डम्मर बुढा मगर, बागलुङ
दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारीमा हलगोरुले जोत्ने गरेको भेटिन्थे । खेतबारी जोत्ने हली (बारी जोत्ने जनशक्ति) पनि प्रसस्त हुन्थे । तर हिजोआज जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन् । सीमित खेतबारीमा मात्रै स्किसानले खेती गर्ने छन् । पहिले हल गोरुले जोत्ने खेतबारी अहिले मिनिटेलर (आधुनिक हलो)ले जोत्ने गर्छ ।
युवाको विदेश र सहर बजार मोहका कारण गाउँमा अचेल जनशक्ति पाइँदैन । वृद्धवृद्धाले हल गोरु पाल्न सक्दैनन् । हल गोरु पाल्न छोडेपछि अहिले गाउँमा आधुनिक हलोको प्रयोग बढेको छ । बजार क्षेत्रमा दशक अगाडिदेखि नै आधुनिकको प्रयोग गरेर खेतबारी खनजोत गरिए पनि गाउँमा त्यो सुविधा थिएन । अहिले यो सुविधा गाउँगाउँ र टोलटोलसम्मै पुगेपछि हल गोरु पाल्न छोडिएको हो ।
अहिले ग्रामीण क्षेत्रका किसानले अंगाल्दै आएको परम्परागत खेती प्रणालीसमेत फेरिदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ । जिल्लाको ढोरपाटन, गलकोट, जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला गाउँपालिकाका एउटै परिवारले दशौँ हलसम्म गोरु पाल्ने गरेको पाइन्थ्यो तर अहिले त्यो अवस्था छैन ।
अहिले बारी खनजोत र बाली लगाउने तथा भित्राउने कामका लागि अर्मपर्म गर्ने चलन पनि हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनिटेलर हलो बढी प्रयोगमा आएपछि गोरुले दुई दिनमा सक्ने काम मिनिटेलरले दुई घण्टामै सकिदिन्छ । त्यसले गर्दा किसानको आधुनिक हलोप्रति आकर्षण बढेको गलकोट नगरपालिका ५ का कृष्णबहादुर खत्रीले बताउनुभयो । मिनिटेलर हलोले छिटोछिटो जोत्दा समयको बचत हुने र खर्च पनि कम हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – “पाँच/सात वर्ष पहिला गाउँमा धेरै मान्छे थिए, वरपरका छरछिमेकी भएर अर्मपर्म गथ्र्यौँ, गोरु नपाल्ने कोही हुन्थेन, अहिले त युवा जति विदेश गए, हामी बुढाबुढी भयौँ, गोरु पाल्न सक्ने अवस्था छैन, बजारमा गएर हलो किनेर ल्यायो, गोरुले दिन भरि लगाउने काम एकै छिनमा किन्छ, प्रबिधिले पनि केके बनायो, तर सजिलो चाहीँ भएको छ ।”
निसीखोला गाउँपालिका–४ का मनप्रसाद पौडेलले गोरुले खेतबारी जोत्दा समय लाग्ने भए पनि उत्पादन राम्रो हुने तर मिनिटेलरले छिटो भए पनि उत्पादनमा ह्रास आउने बताउनुभयो । मिनिटेलरले बारी गहिरो गरि नजोत्दा मकै, धान धल्ने गरेको सुनाउँदै पहाडी क्षेत्रमा हल गोरुनै ठिक हुने उहाँको भनाइ छ । पहिले गाउँका हरेक किसानका घरमा न्यूनतम पनि एक हल गोरु हुने गरेको भन्दै अचेल गाउँभरीमा हल गोरु पाउन मुस्किल हुने उहाँ बताउनुहुन्छ ।
“अहिले गाउँमा गोरु पाल्ने किसान निकै कम छन्, पहिले प्रत्येकको घरमा हल गोरु हुन्थे, अहिले मिनिटेलर हलो छ, गोरुले जोत्दा खेतीपाती सप्रिन्थ्यो, उत्पादन राम्रो हुन्थ्यो, तर अहिले धान, गहुँ, मकै कम उब्जनी हुन्छ” उहाँले भन्नुभयो – “सुरुसुरुमा गाउँमा मिनिटेलर आउँदा प्रयोग गरियो, तर उत्पादन घटेपछि अहिले त ओल्लोपल्लो गाउँमा गएर भए पनि गोरु खोजेरै जोत्ने गरेको छु ।”
बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ । अघिल्लो वर्षदेखि नै किसानले रु पाँच हजारका दिन थालेको हो । गत वर्ष नगरपालिकाले ८१ किसानलाई प्रोत्साहन रकम प्रदान गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हाते ट्याक्टर तथा प्रबिधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो – “आधुनिकीकरणको नाममा हाम्रो परम्परागत खेती प्रणालीलाई अन्त्य गर्नु हुँदैन, आवश्यकताको आधारमा हेरेर आधुनिकीकरण गर्ने हो, व्यावसायिक खेती गर्न, शहर बजार नजिकै मिनी टेलर हलो उपयुक्त भए पनि गाउँ–गाउँमा परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो हुन्छ, नगरपालिकाले प्रोत्साहन गर्न थालेपछि किसान पनि खुसी हुनु भएको छ ।”