आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाका चार वडाका सिमान्तकृत महिला तथा युवाहरुलाई घरबास (होम–स्टे) मार्फत रोजगारसँग जोड्न थालिएको छ । युएनडिपी नेपालको आर्थिक सहयोग, काठेखोला गाउँपालिकाको साझेदरी र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको व्यवस्थापना काठेखोला गाउँपालिका–३ को धम्जा, ५ को बिहुँ, ७ को बौर र ८ को लेखानीका महिला र युवालाई रोजगारसँग जोड्न थालिएको हो ।
चार वटा वडामा चार वटा घरबास संचालन गरि महिला र युवालाई जोड्न थालिएको छ । घरबास संचालनका लागि डेभलपमेन्ट फाउण्डेशनले स्थानीयलाई पाक कला तालिमसहित आवश्यक सहयोग गर्दै आएको छ । आइतबार काठेखोला गाउँपालिका–७ स्थित बौर सामुदायिक घरबास संचालकलाई फाउण्डेशनले प्लास्टिक टनेल, प्याकेजिङ मेसिन, तरकारीको बिउ र ड्राइमेसिन उपलब्ध गराएको छ ।
‘इको टुरीजम’मार्फत स्थानीयको जीविकोपार्जनका लागि टेवा पु¥याउन यो कार्यक्रम गरेको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनकी कार्यक्रम प्रबन्धक ममिता पुनले जानकारी दिनुभयो । पुनले घरबास संचालकलाई आधारभूत तालिमदेखि अति आवश्यक सामानसमेत उपलब्ध गराएको भन्दै व्यवस्थित रुपमा संचालन गर्नका लागि सहयोग गर्दै आएको बताउनुभयो । अब लेखानी, बिहुँ र धम्जामा पनि सामग्री उपलब्ध गराउने पुनको भनाइ छ ।
उहाँले भन्नुभयो – “केही समय अगाडि काठेखोलाको चार वटा वडामा घरबास संचालन सम्बन्धी तालिम र पाक कला सिकाएका थियौँ, अहिले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि आवश्यक सामग्री उपलब्ध गराएका छौँ, उहाँहरुले यसको सही सदुपयोग गरि आयआर्जनसँग जोडिनु हुने छ ।”
बौर सामुदायिक होमस्टे होमबहादुर पुन नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनले घरबास संचालनका लागि ठूलो सहयोग गरेको बताउनुभयो । पुनले फाउण्डेशनले दिएको तालिमलाई व्यवहारमा उतार्न थालेको बताउनुभयो ।