालु वर्षमा भएकाले यो वर्ष करिडोरलाई बजेट अभाव भएको कालीगण्डकी करिडोर आयोजना कार्यालयका पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताउनुभयो ।

खत्रीले निर्माण व्यवसायीले असार मसान्तमै काम सक्नेगरी आयोजनालाई कार्यसूची पेश गरेको जानकारी दिनुभयो । कार्यसूचि अनुसार काम गरेमा निर्माण व्यवसायीलाई भुक्तानी दिन अर्थ मन्त्रालये बजेट थप्नुपर्ने बताउनुभयो ।

“वर्खामा सडक खुलाउने र पहिरो मात्रै पन्छाउने काम भयो दशैं लगत्तै जैमिनी नगरपालिकाको सराङ्गी खण्ड देखि जैमिनी धाम सम्मको खण्डमा कालोपत्रको काम चलिरहेको छ, मंसिर सम्म कालोपत्रले निरन्तरता पाउछ मंसिर पछि जाडो बढ्ने भएकालो कालोपत्र रोकिन्छ” खत्रीले भन्नुभयो ।

निर्माण व्यवसायीले धमाधम काम गर्दा रु. ५३ करोड गत वर्ष दायित्व सिर्जना भएको थियो, जुन साउनमा मात्रै भुक्तानी गर्न सफल भएपछि निर्माण व्यवसायीले कामलाई तिब्रता दिएको थियो । २०७९ मंसिर २६ गते ३६ महिनामा निर्माण सक्नेगरी कालिका कन्ट्रक्सनले करिडोरको बलेवा हर्मिचौर खण्डको जिम्मा लिएको थियो ।

गैडाकोट देखि मालढुङ्गासम्म २४० किमिको विभिन्न खण्डमा अहिले सडक स्तरोन्नतीको काम भइरहेको आयोजनाले जनाएको छ । बागलुङ सदरमुकामबाट कालीगण्डकी करिडोरले बागलुङको दक्षिण क्षेत्रलाई समृद्ध बनाउने बागलुङको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । शर्माले कालोपत्र सम्पन्न भएमा बागलुङ बजारबाट जैमिनी पुग्न नागरिकले सास्ती खेप्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले बलेवा विमानस्थादेखि मालढुङ्गा सम्मको १० किमि सडक भने कालोपत्रका लागि ढिलाई भएको बताउनुभयो । उहाँले समयमै काम गर्ने निर्माण व्यवसायीलाई बजेट ल्याउन आफूले पहल गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *