आदर्श अनलाइन, म्याग्दी
बेनी नगरपालिका–९ नेप्टेचौर पुग्नका लागि स्थानीय बासिन्दाले बेनीदेखि पोखरा पुग्ने जति भाडा तिर्नु पर्ने गरेको गुनासो गरेका छन् । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिक अवधिमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी आयोजनारेको सार्वजनिक सुनुवाईमा सर्वसाधारणले उक्त गुनासो राखेका हुन् । बेनी नगरपालिका–९ नेप्टेचौरका स्थानीय युवा राजु परियारले नेप्टेचौर देखि बेनी पुग्नु र बेनी देखि पोखरा पुग्नुको गाडी भाडा उस्तै उस्तै भएको भन्नु भएको थियो ।
बेनी नगरपालिका–९ नेप्टेचौरमा बेनी नगरपालिकाले प्रथम चौमासिकको सेवा प्रवाह तथा विकास निर्माण सम्बन्धी आयोजना गरेको सार्वजनिक सुनुवाइमा विचार राख्ने अधिकांश सर्वसाधारणले सडकमा भाडादर समायोजन नहुँदा समस्या भएको गुनासो राखेका थिए । बेनीदेखि नेप्टेचौर पुग्ने सडक स्तरोन्नती भएको भए पनि त्यहाँ गुड्ने सवारी साधनको भाडदर समायोजन नहुँदा सर्वसाधारण मर्कामा परेको बताएका थिए ।
चालु आर्थिक वर्षको प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बेनी नगरपालिका–९ घतानका बुद्धिबहादुर चोखाल, डेकबहादुर चोखाल, राजु परियार, लगायतले बेनी–पाखापानी सडकको घतानको सिमानासम्म कालोपत्रे तथा ढलान भएपनि बेनी आउन जान दुई सय रुपैयाँ भाडा पुरानै लिने गरेको गुनासो राख्नु भएको थियो ।
योजना निर्माणलाई गुणस्तरीय बनाउन, बस्ती स्तरका सडक स्तरोन्नतिमा प्राथमिकता दिन, योजना छनौट र कार्यान्वयनमा जनसहभागिता बढाउन, आन्तरिक आम्दानीको स्रोत पहिचान गर्न, जोखिमयुक्त विद्युतको तार हटाएर विद्युत आपुर्ति गुणस्तरीय तथा नियमित बनाउनु पर्ने माग राखेका थिए । त्यस्तै पशुपालक कृषकका कार्यक्रमलाई प्रभावकारी बनाउदै व्यवसायीक कृषकको जीवनस्तर उकास्ने खालको कार्यक्रम गर्न सुझाव दिएका थिए । खेतीयोग्य जमिन बाँझिने, गाउँघर रित्तिने र झाडीको तप्केनीले खेतीबालीमा असर पुगेको गुनासो गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पूर्व वडा अध्यक्ष बेलबहादुर चोखाल, स्थानी युवा बिपिन चोखाल, गोरी दर्जी, रेशम राई, चक्रपाणी सुवेदी, मोहन चोखाल, बिजय चोखाल, वुद्धीबहादुर चोखाललगायतले पनि नगरपालिकालाई आफ्नो सुझाब राख्दै गुनासो गर्नुभएको थियो ।
नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष चक्र केसी, पूर्वाधार शाखाका प्रमुख ईञ्जिनियर सुदिप गौतम, पशु सेवा शाखाका प्रमुख डा.आशिष सापकोटा लगायतले जनताको प्रश्नको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले सडक स्तरोन्नतिसँगै भाडादर समायोजनका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीसँग समन्वय भै रहेको बताउनुभयो । त्यस्तै बेनी–पाखापानी सडकको घतान खण्डको स्तरोन्नतिको काम प्राथमिकताका साथ भइरहेको, पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान दिने गरेको, नयाँ सडक मार्ग नखोल्ने र पुराना सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले सिकाई उपलब्ध बृद्धिका लागि कक्षा ८ को परिक्षा सञ्चालनमा नयाँ अभ्यास थालीएको बताउनुभयो । उहाँले भन्नुभयो –‘कक्षा ४ देखि माथि सबै कक्षाको प्रश्नपत्र नगरपालिकाले नै बनाउने र कक्षा ५ र ८ को उत्तरपुस्तिका परीक्षण र नतिजा पनि नगरपालिकाले नै निकाल्ने गर्छ ।’
ग्रामिण भेकमा भएका बिजुलीको नाङ्गो तार हटाएर एबिसी केबुल राख्न प्राथमिकताका साथ काम भै रहेको नगरप्रमुख केसीको भनाई थियो । विद्युतको जोखिमयुक्त तार र पोलको अवस्थाका जानकारी गराउन आग्रह गर्दै त्यसलाई परिवर्तनको काम तत्काल गरिने बताउनुभयो । सवारी साधनले अस्वभाविक भाडा लिएको हुन सक्ने भएकाले नै अटो रिक्सा थप गर्न र रुट परमिटको दुरी बढाउने तयारी गरेको बताउनुभयो ।
नगर उपप्रमुख ज्योती लामिछानेले आयआर्यजनमा जोडेर गाउँमै बस्ने वातावरण बनाउन जोड दिएको, योजनाहरुको गुणस्तरीय अनुगमनका लागि विगतका वर्षमा अन्य कार्यालयबाट उपकरण लिने गरिएकोमा यसपाली नगरपालिका आफैले ब्यवस्था गर्न लागेको, सामाजिक शसक्तिकरणको क्षेत्रमा पनि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले चालु आर्थिक वर्षमा ७३ करोड १० लाख ९८ हजार रुपैयाँ कुल बजेट बिनियोजन भएकोमा चालु तर्फ २२ दशमलब ८ र पुँजीगत तर्फ दुई दशमलब ४९ प्रतिशत गरी कुल १६ दशमलब ९४ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । ठूला आयोजनाहरुको ठेक्का सम्झौता भएको भए पनि रकम भुक्तानी नभएकोले खर्च कम देखिएको उहाँको भनाई थियो ।
नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिकसम्म विभिन्न २१ वटा शिर्षकमा ८० लाख २७ हजार १८ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । यस वर्ष नगरपालिकाले दुई सय ७१ वटा योजनाहरु कार्यान्वयन गर्न बजेट बिनियोजन भएकोमा हालसम्म १७ वटा योजनाहरु सम्पन्न भै सकेका छन् भने ४७ वटा सम्झौता भएर दुई सय २४ योजनाहरु सम्झौता हुन बाँकी रहेका छन् ।
नगर उपप्रमुख ज्योती लामिछानेको अध्यक्षता, बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीको स्वागत र प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।