आदर्श अनलाइन, बागलुङ
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक दैनिक दैनिक रुपमा मर्मत गरिने भएको छ । निर्माणधिन बेनी–जोमसोम सडक स्तरोन्नतिका लागि भन्दै आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म दैनिक ६ घण्टा पूर्ण रुपमा सवारी आवागमनमासमेत विकल्प खोजेर मर्मत गरिने भएको हो ।
पर्वतका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलको अध्यक्षतामा पर्वत र म्याग्दीका सम्वन्धित स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि एवं सरोकारवाला निकाय सम्मिलित आइतबार पर्वतको कुश्मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।
‘रोकिएको कामलाई गति दिन हामीले सम्बन्धित निकायलाई समेत निरन्तर निर्देशन दिइरहेका छौ, सडक बन्द मात्रै होइन परिणाम देखिने गरी कामको समेत अनुगमन हुन्छ’ प्रजिअ ढकालले भन्नु्भयो । म्याग्दी र मुस्ताङबाट दैनिक चल्ने सवारीसाधनको चापका कारण देखाउँदै ठेकेदारले बेनी–जोमसोम–कोरला) सडक आयोजनाले सडक बन्दका लागि अनुरोध गरेको थियो । उक्त सडकको बिकल्पका रुपमा बागलुङ बेनी सडक पनि रहेको हुनाले सडक मर्मतको समयमा अर्को सडक प्रयोग गर्न यातायात व्यवसायीलाई आग्रह समेत गरिएको छ ।
चीन भारत जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर अन्तरगत पर्ने उक्त सडकमा पर्वतको मालढुंगादेखि बेनीसम्मको निर्माणधिन सडकखण्डमा बेस प्रिपेमेन्टमा प्राईम कोर्ड स्प्रे गर्ने र सडकको चेनेजमा पत्थरलाई फोर्ने लगायतका निर्माणकार्यमा समन्वय र सहजीकरणका उल्लेख समयसम्म सडक आवागमनमा टाईमकार्ड लागु गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
कुश्मा नगरपालिका—१ मालढुंगादेखि जलजला गाउँपालिका ८,७,४ र ३ वडा हुँदै बेनी जोड्ने १३.८ किमी दुरीमा २ लेनको कालापेत्र सडक स्तरोन्नतिकार्य भईरहेको छ । उक्त सडक बन्दको समयमा मालढुंगा, बागलुङबाट रत्नेचौर हुदै बेनीको सडक प्रयोग गर्न सकिन्छ । ठेकेदारको ढिलासुस्ती र आयोजना पक्ष निरिह हुदाँ २०७७ साल चैत्र महिनामा ५२ करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन । सडक निर्माणका लागि भन्दै यसअगाडी समेत पटकपटक सडक नै बन्द गर्ने गरिएको भए पनि सडकले पूर्णता पाउन सकेको थिएन ।