योजनामै सीमित खेल पूर्वाधार


खेमराज गौतम, बागलुङ

बागलुङमा ठूला खेल पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत खेल पूर्वाधारमा लगानी गर्न नसकिएको हो । स्थानीय तहले समेत एक पालिका एक खेल मैदानको अवधारणा ल्याएपनि कार्यान्वयनमा चासो दिएका छैनन् ।
खेल पूर्वाधार बिनै खेलका गतिविधि सञ्चालनले खेलाडीलाई निराश बनाएको छ । जिल्लाकै ठूलो खेल मैदानको रुपमा रहेको बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेकै एक दशक बित्न लाग्यो । तर खेल पूर्वाधार तारबारमै सिमित भएको छ ।

नगरपालिका र संघ सरकारले बिनियोजन गरेको रु. ८ करोड बजेट समेत कार्यान्वयन नहुँदा फिर्ता गएको छ । बागलुङ नगरपालिकाले एक पालिका एक खेल मैदानको रुपमा अघि बढाएको बागलुङ नगरपालिका–९ स्थित तित्याङको आलेखर्क खेल मैदान समेत डिपिआरमै सिमिति भएको छ । बागलुङका अन्य स्थानीय तहले अघि सारेका खेल पूर्वाधार समेत अघि बढ्न सकेका छैनन् । तमान रंगशाला र काठेखोला गाउँपालिकाको गौरवको योजनको रुपमा रहेको रेशको खेल मैदानमा समेत खेल पूर्वाधार निर्माणले गति लिन नसकेको हो ।

रंगशाला बनाउन डिपिआर स्थानीय तहको सहयोगमा तयार पारेपनि कार्यान्वयनमा स्थानीय सरकारलेमात्रै नसक्दा डिपिआर बनेपनि खेल मैदनामा पूर्वाधार बनाउन नसकिएको बागलुङ नगरपालिका–९ तित्याङका वडा अध्यक्ष राजु थापाले बताउनुभयो ।
एक स्थानीय तह एक खेल मैदान अन्र्तगत बागलुङ नगरपालिकाको आलेखर्क खेल मैदानमा पूर्वाधार निर्माण गर्न नसकिएको हो । बागलुङमा वर्षोदेखि बजेट अभावमा खेल पूर्वाधार बन्न नसकेको खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार बाङ्गेचौर खेल मैदानमा पूर्वपट्टीतर्फ पूर्वाधार निर्माण थालेपनि सल्लाका बोट हटाउन नसक्दा रु. ८ करोड बजेट गत वर्ष फ्रिज भएको हो ।

“खेल क्षेत्रमा राज्यले लगानी बढाउन सकेन, कम्तिमा बाङ्गेचौरलाई रङ्गाशाला बनाउन सके साविक धौलागिरिमा खेलकूद गतिविधि बढ्ने थिए” खड्काले भन्नुभयो “स्थानीय तहले खेल पूर्वाधारमा लगानी गर्न सक्दैनन्, बाङ्गेचौर खेलमैदानलाई रंगशाला बनाउन रु. ३० करोड लाग्ने डिपिआर बनाइएको थियो, अहिले उक्त लागत बढेर ५० करोड पुग्छ, स्थानीय सरकारको बजेट भन्दा बाहिर छ योजना, अहिले विद्यालयबाट सहयोग उठाएर खेलमैदानमा दुबो लगाइएको छ ।”


संघीयता पछिनै दुई पटक स्थानीय सरकारका जनप्रतिनिधि आए तर बागलुङको बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना पुरा नभएको खेलप्रेमीहरु बताउछन् । तत्कालिन समयमा पूर्वाधार निर्माण गरिएको योजनामा बजेट नआएपनि स्थानीय र संघको साझेदारीमा बहुवर्षे योजनामा रु. ८ करोड बजेट सुनिश्चितता भएपनि १५० रुख काट्न नसक्दा उक्त समेत बजेट फ्रिज भइसकेको हो ।
बागलुङ नगरपालिका–९ तित्याङमा पालिका स्तरीय आधारभूत रङ्गशाला निर्माणको योजना अनुसार डिपिआर बनाएपनि बजेट आउन नसकेको वडा अध्यक्ष राजु थापाले बताउनुभयो । बागलुङ बजारबाट नजिकै रहेको तित्याङ स्थित आलेखर्क खेल मैदानलाई विस्तार गरी बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा रंगशाला बनाउने योजना स्थानीय र पालिकाको पहलमा अगाढी बढाइएको भएपनि बजेट आउन नसक्दा डिपिआर थन्किएको थापाको भनाई छ । डिपिआर बोकेर प्रदेश र संघीय मन्त्रालय धाएपनि बजेट नआएको हो ।

झण्डै २० रोपनी जग्गामा फैलिएको आलेखर्क खेल मैदानलाई बहुउदेश्यीय रङ्गशाला निर्माण गर्नका लागि थप जग्गा विस्तार गर्न सकिने भएकाले जिल्लाकै ठूलो रंगशाला समेत बनाउन सक्ने विकल्पहरु देखिएको भएपनि बजेट आउन नसकेको हो ।

रु.१० लाखको लागतमा डिपिआर बनाएको बताउदै थापाले रु. ५ करोड ८८ लाखमा आधारभूत रङ्गशाला बन्ने उद्देश्य राखिएको छ । जिल्लाको दुर्गम पालिकाको रुपमा रहेको तमानखोला गाउँपालिकाले तमानगाउँमा निर्माण गर्ने भनिएको रङ्गाशाला समेत अधुरै छ । मैैदान सम्माएर ठूलो बनाउने बाहेक अन्य पूर्वाधार थप्न गाउँपालिकाले सकेको छैन । गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. १० लाख बजेट बिनियोजन गरेपनि संघ र प्रदेशबाट बजेट नआउदा पूर्वाधार बनाउन समस्या भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

“पालिकाको लगानीमा रंगशाला बनाउन असंभव रहेछ, अहिले पनि १० लाग बजेट पालिकाको छ, १० लाखले पूर्वाधार थपिने भएपनि रंगशाला बनाउन वषौं लाग्ने देखियो” बुढाले भन्नुभयो “पालिकाले योजना बनाएपनि रंगशाला बनाउन स्थानीय तहले नसक्ने रहेछ, कम्तिमा १० करोड बजेट चाहिन्छ रंगशाला बनाउन पालिकाको १० लाख बजेटले के हुन्छ र ?” खेल पूर्वाधारमा ठूलो लगानी आवश्यक रहेको बताउदै बुढाले स्थानीय सरकारले रंगशालाको सपना देख्नु बाकेह अन्य विकल्प नरहेका गुनासो गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *