डम्मर बुढा मगर, बागलुङ
बागलुङको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज उपाध्याय उमेरले ७४ वर्ष हुनुभयो । घर्कदो उमेरमा पनि उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । काम गर्ने जोस जाँगर पनि युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारै घारले भरिएका छन् । मौरीको घुनुघुन आवाजसँगै सुरु हुने उपाध्यायले दैनिकी बारीमै काम गरेर बित्ने गरेको छ ।
३१ वर्षदेखि निरन्तर मौरी पालनमा लाग्नु भएका उहाँ धेरै किसानका लागि प्रेरणाका स्रोत बन्नु भएको छ । उपाध्यायको बार्दली र बारीमा गरि हाल २०० बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उपाध्यायले वि.स २०५० सालदेखि व्यवसायीक रुपमा मौरीपालन गर्न थाल्नु भएको थियो । तीन दशक मौरी पालन गर्नु भएको उहाँले हाल सुन्तला, ड्रागन र कागतीसमेत खेती गर्न थाल्नु भएको छ ।
उपाध्यायको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेडा र तरकारी देख्न सकिन्छ । उहाँले सुन्तलका ३०० र कागतिका १५० बोट लगाउनु भएको छ । ति विरुवाले विस्तारै फल दिन थालेपछि उपाध्याय हर्षित हुनुहुन्छ । जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रुपमा परिचित मोहराजले फलफूल तरकारीबाटै लाखौँ आम्दानी गर्दै आउनु भएको छ ।
उहाँ अगुवा कृषक मात्र नभई कृषकका प्रशिक्षक समेत हुनुहुन्छ । आफ्नो ज्ञान सिपलाई कैयौँ किसानहरु माझ पु¥याउनु भएका उपाध्यायले गाउँका धेरै किसानलाई मौरी पालनको लागि उत्प्रेरणा भरिरहेका रहनु भएको छ । विदेश जाने इच्छा पूरा नभएपछि सुरु गरेको मौरी पाल्नबाट वार्षिक रु १२ देखि १५ लाख आम्दानी गर्ने उहाँले बताउनुभयो । वर्षमा १२ क्विन्टल मह विक्री गर्दै आएको उपाध्यायको भनाइ छ । मौरी पालनको लामो अनुभव गर्नु भएका उहाँले यस व्यवसायबाट घाटा नहुने बताउनुहुन्छ ।
“विदेश जानका लागि धेरै प्रयास गरेँ, तर सफल हुन सकेन, ३० वर्ष अगाडि त हट्टाकट्टा थिए, जे काम पनि गर्न सक्थे, तर म वैदेशिक यात्रामा जानको लागि असफल भएँ, त्यसपछि मौरी पालन तर्फ लागेँ, बुढेसकालसम्म गर्न सक्ने काम सोँच्दा मौरीपालन राम्रो लाग्यो र मौरी पाल्न थालेको हुँ” उपाध्यायले भन्नुभयो – “मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु, धेरै ज्ञान बटुलेको छु, २७ वटा समुहलाई मैलेनै तालिम दिएँ, कैयौँ किसानहरुले फोनबाट पनि सोधपुछ गर्नुहुन्छ ।”
मह प्रति केजी एक हजार ३०० रुपैयाँमा विक्री हुने हुँदा घरमै आएर धेरैले किन्ने गरेको उपाध्यायले बताउनुभयो । महको माग निकै बढेको हुँदा पु¥याउन नसकेको उहाँको भनाइ छ । कहिलेकाहीँ रोग लाग्ने, केही समस्या हुने भए पनि ठूलो क्षति भने नहुने उहाँको भोगाई छ । मौरी पालनका लागि धेरै शारीरिक श्रम पनि नचाहिने भएकोले सजिलो पेसा रहेको हुँदा बुढेसकालमा पनि गर्न सकेको सुनाउनुभयो । पहाडी क्षेत्र मौरीपालनका लागि निकै उपयुक्त हुने उहाँ बताउनुहुन्छ ।
उपाध्यायले भन्नुभयो – “२०४८ तिर मौरी पालन सम्बन्धी तालिम लिएँ, त्यसपछि व्यवसायीक रुपमा मौरी पाल्न थालेँको हुँ अहिलेसम्म पनि पाल्दै आएको छु, महको माग ठूलो छ, हामीले पु¥याउन नै सकेका छैनौँ, मह उत्पादन गर्न सके अझ धेरै विक्री हुन्छ, गाउँका धेरै युवा यहाँ सम्भावना छैन भन्दै विदेश जान्छन्, पहिले म पनि त्यही सोच्थे तर अहिले मलाई त्यो लाग्दैन, यहाँ थुप्रै सम्भावनाहरु छन्, गर्नका लागि सिप र जाँगर चाहिँदो रैछ ।”
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यवसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोहोत्सान गर्न खालका कार्यक्रमहरु संचालन गरि रहेको बताउनुभयो । किसानलाई आवश्यक अनुदान, मल, बिउ, तालिम र प्राबिधिक सहयोग गर्दै आएको उहाँको भनाइ छ । पछिल्लो समय गाउँमै व्यवसाय गर्न तर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रमहरु ल्याउने गरेको शर्मा बताउनुहुन्छ ।