आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–९ तित्याङका वडा अध्यक्ष व्यावसायिक किबी खेतीमा लाग्नुभएको छ । बागलुङ जिल्ला सदरमुकामसंग जोडिएको तित्याङमा तरकारी र सुन्तला पछि किबी खेती गर्न थालिएको छ ।
बागलुङ नगरपालिका–९ तित्याङका वडा अध्यक्ष राजु थापाले लगाएको किबीले तीन वर्षमै उत्पादन दिएको छ । तरकारी र फलफूल खेतीमा अग्रसर भएको तित्याङका वडा अध्यक्षनै फलफुल खेतीमा लाग्नुभएको हो । गाउँका किसानको प्रेरणाको रुपमा काम गरिरहनुभएका थापाले आफूले समेत किबी खेती गरेको बताउनुभयो ।
थापाले खेतमा १०० बोट किबी लगाउनु भएकोमा ६ क्विन्टल किबीको उत्पादन भएको बताउनुभयो । थापाले उत्पादन गरेको किबी बजार लैजाने तयारीमा जुटेको जानकारी दिनुभयो ।
थापाले खेतमा किबी लगाएपनि बारीमा भने कागती र सुन्तला लगाएको जानकारी दिनुभयो । जनप्रतिनिधी भइसकेपछि कोदो र धानखेती गर्न समय व्यवस्थापन गर्न नसकेपछि खेतमा किबी र बारीमा सुन्तला र कागती लगाएको बताउनुभयो ।
२०७८ माघमा लगाएको किबीले यस वर्षबाट उत्पादन दिएको बताउदै बारीमा १५० कागती र ५० सुन्तलाका बोट रहेको बताउनुभयो । थापा २०७९ बैशाखमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
अन्य किसानलाई कृषि कर्ममा लाग्न प्रेरणा दिनका लागि र आफ्नो खेत बारी सदुपयोग गर्न किबी संगै सुन्तला र कागती खेती गरेको वडा अध्यक्ष थापाले बताउनुभयो ।
“तित्याङले बागलुङको तरकारीको बजार धान्दै आएको छ, नजिकमा बजार भएपछि यहाँ सयौ किसान व्यावसायिक तरकारी खेतीमा छन्, पछिल्लो समय सुन्तलाको बजार फष्ठाउन थालेपछि अन्न फल्ने खेतबारी अहिले फलफुल बगैचा विस्तार भएका छन्, तित्याङमा व्यवसायिक रुपमा फर्म दर्ता गरेर किबी खेती गर्ने छ जना किसान हुनुहुन्छ” थापाले भन्नुभयो “वडा अध्यक्ष भएपछि जनताको सेवामा खटिदा घरको खेतीपाती गर्न नसक्ने भएपछि चार रोपनी खेतमा एक सय किबीका बिरुवा लगाएको थिए, तीन वर्षमै उत्पादन हुँदा दंग परेको छु, अरुलाई आत्मनिर्भर बन्न सिकाउनेले आफै गर्दा अनुभव र अन्यलाई प्रेरणा मिल्नेभएकाले कागती र सुन्तला खेती समेत थालेको छु ।”
दैलेखबाट रु. ३३० मा प्रति बिरुवा खरिद गरेर किबी लगाएको बताउनुभयो । वृहत कृषि उत्पादन गर्ने उदेश्यले सामुहिक रुपमा भाइभाई कृषि फर्म समेत सञ्चालनमा ल्याइएको थापाले जानकारी दिनुभयो । वडा अध्यक्ष थापाको बारीमा दुई वर्ष अघि १५० कागती र ५० सुन्तलाका बिरुवा रोपेर अहिले हुर्किरहेका छन् ।
किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गर्नुभएका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाउनुभएको छ । अहिले प्रति केजी २५० देखि ३०० मा किबी बिक्री भइरहेको छ । किबी उत्पादन भएको पहिलो वर्षनै दुई लाख भन्दा बढी रकम आम्दानी गर्ने उहाँले जानकारी दिनुभयो । वर्षमा दुई पटक मात्रै हेरचाह गर्दा किबीबाट आम्दानी गर्न सकिने उहाँको भनाई छ ।
भाइ–भाई कृषि फर्ममा जेठा नरेन्द्र बहादुर थापा, माइलो धन बहादुर थापा, कान्छो राजु थापा र कुमार थापाले पशुपालन र अन्य कृषि क्षेत्रमा लगानी विस्तार गर्ने सोच बनाउनुभएको छ ।
वडा अध्यक्ष थापाले फलफूल र तरकारी विस्तार र विकासमा नगरपालिका प्रदेश र संघबाट नगर भित्र सबैभन्दा बढी लगानी आफ्नै वडामा भएको बताउनुभयो ।
गत वर्ष प्रधामन्त्री कृषि आधुनिकरण परियोजनाको लगानीमा तित्याङको खानी गाउँमा दुई हजार ६०० ओखर १४० रोपनी बाँझो जग्गामा लगाइयो भने अहिले नगरपालिकालेनै पुन किम्बोट क्षेत्रमा ओखर लगाउन रु. १२ लाख बजेट बिनियोजन गरेको छ ।
आफ्नो वडामा गत वर्ष बेमौसमी तरकारी विकास तथा सुन्तला बगैचा विस्तार कार्यक्रममा रु. २० लाख लगानी भइसकेको बताउनुभयो । यहाँका किसानलाई प्लाष्टिक टर्नेल निर्माण गर्न, सुन्तलाका विरुवा वितरण, किबीका बिरुवा वितरण गर्ने र औजार तथा उपकरण खरिद गर्ने कामले किसानमा उत्साह छाएको बताउनुभयो ।
दैलोमै बागलुङ बजार रहेकाले तरकारी र सुन्तलाका लागि बजारको समस्या नभएको बताउनुभयो । चालु आर्थिक वर्षमै तित्याङमा अलैची खेती समेत विस्तार गर्न थालिएको वडा अध्यक्ष थापाले बताउनुभयो ।
अलैची पकेट क्षेत्र विस्तारमा समेत रु.१५ लाख वजेट विनियोजन भएको र ९ नम्बर वडा तित्याङको साविक १, २, ३, ४ र ५ वडामा अलैची खेती थालिनेछ ।