सम्पादकीय
आजको समय आधुनिक प्रविधि र डिजिटलमय छ । प्रविधिको तिव्रतर विकास अनुसार आफुलाई समय सापेक्ष बदल्न नसके धेरै पछि पर्नु पर्ने र सास्ती खेप्नुपर्ने बाध्यता छ । कुनै यस्तो मानिस छैन, जो आजको प्रविधिबाट अछुतो होस्, र जीवनलाई सरल रुपले अघि बढाओस् । नयाँ–नयाँ प्रविधि र माध्यमहरु यसरी विकास र विस्तारित भएका छन्, जसले सिंगो विश्वलाई नै एउटा गाउँ (ग्लोबल भिलेज) को रुपमा परिणत गरिसकेको छ । आज विश्वको जुनकुनै स्थानमा हुनुले पहिले जस्तो ठुलो सकस र अन्तर पार्दैन । भिडियोकलमै दुरीको तिर्सना र अन्तर मेटाउने बलियो माध्यम विकास भएको छ । तर, प्रविधिको विकासले जीवन दैनिकीलाई जे जति सरल र सहज बनाएको छ, त्यतिकै जटिल र चुनौतीपूर्ण पनि बनाइरहेको छ ।
पछिल्लो समय प्रविधि, अनलाइनको माध्यमबाट विश्वभर ठगी धन्दा मौलाइरहेको छ । यस्तो अपराध धन्दामा खेलोमेलो गर्ने जमात त छ नै, त्यसबाहेक पनि विद्यार्थीहरुको ठुलो संख्या वित्तीय साइबर अपराधमा संलग्न हुने गरेको देखिएको छ । गत जेठ मसान्तसम्मको तथ्य तथ्यांक हेर्दा डिजिटल वालेटमार्फत हुने ठगी ६३ प्रतिशतले बढेको छ । नेपाल प्रहरीमा सन् २०२२÷२३ मा १२ हजार १ सय ३५ वटा बैंकिङ ठगीका उजुरी नेपाल प्रहरीमा दर्ता भएका थिए । चालू आवको जेठ मसान्तसम्म भने बैंक तथा वित्तीय संस्थाहरुमार्फत मात्रै १ हजार ५ सय ६९ वटा उजुरी राष्ट्र बैंकमा दर्ता भएका हुन्। । यसमा विद्यार्थीहरु नै बढी संलग्न देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको स्ट्राटेजिक एनलाइसिस रिपोर्ट २०२४ ले अलनाइनमार्फत हुने ४९ प्रतिशत शंकास्पद कारोबार तथा बैंकिङ ठगीमा विद्यार्थीहरुको संलग्नता छ । यसमा खासगरी १९ देखि २४ वर्षसम्मका व्यक्तिहरु यस्तो ठगीमा संलग्न रहेको प्रतिवेदनले औँल्याएको छ । त्योबाहेक यस प्रकारका ठगीमा क्रमशः २५ देखि ३० वर्ष उमेर समूहको २१ प्रतिशत, ३१ देखि ३६ वर्ष समूहको १६ प्रतिशत र ३६ वर्षभन्दा माथि उमेर समूहको संलग्नता १४ प्रतिशत छ ।
मुलुकमा पछिल्लो समय वित्तीय अपराध बढ्दो छ । नेपालमा हुने प्रमुख १० अपराध मध्ये सबैभन्दा ठूलो हिस्सा बैंकिङ क्षेत्रमा देखिएको छ । जसमा बैंक खाता, पासवर्डजस्ता व्यक्तिगत विवरण हात पारेर गरिने ठगी, चिठ्ठा, अनलाइन सपिङ, घर बसेरै काम गर्ने सुविधा लगायतका नाममा हुने बैंकिङ ठगीको हिस्सा सबैभन्दा धेरै रहेको प्रतिवेदनमा पनि उल्लेख छ । आखिर किन यस्तो भइरहेको छ त ? यसमा धेरै कारणहरु देखिन्छ । पहिलो त मुलुकमा जीवन दैनिकी सहज छैन, रोजीरोटी चलाउने रोजगार विकल्पहरु कम छन्, अर्को तर्फ मोवाइलमै घण्टौ समय बिताउने तर आफ्नै देशमा मेहेनत गर्ने नागरिक कम छन् । बरु भौतिक बिलासी जिन्दगी चोरेर ठगी गरेर भए पनि अपनाउने भन्नेबाट ठुलो संख्या निर्देशित छ । साइबर अपराधका माध्यमहरु दिनप्रतिदिन बढिरहँदा बैंक तथा वित्तीय क्षेत्र सुरक्षालाई लिएर थप चनाखो हुनु पर्दछ । सरकारले पनि यसमा यथेष्ट वित्तीय साक्षरता, सचेतता र पहलकदमी लिन सकिरहेको छैन । अब सरकारले शहरदेखि गाउँ तह सम्म वित्तीय जोखिम, सुरक्षाका विषयमा सचेतता, साक्षरता सहित तत्काल आवश्यक पहल गर्न जरुरी छ ।