बिपन्नलाई नगरपालिका र वेद विद्याश्रमले खुवाउन थाल्यो खाना

आदर्श अनलाइन,बागलुङ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण बागलुङ बजारमा दैनिक रोजीरोटी गुमाएकाहरुलाई शनिवारदेखि दिवा खाना खुवाउन शुरु गरिएको छ ।

बागलुङ नगरपालिकाले बानपा ४ कुडुँले स्थित शालिग्राम संग्रहालय तथा तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रमको संयोजनमा धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा दिवा खाना खुवाएको हो ।

जिल्ला सदरमुकाममा बसेर फुटकर मजदुरी तथा दैनिक ज्यालादारीमा काम गर्ने, गरिब, बिपन्नका लागि सञ्चाचलन गरिएको मेसबाट पहिलो दिन ६८ जनालाई खुवाइएको नगरपालिकाका ऋषिराज गोतामले जानकारी दिए । उनका अनुसार, यसबाहेक बजारमा सञ्चालित मानव सेवा आश्रमका ४० जना, अन्य इट्टा तथा उद्योगमा कार्यरत मजदुरलाई समेत खाना पठाइएको छ ।

मेस सञ्चालनका लागि नगरपालिकाले खाद्य सामग्रीको जोहो गरिदिएको छ भने मुक्तिनाथ वेद विद्याश्रमले खाना तयार गरेर बितरणको प्रवन्ध मिलाएको छ । तर, यसरी खुवाउदा ठुलो भीड जम्मा हुने भएकाले कोरोना संक्रमणको जोखिम बढि हुने भएकाले खाद्य सामग्री नै बितरण गर्न धेरैले सुझाव दिएका छन् ।

देश लक डाउनका कारण रोजीरोटी गुमेर विहान बेलुका हात मुख जोर्न समस्या भएकाहरुलाई दिवा खाना खुवाइएको नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले बताए । ‘यति बेला सिंगो विश्व संकटमा छ, जसको मार हामीले पनि भोगिरहेका छौ,’ उनले भने,‘यस कठिन संकटमा नगर क्षेत्रमा रहेका कुनै पनि नागरिक भोकै बस्न नपरोस् भनेर यस्तो व्यवस्था गरेका हौ, यो लक डाउन अवधिभर सञ्चालन गरिनेछ ।’

नगरपालिकाले लक डाउनका कारण मजदुरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत उपलव्ध गराउनका लागि वडास्तरबाट लगत संकलनको काम समेत अघि बढाइएको छ । नगरपालिकाले कोरोना रोकथामका लागि १५ लाखको राहत कोष सहित नगर क्षेत्रमा कोरोना रोकथामका लागि किटनाशक औषधी छर्ने कार्य गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *