आदर्श अनलाइन, बागलुङ
‘हामी सबैको प्रतिवद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ बागलुङमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ ।
नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म सञ्चालन हुने अभियानको सोमबार प्रभातफेरी पछि आयोजनामा गरिएको कोणसभामा बोल्दै पूर्व राज्यमन्त्री तथा गण्डकी प्रदेशसभा सदस्य चम्फादेवी खड्काले लैङ्गिक हिंसालाई शुन्यमा पुर्याउनका लागि प्रत्येक व्यक्तिले हिंसा नगर्ने र नसहने प्रतिवद्धता गर्नुपर्ने बताउनु भएको थियो ।
बागलुङ नगरपालिका सहित जिल्लाका विभिन्न सरोकारवाला संघ संस्थाको आयोजनामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सांसद मन कुमारी केसी, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका प्रमुख सचेतक तथा गण्डकी प्रदेशसभा सदस्य कुशुम बुढा र बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी प्रयासले अधिकार प्राप्ती र हिंसा न्यूनिकरणका लागि संविधानमा विभिन्न व्यवस्था गरिए पनि कार्यान्वयनमा आउन नसकेको प्रति चिन्ता व्यक्त गर्नु भएको थियो ।
पुरुषको तुलनामा महिलाहरु बढी हिंसाको सिकार हुने गरेको भन्दै उहाँहरुले कानुनको कार्यान्वयनमा मात्र नभएर घर घरमा हुने हिंसा न्यूनिकरण गर्दै शुन्यमा झार्नका लागि हरेक व्यक्ति प्रतिवद्ध हुनुपर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा राजनीतिक दलका महिला संगठन, ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय, पतञ्जलि योग समती बागलुङ, विभिन्न आमा समूह, सामुदायिक प्रहरी सेवा र स्थानीयको पनि सहभागिता थियो ।
अभियानको १६ दिन कुनै न कुनै काम गर्ने लक्ष्य राखिएको छ । बानपाका १४ वटै वडामा मंगलबारदेखि पालैपालो सचेतना अभियान, सरोकारवालासँग अन्तरक्रिया गरिने बागलुङ नगरपालिकाका रचना आचार्यले जानकारी दिनुभयो । मंसिर २५ गते जिल्ला स्तरमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर मुल समारोहमा पुरस्कार बितरण गरिने कार्यक्रम तय भएको बताइएको छ ।
बागलुङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख राजु खड्काको अध्यक्षतामा भएको कार्यक्रम अन्तरपार्टी महिला सञ्जाल बागलुङका संयोजक सीता सापकोटाको स्वागत तथा बागलुङ नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख रचना आचार्यले जानकारी दिनुभयो ।