आदर्श अनलाइन, बागलुङ
१० औं राष्ट्रिय उद्योग दिवसको अवसरमा बागलुङका ७ जना उत्कृष्ट उद्यमीलाई सम्मान गरिएको छ । कृषि, घरेलु उत्पादन तथा फरक उत्पादन गरिरहेका उद्यमीलाई उद्योग दिवसको अवसरमा प्रोत्साहन गरिएको हो ।
पर्यटन तथा उद्योग कार्यालय बागलुङले विभिन्न विद्याका सात उद्यमीलाई सम्मान गरेको कार्यालय प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । सिलाई कटाई, मौरीपालन, घरबास, कोशेली घर, कालिज उत्पादन, दुनाटपरी उत्पादन, फूल खेती लगायतको क्षत्रमा फरक पहिचान बनाउन सफल उद्यमीलाई सम्मान गरिएको थापाले बताउनुभयो ।
लामो समयदेखि सिलाई क्षेत्रमा सक्रिय मंगोलियन लेडिज टेलर्सकी प्रोपाइटर प्रेमकुमारी श्रीष, उद्यमशिल दुना टपरी उद्योगका अध्यक्ष बलकुमारी पुन, अतिथि सत्कार होमस्टेका संचालक उमेश सर्बुजालाई सम्मान गरिएको हो ।
त्यस्तै लामो समयदेखि मौरीपालन व्यवसाय गरेर ख्याती कमाएका जैमिनी नगरपालिका ७ का मोहराज शर्मा, ढोरपाटन नगरपालिकामा सानो स्वर्ग काजिज फर्म संचालन गरेका चुडामणी कंडेल, बागलुङ कोसेली घर संचालक उद्योग बाणिज्य संघ र ऋषिका नर्सरीका संचालक भुवन बोहोरालाई सम्मानित गरिएको हो । उद्यमीलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।
उद्योगीहरुलाई प्रोत्साहन गर्दै व्यवसायिक तामिल दिदै आएको पर्यटन तथा उद्योग कार्यालयले गत वर्ष समेत राष्ट्रिय उद्योग दिवसको अवसरमा छ उत्कृष्ट उद्यमीलाई सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै खड्काले पैसाले मात्रै उद्यम नचल्ने भन्दै नीति, योजना सहि हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल र सम्मानित प्रेमकुमारी श्रीषले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पारसिंह थापामगरको अध्यक्षता, शाखा अधिकृत बिष्णुनाथ शर्माको स्वागत र बद्रीनाथ गौतमको संचालनमा सम्पन्न भएको थियो ।