मन्त्री नै दलालको फन्दामा !

सम्पादकीय
कहिलेकाहीँ मात्र होइन, यो देश कसरी चलिरहेको छ भनेर अलिकति चासो र सरोकार राख्ने आम नेपालीहरुले सहजै अनुमान गर्छन् कि यो देशमा बिचौलिया शक्तिशाली छन् । तिनै दलाल, बिचौलियाले यो देशका सरकार राज्य संयन्त्र चलाइरहेका छन् । हुन पनि स्थानीयदेखि प्रादेशिक र संघीय सरकार, कर्मचारीतन्त्रको कार्यशैली, गतिविधि हेर्ने हो भने त्यस्तै देखिन्छ । त्यो तथ्य र घटनाक्रमहरुले पनि पुष्टि गर्दै आएको छ । यो देशका उच्च पदस्थ कर्मचारी मात्र होइन, नेता, मन्त्री, प्रधानमन्त्री सम्म बिभिन्न काण्डमा मुछिनुका पछाडि त्यही स्वार्थ समूहको भूमिका प्रष्ट देखिन्छ । फलतः अपवाद बाहेक हाल सम्म सरकारको बागडोर सम्हालेका प्रधानमन्त्री, मन्त्रीहरु कुनै न कुनै विवाद र काण्डबाट अछुतो छैनन् ।

यसको पछिल्लो ज्वलन्त उदाहरण हो कोशी प्रदेश, र कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी । जो मन्त्री जस्तो नीतिगत निर्णायक स्थानमा हुँदा हुँदै स्वयंम् दलालको फन्दामा परेका छन् । सोही कारण स्वर्णिम अवसर सहित प्राप्त मन्त्री पद गुमाउन बिबश बनेका छन् । आफ्नो जापान भ्रमण विवादमा परेपछि मन्त्री अधिकारीले बुधबार मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका छन् । एमालेबाट निर्वाचित अधिकारी ४ जेठ २०८१ मा आन्तरिक मामिलामन्त्री भएका थिए । उनले ११ कात्तिकदेखि १५ कात्तिकसम्म जापान भ्रमण गरेका थिए । अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । उनलाई पठाइएको निम्तोमा अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म कार्यक्रमको तालिका थियो । उनलाई जापान जाने व्यवस्थापन मोरङ घर भई काठमाडौ बस्दै आएका एक एमाले कार्यकर्ताले मिलाएका थिए । आफ्नै क्षेत्रका कार्यकर्ताको विश्वास गरेर जापान हिँडेका अधिकारी हङकङ पुगेपछि झस्किएका थिए । हङकङमा ट्रान्जिटको बेला उनीसँगै कार्यक्रममा सहभागी हुन हिँडेको भन्दै तीन जना नेपाली भेट्न आएका थिए । तीनै जनाको साथमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहायक स्तरको कर्मचारीको परिचय पत्र थियो । अवैध रुपमा मानिस ओसार पसार गर्ने समूहले आफूसँगै तीन जनालाई जापान पु¥याउन लागेको थाहा पाएपछि अधिकारी बिलखबन्दमा परे । टोकियो पुगेपछि मन्त्री अधिकारी कुनै कार्यक्रममा सहभागी नभइ नेपाल फर्किएका थिए ।

अरु आम नागरिकलाई ठग्न ठगिन नदिन नीतिगत र कार्यशैलीगत भूमिका खेल्ने कोशी प्रदेशका मन्त्री अधिकारी स्वयंम् आफै दलालको फन्दामा पर्नु दुर्भाग्यपूर्ण कुरा हो । उसो त अहिले अधिकारी दलालको फन्दामा पर्ने पहिलो र नयाँ पात्र होइनन्, उनी जस्ता सैयन शक्तिशाली मन्त्री, प्रधानमन्त्री विदेश भ्रमण र अरु लोभलालचमा पर्दा स्वयंम् दलालको दर्जनौ फन्दामा परेका छन् । मन्त्री जस्तो व्यक्ति यथेष्ट नबुझी विदेश या कुनै कार्यक्रममा सरिक हुने कुराले कति सतही र मोहमा छन् भन्ने देखिन्छ । मन्त्री अधिकारी भाग्यवश मानव तस्करको गम्भिर आरोप र फन्दाबाट जोगिएका छन् । उनै मन्त्री अधिकारीले आफ्नो कमजोरी स्वीकार गर्दै नैतिकताका आधारमा राजीनामा समेत दिएका छन् । नैतिकताको चरम खडेरी रहेको नेपाली राजनीतिमा उनले जुन स्तरको नैतिकता देखाएका छन्, यसले भने उनको राजनीतिमा निष्ठा र उचाइलाई टेवा नै दिनेछ । प्रश्न उठेपछि मन्त्री अधिकारीले जे जसरी राजीनामा दिएर नैतिकता प्रदर्शन गरेका छन्, यस्तो नैतिकता र आचरण अरु नेता, मन्त्री, प्रधानमन्त्रीमा पनि हुन सके त्यसले नेपाली समाज र राजनीतिलाई असल दिशामा अघि बढ्न थप निर्देश गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *