आइशोलेसन अनुभवः ‘कोरोना रोगले भन्दा रोकतोकले गलाउँछ’

सिर्जना पन्त

नाम तेजबहादुर जिसी । ठेगाना बागलुङ नगरपालिका–७ मुलपानी । चैत्र १० गते धौलागिरी अञ्चल अस्पताल आए । लक्षण फिवरको जस्तो उही सामान्य रुघाखोकी र ज्वरो थियो । भारतको पटनाबाट आएको बताए पछि डाक्टर थप सशंकित बने । पटनामा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढि छ । त्यसैले चिकित्सकहरुले सल्लाह गरेर कोरोना सँग लक्षण मिल्ने देखिएकाले स्वाब परीक्षणका लागि काठमाण्डौ पठाउने निधो भए । त्यस यताका चार दिन जिसीका कसरी बिते ? आदर्श अनलाइनकर्मी सिर्जना पन्तले सोधखोज गरेकी छिन् । तीनै जिसीको कोरोना संक्रमण आंशका पश्चातको आइशोलेशनका चार दिनको सकसपूर्ण अनुभव जस्ताको तस्तैः

रोगले भन्दा पनि मान्छेलाई रोकतोक र भेदभावले गलाउँदो रहेछ । आफन्तको व्यवहार, समाजको हेराई र विभेदले मान्छेलाई शरीर जिउदो भए पनि आत्मदेखि मार्ने रहेछ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसरले हजारौलाई मा¥यो, लाखौ उपचाररत हुनुहुन्छ तर अरवौ मान्छेहरु छटपटिमा छन् । साँच्चै मृत्युलाई जितेर बाँच्दाको अनुभुति कस्तो हुन्छ भनेर राजा महाराजाहरुको दन्त्य कथामा पढिन्थ्यो । यो कोरोना भाइसरलाई जितेर निस्केकाहरुलाई पनि त्यस्तै महुशुस भएको छ होला ।

कोरोना संक्रमण भए नभएको पुष्टि गर्नका लागि मेरो शरीरबाट झिकेर पठाईएको स्वाबको रिपोर्ट नआउन्जेल म मान्छेको बचन, साथिभाइको व्यबहार र समाजको तिरस्कारबाट एक्लिए । अहिले मेरो रिपोर्ट नेगेटिभ आएपछि पनि समाज म सँग झस्किएको देख्दा साँच्चै म अर्कै दुनियाँबाट आएको जस्तो महुशुुस गरिरहेको छु । भारतको प्राइभेट कम्पनीमा काम गर्ने म छुट्टी मनाउनका लागि घर आएको थिए । मलाइ पहिले देखिनै टन्सिलको समस्या छ । रातिको बसमा घर आइपुग्दा चिसोले घाटी ठप्पै भएको थियो ।

चेकजाँचका लागि धौलागिरी अञ्चल अस्पताल पुगे । डाक्टरले दिएको औषधीले सुधार भएन । स्वास्थ्यकर्मीसँग फोनमा सल्लाह गर्दा उहाँहरुले कोरोनाको लक्षण देखिएको छ, क्वारेन्टाईनमा बस्नुपर्छ भन्नुभयो । विश्वलाई हल्लाइरहेको कोरोनाको भयले मलाई पनि झसंग बनायो । हुन त भारत देखि घर आइपुग्दा सम्म ठाउँ ठाउँमा शरीरको तापक्रम जाँच गर्दै आएको थिए । त्यसैैले घरी ढुक्क भए, घरी मनको ढुकढुकी बढ्यो । डाक्टरहरुको सल्लाह अनुसार, चैत १० गतेबाट १३ गते सम्म धौलागिरी अञ्चल अस्पताल बागलुङले कोरोना संक्रमणको आशंका गरिएका बिरामीको स्वास्थ्य उपचारको लागि निर्माण गरेको आइशोलेशन कक्षमा विताएर ४ दिनपछि स्वस्थ व्यक्तिको सर्र्टीफिकेट लिई घर फर्किएको छु ।

अस्पतालको आइशोलेसन कक्षमा विताएका चार दिन भन्दा ती चार दिनमा यो समाजले सिकाएको पाठ जीन्दगी भरी अविस्मरणीय हुनेछ । साँच्चै मलाई कोरोना संक्रमण भएको भए मेरो स्वास्थ्य उपचारमा कुनै सुरक्षा बिना खटिएका त्यो धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको अनुहार म कसरी हेर्न सक्थे ? मेरो लागि उनीहरुको त्यो खटाई, उनिहरुले मलाई गरेको व्यवहार र माया सम्झदा अहिले मुटु चिसो हुन्छ, मन झसंग हुन्छ । उनीहरुलाई धेरै धन्यवाद दिन्छु जसले यो समाजले दिएका नाता, सम्बन्ध र आफन्तले भन्दा माथी उठेर मेरो सेवा गरे । मलाई त कोरोना संक्रमण नभएको पुष्टि भयो । साँच्चै विश्वका कुना कुनामा कोरोना संक्रमण भएर पनि निको भएकाहरु यस्तै स्वास्थ्यकर्मीसँग भेट भएका थिए होला ।

अस्पतालको त्यो एउटा कोठा जसका भित्ताहरु चार दिन मेरा साथी बने । त्यस्तो अवस्थामा परिवार र निकटका केही दाजुभाइको बाहेक अरुको साथ मिल्दो रहेनछ । हुन पनि विश्व आतंकित छ, मेरो कारणले समाज र आफन्तहरु यति धेरै आतंकित बनेकी नआएकोे ज्वरो पनि आयो । नलागेको रुघा पनि लाग्यो । अस्पतालको कोठाबाट परिवारका सदस्यलाई भनेको थिए–‘मलाई कोरोना लागेको छैन, टन्सिल भएको हो, डाक्टरहरुको सल्लाह अनुसार यदी त्यस्तो केहि भइहाल्यो भने पनि अरुलाई संक्रमणबाट बचाउनुपर्छ भनेर सुरक्षित बसेको हुँ, मेरो चिन्ता नलिनु ।’

बागलुङ नगरपालिका–८ सिगानाको कोरिखोलामा बाबा आमा बस्नुहुन्छ । म र मेरो परिवार बागलुङ नगरपालिका–७ मुलपानी बस्छौ । भारतबाट फर्किए पछि बा आमा भेट्न कोरिखोला पुगेको थिए । मलाई अस्पतालमा आइशोलेसनमा राखिएको छ भनेर कोरिखोला र चनौटेमा आवत जावत बन्द भएछ । १३ गते घरमा श्राद्ध थियो । मलाई आइशोलेसनमा राखेको थाहा पाएर पण्डितले श्रद्धा गराउन मान्नु भएनछ । उहाँ हाम्रो घरमै आउनुभएनछ । यता मेरो परिवार बसेको ठाउँमा पनि छिमेकी, दाजुभाइहरु मेरो घरमा आउनुभएनछ ।

हिजो म स्वस्थ रहेको, कोरोना संक्रमण नभएको पुष्टि भए पछि घर आए । परिवारका सदस्यहरु नयाँ जीवन पाएर आएको जस्तो गरि खुसी हुनुभयो । विश्वका शक्तिशाली देशहरुमा समेत कोरोना लागेपछि मान्छे मरेको समाचार सुनेका मेरा परिवार र इष्टमित्रहरु मलाई पनि कोरोना संक्रमण भएको पुष्टी भयो भने बाँचेर आउछु भन्नेमा सायद ढुक्क थिएनन् । मलाई कोरोना भएको रहेनछ भन्ने थाहा पाए पछि म बाँचेर आएकोमा त खुशी छन् । त्यो भन्दा बढि मेरा कारणले भाइरस सर्ने पिरले ग्रस्त आफुहरु सुरक्षित भएकोमा खुसी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *