सम्पादकीय
नेपालमा सरकारी काम अझै पनि कैयन कार्यालय र निकायमा यस्तो छ कि जहाँ सेवाग्राही नागरिक जानै नपरे हुन्थ्यो भन्छन्, उनीहरुलाई आफैले तिरेको करबाट तलब खाइरहेका कर्मचारीसँग पुग्दा सजाय पाउन गए जस्तो लाग्छ । सरकारी उद्योग, कलकारखाना पुग्दा यस्तो लाग्छ कि सरकारी सम्पतिमा कुन हद सम्मको बेवास्ता र लापरबाही हुन्छ, सरकारी अस्पतालहरु पुग्यो, उस्तै अस्तव्यस्त र मनोमानी भएको व्याप्त देखिन्छ । यी र यस्ता बेथितिको निगरानी, नियमन र आवश्यक कारबाही, कदम चाल्ने सरकार र यसका निकाय भने निकम्मा जस्ता देखिन्छन् । फेरिरहने सरकार, मन्त्री, कर्मचारीहरु यसका लागि ठोस योजना र सोचका साथ काम गर्नै चाहदैनन्, चाहनेहरु पनि यस भित्रको बेथितिको जालो तोड्न सक्दैनन्, अर्थात् उनीहरु असफल हुन्छन् ।
अहिले पनि संघीय राजधानी काठमाडांै स्थित सरकारी अस्पतालहरु वीर, कान्ति बाल अस्पताल, गंगालाल अस्पताल लगायतमा अत्यावश्यकीय उपकरणहरु बिग्रिएर थन्किएका छन्, कति जीर्ण बनेका छन् । तर, वर्षौदेखि यसको यथोचित समाधान र व्यवस्थापनमा राज्य र यसका निकायको ध्यान पुग्न सकिरहेको थिएन । अहिले स्वयंम्सेवी रुपमा चलाइएको राष्ट्रिय आविष्कार केन्द्रले वर्षौदेखि कामयावी नभएर थन्काइएका उपकरण धमाधम मर्मत सम्भार गरिदिएको छ । पहिलो चरणमा वीरका २ सय ८४ र कान्तिका १ सय ५८ उपकरण मर्मत हुँदैछ । यसबाट संघीय अस्पतालहरूले करोडौँ खर्च लाग्ने भन्दै वर्षौँदेखि थन्क्याएकामध्ये ५० प्रतिशत उपकरण खर्चविना नै मर्मत गर्न सकिने देखिएको छ । बिग्रिएका स्वास्थ्य उपकरण मर्मतसम्भारको जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रले आधा उपकरणहरू खर्चविनै मर्मत भइरहेको बताएको छ । जसमा ५० प्रतिशतजति उपकरण कुनै खर्च नगरी मर्मत भएका छन् । यसबाहेक करिब ३० प्रतिशत उपकरण स्थानीय बजारमै पाइने सामान्य पार्टपुर्जा फेरेर र बाँकी २० प्रतिशतजति उपकरण मात्र विदेशबाट नै पार्टपुर्जा मगाएर मर्मत गर्नुपर्ने खालका देखिएको छ । स्वास्थ्य मन्त्रालयसँगको सम्झौताअनुसार गत ५ भदौदेखि केन्द्रले संघीय अस्पतालहरूका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत कार्य जारी छ । बिग्रिएका उपकरणका लागि आविष्कार केन्द्रमा २० जना बायोमेडिकल इन्जिनियरले काम गरिरहेका छन् ।
सरकारी अस्पताल र कैयन कार्यालयहरुमा मर्मत अभावका कारण करोडौँ मूल्यबराबरका स्वास्थ्य लगायतका उपकरण जीर्ण र प्रयोगविहीन अवस्थामा छन् । अहिले सरकारी अस्पतालका बिग्रिएका जीर्ण उपकरणका सन्दर्भमा सरकार र राष्ट्रिय आविष्कार केन्द्र बिच औपचारिक सम्झौता समेत गरेर काम अघि बढाइएको छ । आविष्कार केन्द्रका अध्यक्ष अभियन्ता महाविर पुन र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अग्रसरतामा जे जसरी मर्मत सम्भारका कार्य भइरहेको छ, यसले नेपालमै आविष्कार लगायतका क्षेत्रमा क्रमशः विकास र प्रतिभाहरुको सम्भावना यही देशमा छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ । मर्मत गर्न सकिने उपकरणलाई बनाउने, मर्मत गर्न नसकिने र पूर्णतया बिग्रेका मेसिनलाई कवाडीमा लानुपर्ने भनेर छुट्याइदिने र मर्मत गर्न सकिने, तर केन्द्रलाई थप जनशक्ति र स्रोतको आवश्यकता भएमा मन्त्रालयले सहयोग गर्ने सम्झौता सहितको कार्य अहिलेको अपरिहार्य कदम थियो । यसका लागि स्वास्थ्य मन्त्रालय, मन्त्री पौडेल र आविष्कार केन्द्र धन्यवादको पात्र छ । तर, अब सरकारी स्रोत साधन, सम्पतिको संरक्षण, यथोचित उपयोग मार्फत आम नागरिकको अपेक्षा र आवश्यकता सम्बोधन गर्ने गरी सरकार अघि बढ्नुपर्छ ।