स्वास्थ्यमन्त्री कृष्ण पाठकद्वारा धौलागिरी अस्पतालको आकस्मिक अनुगमन

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले आइतबार धौलागिरी अस्पताल बागलुङको आकस्मिक अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।

अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई समेत जानकारी नगराई आकस्मिक रुपमा अस्पताल पुगेका स्वास्यमन्त्री पाठकले विभिन्न विभाग, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अनुगमन गर्नु भएको थियो ।

स्वास्थ्यमन्त्री पाठकले बिरामी र बिरामीका कुरुवा भेटेर स्वास्थ्यकर्मी र सेवा प्रवाहबाट सन्तुष्ट भए नभएको बारेमा जिज्ञासा राख्नु भएको थियो । अस्पतालको बहिरंग सेवा, आकास्मिक सेवा, अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, प्रस्तुती, सुरक्षित गर्भपत सेवा, सुरक्षित मातृत्व सेवा, दन्त सेवा, फार्मेसी, निशुल्क औषधी लगाएतका सेवाहरुको अनुगमन गर्नु भएको थियो ।

डिउटी तोकिएका कर्मचारी खटिए नखटिएको, स्वास्थ्यकर्मीले विरामीसँग गर्ने व्यवहार, फार्मेसीमा औषधीको व्यवस्था भए नभएको विषयमा जिज्ञासा राखेका स्वास्थ्यमन्त्री पाठकले अस्पतालमा देखिएका समस्या केहि दिनमै समधान हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट रविरंजन प्रधानलाई भेट्न खोजेका स्वास्थ्यमन्त्री पाठकले उहाँ विदामा रहेको जानकारी पाएपछि प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डाक्टर किरण तिवारीलाई भेट्नु भएको थियो ।

सोधपुछका क्रममा मेडिकल सुपरिटेण्डन्ट प्रधान विदामा रहेको विषयमा अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत जानकारी नरहेको पाएपछि स्वास्थ्यमन्त्री पाठकले जिम्मेवार चिकित्सकहरुले विदामा रहँदा अन्य जिम्मेवार व्यक्तिलाई जानकारी गराउँन जरुरी रहेको बताउनु भएको थियो ।

आकस्मिक अनुगमनमा आएका स्वास्थ्यमन्त्री पाठकलाई डाक्टर तिवारीले जनगुनासो कम आउने गरि अस्पताललाई थप व्यवस्थित गरेर काम गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *