डम्मर बुढा मगर, बागलुङ
गोठाला बेसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । चिसोका कारण गोठालाले वस्तुभाउ बेसी झारेपछि बुकीपाटन सुनसान बनेका हुन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढेको बुकीपाटन अहिले उराठिलो बनेको हो ।
नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाईमा पर्दै गए पनि चिसोका कारण अहिले बुकी जानेको संख्या शून्य जस्तै छ । असार, साउन, भदौ र असोज महिनामा करिब तीन हजारको हाराहारीमा पर्यटक बुकीपाटन पुगेको ढोरपाटन नगरपालिका–९ का गंगा पुनले बताउनुभयो ।
बर्खामा चारै तिर हरियाली, उत्तरतिर हेताम्य हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथन हेर्नका लागि पर्यटक पुगे पनि अहिले निकै चिसो हुन थालेपछि बुकीपाटन सुनसान भएको उहाँको भनाइ छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष तेब्बर बढी पर्यटक बुकीपाटन पुगेको भन्दै अब चिसो याम सकिएपछि बल्ल चहलपहल हुने पुन बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “अहिले त सुनसान छ, कोही छैनन् बुकीमा, मिडियाका कारण ओझेलमा रहेको बुकीपाटन चर्चामा आउन थालेको छ, निकै मनमोहक रहेको बुकीपाटनमा विदेशी पर्यटक ल्याउन सके यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो, ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्ने पदमार्गसहित अन्य पूर्वधार निर्माण गर्न सके धेरै पर्यटकलाई बुकी पु¥याउन सकिने थियो ।”
समुन्द्री सतहदेखि २९ सयदेखि ४५ सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बास स्थान हो । बर्खाको समयमा यहाँ सयौँको संख्यामा गोठालाहरु अस्थायी गोठ बनाएर बसेका हुन्छन् । उनीहरुको हजारौँ भेडाबाख्रा, गाईभैँसी हुन्छन् । बर्खाको समयमा बढी चहलपहल हुने बुकी क्षेत्र हिउँदमा भने सुनसान हुन्छ ।
ढोरपाटन उपत्यकाका होटल व्यवसायी धिरेन्द्र घर्ती मगरले बर्खा याममा बुकी पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमश्रृङ्खलाको दृश्यावलकन गर्न भन्दै अहिले बुकीमा कोही नहुँदा सुनसान रहेको बताउनुभयो । बुकीमा जाने अधिकांश पर्यटकले नजिकबाट गोठालाको जनजीवन देख्न र अनुभूति गर्न पाउने उहाँको भनाइ छ ।
“बुकीपाटन घुम्नका लागि उपयुक्त समय बर्खा यामनै हो, यो बेला बुकी पुग्ने पर्यटकहरु धेरै दिन उतै बिताउने गर्छन्, त्यो ठाउँ जति हे¥यो, उति हेरौँ, हेरौँ लाग्ने छ,” घर्ती मगरले भन्नुभयो – “यो याम बुकीपाटनमा कोही पनि जाँदैनन्, धेरै बस्ने गोठालाहरु हो, उहाँहरु अहिले गाउँको बारीमा गोठ हालेर आफ्ना वस्तुभाउ राख्नु भएको छ ।”
बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउराली लगायत थुप्रै ठाउँ पर्छन् । बुकीपाटन पुग्ने पर्यटक गोठालाको गोठमा बास बसेर फर्किने गर्थे ।