सम्पादकीय
नेपाली सिनेमा बजार खुम्चिदोँ अवस्थामा पुग्दै थियो । चलचित्र हलमा नेपाली फिल्म हेर्न पुग्नेको संख्यामा उल्लेख्य ह्रास थियो भने अर्को तर्फ हल सञ्चालकहरु ऋणात्मक बन्दै देशका धेरै चलचित्र हलहरु बन्द गराउन बिबश बन्दै थिए । त्यसको उदाहरण खोज्न धेरै दुर जानु पर्दैन, हाम्रै धौलागिरीको बागलुङ स्थित कालीगण्डकी चलचित्र मन्दिर होस् या पर्वतको सिद्धेश्वर चलचित्र मन्दिर होस् या म्याग्दीको बेनी बजारमा सञ्चालित चलचित्र हल होस् । सबै बन्द भइसकेका छन् । अहिले नेपाली कथानक चलचित्र ‘पूर्णबहादुरको सारंगी’ ब्लकबस्टर बन्दै गर्दा धौलागिरीमा चलचित्र बजार कुन अवस्थामा पुगेको रहेछ भन्ने प्रष्ट देखिएको छ । हल बन्द भएका कारण अहिले पर्वत र म्याग्दीका चलचित्रप्रेमी बागलुङको बिएसआर मूभी हलमा धाइरहेका छन् ।
०६८ सालमा रिलिज भएको चलचित्र ‘लुट’ व्यावसायिक रूपमा सफल चलचित्र मानिन्छ । यसअघि नेपाली चलचित्रको व्यापार चौपट थियो । चलचित्र निर्माता संघले नेपाली सिनेमा उद्योगमा संकटकालको तयारीसमेत गरेको थियो । ‘लुट’ले सुतेको चलचित्र क्षेत्रलाई ब्युँझाएको थियो । ‘लुट’पछि ‘कोहिनुर’, ‘कबड्डी’ सिरिज, ‘छक्कापन्जा’ सिरिजि, ‘जात्रा’, ‘पशुपति प्रसाद’, ‘प्रेमगीत’, ‘जात्रैजात्रा’, ‘ए मेरो हजुर ४’, ‘महापुरुष’, ‘शत्रुगते’, ‘जारी’लगायत चलचित्र व्यावसायिक रूपमा सफल भए । ऋहिले चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले स्वदेशी बजारमा आक्रामक व्यापार गरिरहेको छ । शनिबारसम्म यो चलचित्रले ३२ करोड कमाइ (ग्रस कलेक्सन) गरेको वितरकको दाबी छ । यद्यपि, विकास बोर्डले ‘पूर्णबहादुरको सारंगी’को बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छैन । अहिले पनि चलचित्रले देशभर चार सयभन्दा बढी सो पाइरहेको छ । केही दिनअघि दर्शकको चाप धान्न नसकेर बिहान ४ः४५ देखि राति ११ः५५ सम्मको सो समेत राखियो । यो चलचित्र क्युएफएक्स चेनको हलमा सबै हाउसफुल बन्यो । हलमा बुढापाकादेखि कहिल्यै नआएका दर्शक पनि हेर्न पुगे । अधिक सो पाउने हिन्दी फिल्म समेत यस अवधिमा फिक्कास सावित भएको छ । यो नेपाली चलचित्र इतिहासमै दुर्लभ परिघटना हो । चलचित्र विकास बोर्डको बक्स अफिसको तथ्यांकअनुसार दुई वर्षअघि रिलिज चलचित्र ‘कबड्डी ४’ को कमाइ २१ करोड ३८ लाख छ । उसो त यही अनुक्रममा दसै तीनवटा चलचित्र प्रदर्शनमा आए मध्ये ‘छक्कापन्जा ५’ र ‘१२ गाउँ’ले बक्स अफिसमा आक्रामक व्यापार गरे । ‘१२ गाउँ’ले २६ करोड पाँच लाख र ‘छक्कापन्जा– ५’ले चार हप्तामा १९ करोड ८१ लाख कमाइ गरेको दाबी गरेका छन् । जितु नेपाल मुख्य भूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साव’ र १७ असोजमा प्रदर्शन भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले दर्शकको राम्रो साथ पायो ।
‘पूर्णबहादुरको सारंगी’ नेपाली चलचित्रको इतिहासमा एक मानक चलचित्रमा दर्ज भयो । जसका अनेकन कीर्तिमान बनेका छन् । एउटा बुबाको आफ्नो सन्तानको सफलता र खुशीका लागि गर्ने संघर्षको कथाबाट आजको नयाँ पुस्तालाई यथेष्ट पाठ सिक्न र मनन गर्न यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ । सबै भन्दा ठुलो कुरा सुस्ताएको नेपाली चलचित्रलाई उत्साहित बनाउने गरि फराकिलो बजार र सम्भावना स्पष्ट रुपमा देखाइदिएको छ । नेपाली समाजको यथार्थ कथाहरुलाई दृश्य भाषामा सुन्दर ढंगले प्रस्तुत गर्न सके अभूतपूर्व साथ मिल्छ भन्ने देखाएको छ । हलहरूमा देखिएको ठेलमठेलले राम्रा सिनेमा बनाउन सके दर्शक हलसम्म आउँछन् भन्ने प्रमाणित पनि गरेको छ । दर्शकको अपार साथसँगै गएका तीन महिनामा स्वदेशी सिनेमाले ऐतिहासिक व्यापार गर्नु सुखद कुरा हो । यसले नेपाली फिल्मका लागि हलमा दर्शक आउने वातावरण बनेको छ । यो उत्साहित माहोल र बजारलाई बचाएर लैजानुपर्छ । आइरहेका दर्शकलाई हलसम्म ल्याउन फिल्ममेकरले राम्रो फिल्म बनाउन मेहेनत गर्नुपर्छ ।