चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

डम्मर बुढा मगर, बागलुङ
चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानी स्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङ स्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न हुन थालेपछि पठनपाठनै प्रभावित हुने गरेको छ ।

उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा विहानमा तुसारो पर्ने र दिउसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताउनुभयो । विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिदा पढाई प्रभावित बन्न थालेको उहाँको भनाइ छ । यो सिजनमा ढोरपाटनमा निकै चिसो हिउँदमा विद्यालय बन्द हुने गर्छ ।

पौष महिना भरि पठनपाठन गर्ने योजना बनाए पनि चिसोका कारण छिट्टै विद्यालय बन्द गर्ने स्थिती देखिएको अदै बताउनुहुन्छ । कक्षा ९ र १० को विहानमा ट्युशन कक्षा संचालन भएको भन्दै विद्यार्थीहरु कठ्याङ्ग्रिएर पढ्न नसक्ने उहाँको भनाइ छ । विद्यालयमा हिटरको व्यवस्थापन नहुँदा बालबालिकालाई चिसोबाट जोगाउन समस्या भएको प्रधानाध्यापक अदैले बताउनुभयो ।

“अहिले चिसो ह्वात्तै बढेको छ, विहानमा तुसारोले ग्राउण्ड पुरिएको हुन्छ, विहान १० बजे घाम लाग्ने हुँदा समयमै पठनपाठन सुरु गर्छौँ, साँझ ४ बजेटसम्म धेरै चिसो हुने हुँदा विद्यार्थीलाई दिउसो १५ मिनेटमात्र खाजा खाने समय दिएर पढाउँछौँ, ३ः३० बजेनै छुट्टी गर्छौँ,” उहाँले भन्नुभयो – “चिसो ठाउँमा सिमेन्टका भवन उपयुक्त देखिएन, हिटर वा अन्य कुनै न्यायो हुने सामग्री राज्यले सहयोग गथ्र्यो भने बालबालिकालाई चिसोबाट जोगाउन सकिन्थ्यो ।”

ढोरपाटनमा अधिकांश न्यून वर्गका बालबालिकाले मात्रै पढ्ने गर्छन् । हुने खानेले आफ्ना छोराछोरी पोखरा, काठमाडौँ लगायतका ठाउँमा पढाउने गरेका छन् । चिसोका कारण हात खुट्टा कठ्याङग्रिदा पढाईप्रति ध्यानै नजाने कक्षा १० मा अध्ययनरत छात्रा तारा विकले बताउनुभयो । उहाँले विहानैबाट ट्युशन पढ्नु पर्ने भन्दै शरीर काप्दै विद्यालय आउने गरेको गुनासो पोख्नु भयो ।

विकले भन्नुभयो – “चिसो धेरै बढेको छ, यस वर्ष एसईई दिनु पर्ने छ, ट्युशन पढिएन भने पास हुन सकिदैन, विहान बेलुका स्कूलमा गएर पढ्न निकै गाह्रो बनाएको छ चिसोले, कक्षा कोठा न्यानो हुन्यो भने चिसो लाग्ने थिएन, धेरै साथीहरु बिरामी पर्छन, मलाई पनि केही दिनदेखि रुघा खोकीले सताएको छ ।”

ढोरपाटन उपत्यका क्षेत्रमा ज्योति विकास माध्यमिक विद्यालय, सिद्धबराह प्राथमिक विद्यालय,सहलथान प्राथमिक विद्यालय, बाल ज्योति प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र ढोरबहारा प्राथमिक विद्यालय संचचालनमा छन् । यि विद्यालय चिसोका कारण हरेक वर्ष पौष दोस्रो सातादेखि बन्द हुने गर्छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *