आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनी नगरपालिकामा चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
वडा नम्बर ८ को छिस्तीम सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलले प्रथम चौमासिकमा नगरपालिकाले गरेका कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
भुजेलले मंसिर महिना भित्र योजना सम्झौता गर्ने, निर्माण गरिएका कानुन, विभिन्न कार्यक्रम र बजेटका विषयमा जानकारी गराउनु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा रघुनाथ पौडेल, केशवराज दर्जी, लक्ष्यबहादुर पुन, टेक बहादुर रायमाझी, नौरूपी पुन, सन्तबहादुर रायमाझी, दयाराम शर्मा, ओमकार पौडेल, डिलबहादुर श्रीष, भोजराज शर्मा पौडेल, डिलबहादुर दमै लगाएतले जनप्रतिनिधि र कर्मचारी प्रति प्रश्न तथा जिज्ञासा राखेका थिए ।
उनिहरुले ग्रामिण सडकको स्तरोन्नती नहुँदा दैनिक सडक दुर्घटना बढेको, स्थानियले उत्पादन गरेका उपजले बजार नपाएको, कृषि प्राविधिक नहुँदा कृषकलाई सास्ती भएको, दैनिक बसाइँसराइ बढेको, बाँदर पार्क निर्माणको काम अगाडी नबढ्दा बजेट फ्रिज भएको, सहज स्वास्थ्य र शिक्षामा सहज पहुँच नभएको लगाएतका प्रश्न उठाएका थिए ।
नागरिकले उठाएका प्रश्नको जवाफ दिदै जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले प्रतिवर्ष नगरपालिकाको राजश्व कम संकलन हुँदै गएको भन्दै चालु आर्थिक वर्षमा राजश्व सुधार रणनीति तयार गरेर काम गर्न थालिएको बताउनु भएको थियो ।
नगरपालिकामा राजश्व कम संकलन हुनु, संघ र प्रदेशबाट आउने बजेट समेत कम हुँदा जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको उहाँको भनाई थियो । बसाइँसराई जैमिनीको सबैभन्दा ठुलो चुनौती भएको भन्दै उहाँले नगरपालिकाले नागरिकको स्वास्थ्य र शिक्षाको सम्पूर्ण जिम्मा नलिए यो क्रम अझै बढ्ने बताउनु भयो ।
‘बसाइँसराई जैमिनीको मात्र होइन्, राष्ट्रिय समस्या हो,’ पुनले भन्नुभयो ‘नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारीको सम्पूर्ण जिम्मेवारी सरकारले नलिए यो क्रम रोकिदैन्, तत्काल यो समस्या समाधान गर्न नगरपालिकासँग प्रयाप्त बजेट छैन ।’
उहाँले बसाइँसराई बढ्दै जाने र राजश्व कम हुँदा जैमिनी नगरपालिकाको अस्तित्व समेत संकटमा परेको बताउनु भयो ।
नगरपालिका हुनका लागि हमाली जिल्लाको पहाडी क्षेत्र तथा पहाडी जिल्लामा कम्तीमा चालीस हजार जनसंख्या हुनुपर्ने भएपनि जैमिनी नगरपालिकाको जनसंख्या घट्दै ३१ हजार ४ सय ३० रहेको र पाँच वर्षको औसत वार्षिक आम्दानी न्यूनतम तीन करोड हुनुपर्ने भएपनि जैमिनी नगरपालिकाको गत आर्थिक वर्षको आम्दानी १ करोड २३ लाख मात्र भएको हुँदा यसलाई वृद्धि गर्न नसके नगरकै अस्तित्व संकटमा पर्ने नगरप्रमुख पुनले बताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बालमैत्री नगरपालिका, लिड विद्यालय, जैमिनीकी छोरी, जग्गा वर्गिकरण, सडक विकास गुरूयोजना जस्ता केही कार्यक्रम सुरु गरिएको र केही कार्यान्वयनको चरणमा रहेको बताउनु भएको थियो ।
उहाँले कृषि उत्पादनका आधारमा कृषकलाई अनुदान विरतण गरिने बताउनु भएको थियो । जनप्रतिनिधि, कर्मचारी, उनिहरुको काम गर्ने तौर तरिका, सेवा प्रवाहका विषयमा गुनासो, सुधार गर्नुपर्ने विषय र राम्रा पक्षका बारेमा पिपुल्स मिडिया एण्ड रिसर्च सेन्टरले जैमिनी नगरपालिकाका नागरिकसँग प्रश्न सोधि तयार पारिएको सन्तुष्टी सर्वेक्षण पत्रकार नारायण रिजालले प्रस्तुत गर्नु भएको थियो ।
जैमिनी नगरपालिकाको आयोजना तथा पिपुल्स मिडिया एण्ड रिसर्च सेन्टरको सहजिकरणमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव सिर्जना पन्त, पत्रकार प्रकाश बराल र अर्जुन कार्कीले तयार पारेको टिप्पणी पत्रकार बरालले प्रस्तुत गर्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम सहिजकरणमा सहजताका लागि पत्रकार संगम घर्तीले आचारसंहिताका बारेमा जानकारी गराउनु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रम संस्थागत विकास तथा सुशासन समतिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष प्रेम प्रसाद सापकोटाको अध्यक्षता, वडा नम्बर ८ का वडा अध्यक्ष विमल श्रीष रानाको स्वागत तथा नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्यको सहजिकरणमा सम्पन्न भएको थियो ।