आदर्श अनलाइन, बागलुङ
बिहानै कालीगण्डकी किनारको चिसो सिरेठोमा गौरीधाम भजन कृतन समूहको भजन चलिरहेको थियो । कालीगण्डकीको महिमा समेटिएको भजन सुनेपछि कालीगण्डकी नदीमा एकादशीको दिन स्नान गर्न पुगेका भक्तजनहरु समेत भजनमा पुगेर छम छम नाच्न थालिएको थियो ।
कालीगण्डकी किनारमा एकादशी मेला २४ वर्षपछि पुन शुरु भएपछि माहोलै फेरिएको थियो । मेलामा भजन कृतन, तोरण तार्ने र दीप प्रज्वलन गर्ने काम गरिएको छ । आज बिहानै देखि बागलुङ नगरपालिका–४ स्थित कालीगण्डकीको निरयघाटमा छुट्टै रौनकता छाएको थियो ।
पश्चिम क्षेत्रको ठूलो मेलाको रुपमा लिइएको हरीबोधनी एकादशी २४ वर्षपछि व्युताइएको छ । २४ वर्ष अघि बन्द भएका मेला आज व्युताइएको छ ।
एकादशीको दिन बागलुङ स्थित निरयघाटको कालीगण्डकी किनारामा भजन गुन्जिएको छ भने १०८ मिटर लामो तोरण तारिएको छ । मेलामा पाँच लाख दिप जलाइएको छ । कालीगण्डकीमा स्नान गरेर मात्रै घर फर्कने भक्तजनहरुले यस पटक भजनमा नाच्न पाएका छन् । शान्ति सुरक्षा र द्वन्द्वका कारण लोप भएको मेला यहाँका स्थानीयले २४ वर्षपछि व्युत्याएपछि खुसी लागेको कालीगण्डकी नदीमा स्नान गर्न पुग्नुभएको गोमा बास्तोलाले बताउनुभयो ।
हजारौंले नागरिकले डोलामा तोरण बोकेर मेलामा लगिने र हरी बोधनी एकादशी मेलाको अवसरमा कालीगण्डकीमा तार्ने काम गरिने भएपनि उक्त परम्परा २४ वर्ष यता हुन सकेको थिए ।
यहाँको चैते दशैं भन्दा ठूलो मेलाको रुपमा परिचित हरिबोधनी एकादशी मेलालाई यहाँका अगुवाहरुले यस वर्षदेखि सञ्चालनमा ल्याइएको हरिबोधनी एकादशी मेला संरक्षण समिति बागलुङले जनाएको छ । यस वर्ष मेला संरक्षणका लागि उमेश राजभण्डारीको अध्यक्षतामा मेला संरक्षण समिति गठन गरिएको थियो ।
राजभण्डारीले कालीगण्डकी किनार निरयघाटमा हरी बोधनी एकादशी मेला लगाएर संस्कृतिको संरक्षण गर्न थालिएको बताउनुभयो । “बन्द भएको मेला पछिल्लो समय स्नान मात्रै गरेर फर्कने चलन थियो, यस पटकबाट हामीले भजन कृतन सहितको मेला लगाएका छौं, आगमी वर्ष झनै व्यवस्थित बन्ने छ” राजभण्डारीले भन्नुभयो “२०५७ सालमा जिल्ला प्रशासनलेनै शान्ति सुरक्षालाई लिएर मेला लगाउन बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न नसकेको हो, एकादशीसंग जोडिएको मेलालाई संरक्षण गर्नु हामी सबैको दायित्व हो, एकादशीको दिन कालीगण्डकीमा नुहाउन जाने परम्परा रहेपनि संस्थागत रुपमा मेला लगाउन थालिएको छ ।”
बाबियो र कुशबाट बनाइएको १०८ मिटर भन्दा बढी लामो तोरणलाई बाजागाजा सहित डोलीमा राखेर कालीगण्डकी किनरा पु¥याएर तालिएको छ । २०५७ साल अघि एक युवाको छुरा प्रहार गरी हत्या प्रयास समेत भएपछि रातीमा लाग्ने एकादशी मेला क्रमश हराउदै गएको थियो । रातभर जाग्रम बसेर भजन कृतन गर्ने र बिहान कालीगण्डकी स्नान गर्ने तोरण तान्ने र पुजा अर्चना गर्ने, किनमेल गर्ने हरीबोधनी एकादशी मेलालाई व्युताइएको हो ।
आरती बाचक तथा गायक रमेश खड्काले पुखौदेखि लाग्दै आएको बागलुङको हरी बोधनी एकादशी मेला नेपालकै ठूलो मेला मेध्यको एक रहेको बताउदै संरक्षण्को प्रयास थालिएको बताउनुभयो । मेलाको अवसरमा कालीगण्डकी पुजन, कालीगण्डकी सरसफाई र दिप समेत प्रज्वलन समेत गरिएको र आगमी वर्ष मेलालाई थप व्यवस्थित बनाइने खड्काको भनाई छ ।
उहाँले टिस्टा र बागलुङमा लाग्ने एकादशी मेला नेपालकै ठूलो मेला भएपनि विगत २४ वर्ष यता लाग्न छोडेको बताउनुभयो । सोमबार तोरणलाई शोभायात्रा सहित बागलुङ बजार परिक्रर्मा गरिएको थियो ।
मेला, धार्मिक पुजा, तोरण तान्ने लगायतका क्रिर्याकलापहरु पुन सञ्चालनमा ल्याइएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । बागलुङका सरोकारवाला निकायले ऐतिहासिक हरीबोधनी एकादशी मेला संरक्षणमा ध्यान दिन थालेको कँडेलको भनाई छ । कँडेलले आफ्नो धर्म, संस्कृति र परम्परालाई आगमी दिनमा पर्यटन संग जोड्नका लागि मेलाले सहयोग गर्ने छ ।